बर्खासँगै बढे पानीजन्य संत्रक्रमणका बिरामी, स्वास्थ्यको कमजोर पूर्व तयारी

विराटनगर । केही दिनयतादेखि लगातार जारी रहेको वर्षाका कारण पानीजन्य संक्रमण बढ्दै गएको छ । पानीबाट सर्ने रोगका बिरामीहरु अस्पताल पुग्ने क्रम पनि बढेको छ । बर्खाको समयसँगै धेरै ठाउँहरुमा डुबान, बाढी तथा पहिरोले गर्दा पानीको स्रोतहरु दुषित हुन्छन् । जसले गर्दा दुषित पानीका कारण हैजा, झाडापखाल, टाइफाइड, हेपाटाइटिस ‘ए’, हेपाटाइटिस ‘ई’ लगायतका सरुवा रोगको संक्रमण कोशी प्रदेशका अस्पतालहरुमा देखिन थालेको चिकित्सकहरुले बताएका छन् ।

वर्षाको समयमा झाडापखाला, हैजा, टाइफाइड, जन्डिस, आउँजस्ता पानीजन्य संक्रमण रोगहरुबाट संक्रमित भएर विरामीहरू अस्पतालमा जान थालेका छन् । पानीजन्य रोग देखापरेपछि विराटनगरको सरकारी अस्पताल कोशी र निजी अस्पतालहरू मोरङ सहकारी, नोबेल र विराट टिचिङ अस्पतालहरुमा उपचारका लागि आउने बिरामीको चाप पनि देखिन थालेको छ । अहिले कोशी अस्पतालमा झाडा पखाला, हैजा, टाइफाइडलगायतका विभिन्न रोगका बिरामी आउन थालेको अस्पतालका वरिष्ठ फिजिसियन डा. रोशन खड्काले बताए । ‘वर्षायाम सुरू भएपछि दूषित पानीको सेवनका कारण झाडापखाला, हैजा टाइफाइटका बिरामीको संख्या बढेका छन् । अस्पताल आएका झण्डै २० प्रतिशत विरामीमा पानीजन्य रोग हुने गरेको पाइन्छ ।’

कोशी अस्पतालको ओपिडीमा सेवा लिन दैनिक ८ सय देखि १ हजार बिरामी पुग्ने गरेका छन् । जसमध्ये सय जनाभन्दा बढीमा पानीजन्य रोगको संक्रमण पाइने गरेको कोशी अस्पतालले जानकारी दिएको छ ।पानीबाट संक्रमण हुने रोगहरु देखा पर्ने र यसको रोकथाम र नियन्त्रण गर्न प्रदेश र स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भए पनि त्यसमा खासै भूमिका खेलेको भने देखिदैन ।

प्रभावकारी देखिएको छैन । कोशीमा वर्षायाम सुरु भएपछि हुने पानीजन्य संक्रमणको रोकथाम र नियन्त्रणमा सरकारको भूमिका कमजोर देखिएको प्रदेश सभा सदस्य भीम पराजुलीले बताए । ‘प्रदेश सरकार पानीजन्य संक्रमण रोकथाम र नियन्त्रणमा राम्रोसँग गर्न सकेको छैन । हामीले सदनमा पनि यस विषयमा आवज उठाएका छौं,’ उनले भने, ‘विपद व्यवस्थापनको पूर्व तयारी सरकारले गर्नुपर्ने थियो । त्यो अहिलेसम्म गरेको छैन ।’ लगातारको वर्षापछि यतिबेला पहाडी जिल्लामा पहिरा र तराईंमा बाढी, डुबानको चपेटा परेको छ । त्यही प्राकृतिक विपदमा परेर धेरै सर्वसाधारणले ज्यान गुमाइरहेका छन् । वर्षेनी आइपर्ने यस्ता प्राकृतिक प्रकोपबाट बच्न बेलैमा ध्यान नदिँदा सर्वसाधारणले वर्षेनी ज्यान गुमाउने र क्षति भोग्ने क्रम बढिरहेको सांसद पराजुलीले बताए । बर्खाको समयमा खाने कुरा राम्रोसँग पकाएर खाने र उमालेको पानीलाई सफा भाँडामा छोपेर राखी आवश्यकताअनुसार पिउनाले स्वस्थ रहन सकिने वरिष्ठ फिजिसियन डा. रोशन खड्काको सुझाव छ ।

