सयौं गर्भवती जोगाइरहेका डाक्टर बालकृष्ण

जसले ७ हजारबढी महिलाको शल्यक्रियामार्फत बच्चा निकाले

विराटनगर । उच्च रक्तचापले शरीर सुन्निएको, मृगौला तथा कलेजोमा पनि असर गरि सकेको, कुपोषण र रक्तअल्पता भएको । गर्भको अवधि ३२ हप्ता मात्रै पुगेको अनि गर्भमा पानीको मात्रा पनि निकै कम रहेको । गरिव असाहय अवस्थाकी एक बिरामीलाई भोजपुरबाट उपचारका लागि विराटनगर–२ स्थित मोरङ सहकारी अस्पताल ल्याइयो ।
गर्भको बच्चा ३२ हप्ता (७ महिना) मात्रै पूरा गरेको र आमाको जटिलता कम गर्न बच्चा निकाल्नु पर्ने भएकाले नै आमा कि बच्चा रोज्नुपर्ने अवस्था थियो । यस जटिल अवस्थामा उपचार गर्दा गर्दै पनि आमा र बच्चा दुवैको ज्यानमा खतरा रहेको थियो । यस्तो जटिल विमारी उपचार गर्दा भवितव्य केही भएमा हातपात र अस्पताल तोडफोड हुने खतरा हुने भएकाले उपचार गर्नु भन्दा मिलाएर रिफर गर्नु नै बुद्धिमानी ठहरिन्थ्यो । त्यही भएर उनलाई भोजपुरबाट धरान विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हुँदै कोशी अस्पताल ल्याइयो । तर, कोशी अस्पतालले घर फर्किन सुझाव दियो । तर, उनलाई भोजपुर फर्काएको भए आमा र बच्चा दुवैको ज्यान जानसक्थ्यो । ‘जे होस्, एउटा गर्भवती र उनको बच्चा जोगिएको छ । फर्केर भोजपुर पुगेको भए, बाँच्ने सम्भावना थिएन भन्दा फरक नपर्ला । उच्चरक्तचाप नियन्त्रणमा ल्याउन नसकेर जटिलता बढ्दै गएकाले, उनको शल्यक्रिया गरेको छु । ३ पिन्ट रगत दिईएको छ र अब अवस्था समान्य बन्दै गएको छ,’ उनको उपचारमा संलग्न डाक्टर बालकृष्ण साहले फेसबुकमा लेखेका छन् ।

मोरङ विराटनगर–७ की सलिना (नाम परिवर्तन)को तीन पटक शल्यक्रिया मार्फत बच्चालाई जन्म दिइन् । उनको पहिलो सन्तान हुने बेलामा अवस्था जटिल थियो । कोशी अस्पतालमा उपचार हुन नसकेपछि उनलाई मोरङ सहकारी अस्पतालका डाक्टर बालकृष्ण साहकोमा रिफर गरियो । एक त कम उमेर त्यसमाथि शल्यक्रिया गर्नका लागि असाध्यै ढिला भइसकेको अवस्था, उच्च रक्तचापलगायतका समस्याले सलिना ग्रसित थिइन् । डाक्टर साहले उनको शल्यक्रियामार्फत बच्चा निकालिदिए । आमा र पहिलो सन्तान छोरी सकुसल रहे । दोस्रो सन्तान पनि उनले डाक्टर साहले नै शल्यक्रियामार्फत बच्चा (छोरा) निकालिदिए । तीन दिन अगाडि सलिनाको तेस्रो सन्तानको रुपमा फेरि शल्यक्रिया मार्फत उनै डाक्टर शाहले बच्चा निकालिदिए । ५ वर्षको अन्तरमा तीन सन्तान पाएकी सलिना डाक्टर साहसँगै किन पुगिन् भन्ने प्रश्नमा उनले भनिन्, ‘पहिलो पटकको बच्चा जन्मिँदा मेरो केस एकदमै क्रिटिकल थियो । त्यस्तो बेलामा पनि मलाई र मेरो बच्चालाई उहाँले सकुशल उपचार गर्नुभयो । त्यही भरोसा भएर यहाँ आएकी हुँ ।’

प्रसूति तथा स्त्रीरोग विशेषज्ञका लागि सिजरियन सेक्सन (अपरेसन गरेर डेलिभर) नयाँ काम होईन । तर, क्रिटिकल अवस्थाका सयौं गर्भवतीहरुको सफल उपचार गर्न सक्नु विशेष क्षमता हो, विशेषज्ञता हो, दक्षता हो । डाक्टर बालकृष्ण साहले धेरै अप्ठ्यारो परिस्थितिमा पनि आफूलाई प्रमाणित गरेका छन् । कुनै बेला उनले सुनसरीको इनरुवा अस्पतालमा स्त्री तथा प्रसूती विशेषज्ञ सेवा दिँदा त्यहाँ आइसियु थिएन । ब्लड बैंक थिएन । एनआइसियु थिएन । एजेस्थेलोजिष्ट थिएनन् । तर, त्यस्तो क्रिटिकल अवस्थामा पनि ६३ वटा शल्यक्रिया गरिएको थियो । तेह्रथुमको म्याङ्लुङ अस्पतालमा होस् या कोरोना कालमा भोजपुर सदरमुकाम पुगेर गरेका उपचारहरु हुन् । उनले क्रिटिकल अवस्थाका गर्भवती र बच्चालाई बचाएका छन् ।

जागिरको सुरुवात

नेपाल सरकारको छात्रवृत्तीमा वीर अस्पतालको नेशनल एकेडेमी अफ मेडिकल साइन्स (न्याम्स)मा अध्ययन गरेर उनी स्त्री तथा प्रसूती रोग विशेषज्ञ बनेका हुन् । परीक्षा दिएर रिजल्ट नआउँदै उनलाई कोशी अस्पतालबाट कामको अफर आएको थियो ।

२०७१ सालमा कोशी अस्पतालमा स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टरहरु दुई जनाको अवकाश भएको थियो र चार जनाले राजीनामा दिएका थिए । व्यवस्थापनसँग कुरा नमिलेपछि उनीहरुले राजीनामा दिएका थिए । ६ जना स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरले एकैपटक अस्पताल छोडेपछि त्यहाँ सेवा अवरुद्ध भयो । नर्मर डेलिभरी बाहेक त्यसबेला अन्य उपचार हुँदैन थियो ।

त्यसबेलामा डाक्टरको माग गर्न कोशी अस्पतालका मेडिकल सुपरिडेण्डेन्ट डा.उमाकान्त झा स्वास्थ्य मन्त्रालय गएका थिए । साहले परीक्षा सकेर डुलिरहेको देखेपछि झाले उनलाई सिधै विराटनगर कोशी अस्पताल आउन आग्रह गरे । ‘भर्खरै परीक्षा दिएको मान्छे । रिजल्ट आएको छैन । पोष्टिङ कहाँ हुने । दरबन्दी छ छैन भन्दा त्यो म मिलाउँछु भन्नुभयो,’ त्यसबेलाको कुरा सम्झँदै साहले सुनाए ।

डाक्टर झाले पटकपटक ताकेता गरेपछि उनले रिजल्टसम्म कुरेर कोशी अस्पतालमा २०७१ सालदेखि सेवा सुरु गरे । ‘त्यसबेला ८ महिना कोशीमा काम गर्दा मैले ५ सय बढी शल्यक्रिया सफलतापूर्वक गरें,’ उनले सुनाए ।

कोशी अस्पताल बाहेक श्री हस्पिटलमा पनि उनले काम गरे । यस्तै पहाडी जिल्ला तेह्रथुम र सुनसरीको सदरमुकाम इनरुवामा पनि थुप्रै महिलाहरुको शल्यक्रिया गरे । यस्तै अहिले पनि मोरङ सहकारी अस्पतालमा पनि काम गरिरहेका छन् । हालसम्म उनले अनुमानित ७ हजार जति शल्यक्रिया गरेका छन् । उनकै नाम जोडिएर अहिले बिरामीको मृत्यु भयो वा समस्यामा परेको भन्ने कुरा आएको छैन ।
विरामीका कथा लेख्ने सोख

पब्लिक हेल्थमा मास्टर्स गरिसकेका डाक्टर साह विभिन्न संचारमाध्याममा लेख्छन् पनि । उनले केही समय अगाडि ‘गर्भको गर्व’ पुस्तक पनि प्रकाशित गरेका छन् । आफ्नो कामसँगै उनले लेख्ने कर्मलाई कसरी नियमित गर्छन् । यस विषयमा जानकारी दिँदै उनी भन्छन्, ‘नेपालमा लेख्ने भन्ने कुरा चाहिँ सोख हो । डाक्टर भन्ने वित्तिकै औषधि लेख्ने मात्रै डाक्टर हो भन्ने बुझाइ छ । तर, डाक्टर भनेको फार्मासिस्ट मात्रै होइन । डाक्टर भनेको ओभरल व्यवस्थापक हो । त्यसै कारणले डाक्टर पढ्दा औषधि विज्ञान मात्रै पढाउँदैनन् । त्यहाँ पब्लिक हेल्थ पनि पढ्नुपर्छ । राष्ट्रले पनि त्यसरी नै लिएको छ । हामीले पनि बिरामीको उपचार गर्नुमात्रै दायित्व होइन बिरामी हुन नदिनु पनि हाम्रो दायित्व हो । त्यही कारण हामी काउन्सिलिङको काम पनि गर्छौं । त्यसैले म लेख्ने गर्छु ।’

हरेक बिरामीका छुट्टा छुट्टै कथा दिनहुँ सुनिरहने गरेको उनको अनुभव छ । ‘डाक्टरको पनि भावना हुन्छ । त्यसकारण भावना पोख्नका लागि पनि लेख्नु गर्छु । डाक्टरले त दिनका दिन कथा सुन्छौं । हरेक बिरामीसँग एउटा कथा छ । हरेक बिरामीले आफ्नो पीडा भन्छन् । उसले भोगेको समस्या पनि एउटा कथा हो । त्यसकारण मैले यस्तै कुराहरुलाई सार्वजनिक गर्न वा त्यस्ता समस्याहरुको समाधानका लागि पहल गर्न पनि लेख्ने गरिरहेको छु । त्यही कारण गर्भको गर्व पुस्तक पनि प्रकाशित भयो,’ उनले भने ।
डाक्टरहरूले पनि धेरै कथा लेख्न सक्ने उनी बताउँछन् । ‘मेडिकल प्रोफेसनमा भएका डाक्टरहरु मुटु भएकाहरु नै हुन्छन् । त्यसकारण डाक्टरले बिरामीको बेदना, छट्पटाहट र भावना बुझ्छन्,’ साह भन्छन् । डाक्टरहरू आफैंले विरामीको शल्यक्रिया गर्दा मानिसको शरिरका विभिन्न अङ्ग काटिन्छ । पेट चिरिन्छ, छाति चिरिन्छ । शरीरका जुनसुकै अंगमा छुरी चलाइन्छ । त्यसबेला डाक्टरको हात काँप्दैन, डाक्टरको मुटुले दुख्छ भन्ने भावना बुझ्दैन भन्ने प्रश्नमा उनी भन्छन्, ‘हामी त्यसबेला बिरामीको रोग कसरी निको हुन्छ भन्ने विषयमा मात्रै ध्यान दिइरहेका हुन्छौं ।’

मृत्युको मुखमा पुगेका विरामी देख्दा निरिह लाग्छ

कतिपय विरामीहरुले डाक्टरको समस्या नबुझेको उनी सुनाउँछन् । ‘कसै कसैको सोचाइ चाहिँ ओपिडी चार्ज दिएपछि डाक्टर नै किनेको जस्तो गर्छन् । तर, डाक्टरको समस्या विरामीले बुझ्दैनन्,’ उनी सुनाउँछन् । डाक्टर साहलाई आफ्नै आँखा अगाडिका विरामीहरु मर्दैछ भन्ने थाहा पाउँदा आफू निरिह भएजस्तो लाग्छ । ‘कतिपय विरामीलाई हामीले बचाउन सक्ने अवस्था नहुँदा हाम्रै आँखा अगाडि मर्दैछ भन्ने थाहा पाउँदा हामीलाई धेरै पीडा हुन्छ । हामी निरिह भएका हुन्छौं त्यसबेला,’ उनले भने ।
विरामीले डाक्टरबाट सफल उपचार चाहन्छन् । डाक्टरहरुले विरामीबाट चाहिँ के चाहन्छन् ? डाक्टरहरुले विरामीबाट चाहने एउटै चाहना भनेको विरामी निकोहोस्, दिएका सुझाव पालना गरोस् भन्ने नै हो । तर, डाक्टरले विरामीलाई हेर्नेबित्तिकै निको हुनुपर्छ भन्ने कुरा पनि विरामीका आफन्तले राख्न नहुने उनको सुझाव छ । ‘कतिपय उपचार डाक्टरले गर्न नसकेरै विरामीको मृत्यु हुन्छ । तर, डाक्टरले विरामी बनाएर मृत्यु भएको जस्तो आरोप कतिपय बेला आउने गरेको छ । यो दुःखद छ,’ उनी भन्छन् ।

मङ्गलबार, २९ जेठ, २०८१, बिहानको ०७:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page