विराटनगर । सोमबार बिहानै विराटनगर १२ पञ्चमुखी चोकका विष्णु खनाल प्रधानमन्त्री केपी शर्मा ओलीसँग झोक्किँदै थिए । सामाजिक सञ्जाल तथा संचार माध्यमका कारण अहिले देश विदेशका खबर एकै छिनमा सबैले थाहा पाइहाल्छन् । मोबाइलमै खबरहरू आउने भएपछि सहज हुने भइहाल्यो । खनाल रिसाएको कारण चाहिँ आइतबार रातभरि बत्ती नआएपछि उनी प्रधानमन्त्री ओलीसँग झोँकिएका थिए ।
आइतबार राति करिब १० बजेतिर विराटनगर १२ को पञ्चमुखी चोक आसपासमा गएको बिजुली बत्ती रातैभरि आएन । रातभर बत्ती नआएपछि धेरैलाई रात बिताउन समस्या परेको थियो । साउनको प्रचण्ड गर्मीमा अधिकांशले घरबाहिर र घरको छतमा बसेर बिताएका थिए । खनालको घरअगाडि एउटा किराना पसल छ । त्यही किराना पसलमा भेला भएकाहरूले रातभरि बत्ती नआएको भन्दै चासो देखाएका थिए । घरको बरण्डामा बसेका खनालतर्फ हेर्दै एक छिमेकीले तपाईँकोमा बत्ती छ भनेर सोधे । खनालले बत्ती नभएको मात्रै जबाफ दिएनन् बरु कुलमानलाई कारबाही गर्छु भनेर अहिलेका प्रधानमन्त्रीले भन्न थालेकाले बत्ति अनियमित भएको हुनसक्ने जबाफ दिए । उनले थपे ‘कुलमानलाई नै काम गर्न अफ्ठ्यारो हुनेगरी प्रधानमन्त्रीले बोल्न थालेपछि जाँगर लगाएर कसरी काम गर्छन् ।’ स्थानीयले पनि उनको कुरामा सहमति जनाए ।
प्रधानमन्त्री ओलीले नेपाल विद्युत प्राधिकरण र व्यवसायी बिचमा विद्युत महसुल विवादको विषय प्रतिनिधि सभामा बोलेको कुरालाई लिएर अहिले उनीमाथि आरोप प्रत्यारोप हुने गरेको छ । गत साउन ६ गते प्रतिनिधिसभाको बैठकमा ओलीले उद्योगीले प्रयोग गरेको विद्युतको भुक्तानी गर्नुपर्ने बताएका थिए । ओलीले उद्यमीहरुको पक्षमा दिएको अभिव्यक्तिलाई लिएर अफवाह फैलाइएको पनि सदनमै भनेका थिए । तर अफवाह भन्दा पनि जनस्तरमै कुलमानलाई काम गर्न अबरोध गर्दा समस्या थपिएको बुझाइ देखियो ।
नेपाल विधुत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङप्रति ओली आक्रामक भएको भनेर सामाजिक संजालमा भएको प्रचारको असर स्थानीयमा देखिन्छ ।यता विराटनगरमा अघोषितरुमा लोडसेडिङ हुने गरेको उद्योगी व्यापारीहरू बताउँछन् । नेपाल विधुत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख सरोजकुमार यादवले पञ्चमुखी चोकका एउटा फेजमा बत्ती बढिभएर एमसिभी बल्क भएका कारण करेन्ट सपलाई नभएको बताए । उनले सोमबार टोली पठाएर समस्या समाधान गरेको बताएका छन् ।
बर्खाको समयमै बत्तीको यो अवस्था देख्दा हिउँदमा के गर्ने भनेर छक्क पर्न थालेको उद्योग वाणिज्यसंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताए । ‘सेड्युलमा लोडसेडिङ भनेर छैन,’ उनले भने ‘बत्ती झ्याप्प झ्याप्प आउने जाने भइरहेको छ ।’ बर्खामा प्रसस्त बिजुली पाउनु पर्ने बेलामा पनि नपाएपछि हिउँदमा उद्योगमा कस्तो अवस्था आउला भन्ने डर लाग्न थालेको छ । ‘बर्खामा त विद्युतको यो हालत छ । हिउँदमा के हालत होला । उद्योगहरू कसरी चल्लान् भनेर उद्योगीहरू डराउन थालिसकेका छन्’ उनले भने । लोडसेडिङ भने नरहेको विराटनगर वितरण केन्द्रका प्रमुख सरोजकुमार यादवको भनाइ छ । कहिले काहीं केवल तथा तारहरू झर्छन्,’ उनले भने ‘बनाउँदा पूरै लाइन काट्नु पर्ने अवस्था आउँछ, यो प्राविधिक विषय पनि भएकोले त्यसरी नै बुझिदिनुपर्छ ।’



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।