मनसुन सक्रिय हुने बित्तिकै पानीजन्य रोग नदेखिएपनि जोखिम भने बढेको उनले बताए । ‘बाढी भर्खरै आएको छ । बाढी आउने बित्तिकै पानीजन्य रोग देखा पर्दैन तर जोखिम बढेको छ,’ उनले भने, ‘अब ठाउँ—ठाउँमा पानी जम्ने, ढलहरू फुट्ने र खानेपानी दूषित हुने हुन्छ । त्यसो भएपछि झाडापखालाको समस्या बढी देखिन्छ । हैजा पनि फैलिने खतरा हुन्छ ।’ सबै क्षेत्रमा पानी भरिएपछि सर्प, बिच्छी, किर्ना, लामखुट्टे पनि बढ्ने उनले बताए । ‘पानी सबैतिर भरिएर सर्प बाहिर निस्कन्छन्, जोखिम बढ्छ,’ उनले भने, ‘मलेरिया, डेंगी बढी देखिन सक्छ । त्यो सँगसँगै जन्डिस पनि देखिन सक्छ ।’ दूषित पानीका कारणले वर्षाका बेलामा झाडापखाला, हैजा, टाइफाइडलगायत स्वास्थ्य समस्या देखिन सक्ने डा. खड्काले बताए ।

‘विशेष गरेर बाढी आउँदा पानीजन्य रोगको समस्या देखिन्छ । मनसुनमा पनि नदेखिने होइन तर बाढीमा जोखिम बढ्छ । झाडा पखाला गराउने, ज्वरो ल्याउने खालेका सङ्क्रामक रोग कुनै पनि बेला फैलिन सक्छ,’ उनले भने, ‘किनभने हाम्रो पिउने पानीमा ढलको पानीमा मिसिएर आउँछ । यसले हैजा, टाइफाइड, भाइरल हेपाटाइसिस ए र ई हुन्छ । अर्को लेप्टोस्पाइरोसिसको पनि आउट ब्रेक हुनसक्छ ।’
के छ वर्षाको समयमा स्वास्थ्यको पूर्व तयारी ?

स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका प्रवक्ता डा. सुरेश मेहताले पानीजन्य रोगको रोकथाम र उपचारमा प्रदेश मातहतको जिल्ला अस्पतालहरुबाट हुँदै आएको बताए । यो पटक पानी वर्षा लाग्नुअघि नै अस्पतालका कर्मचारीलाई पूर्वतयारी, रोकथाम र उपचारका कामहरू गर्न मन्त्रालयले निदर्नेशन दिएको बताए ।

आधारभूत स्वास्थ्य सेवा स्थानीय तहबाट हुने गरेको उनले बताए । स्थानीय तह र प्रदेश सरकार मिलेर पानीजन्य रोगगको रोकथाम र नियन्त्रणमा लागि परेको उनले बताए । मन्त्रालयले चेतना मूलककार्यक्रमहरू गर्दै आएको उनको भनाइ छ । त्यस्तै, ग्रामीण भेगहरूमा पानीजन्य सरुवा रोगको प्रकोप अझ बढी हुने भएकाले ती क्षेत्रहरूमा पानीको परीक्षण गर्ने गरिएको छ । मानिसहरू आफै सचेत भएर सरसफाइ तथा खानपानमा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ ।

बुधबार, ०२ साउन, २०८१, बिहानको ०७:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर