विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा राहत सामग्री नष्ट भएको प्रकरण छानविन गर्न गठित छानविन टोलीले बिहीबार रतुवाखोलाको बगर उत्खनन् गरेको छ ।
कोरोना महामारीको समयमा विपन्न गरिब तथा प्रभावित परिवारलाई वितरण गर्नका लागि संकलन भएको र नगरको कोष खर्च गरेर खरिद गरेको राहत सामग्री वितरण नगरी राख्दा गोदाममै प्रयोग गर्न नमिल्ने गरी बिग्रिएपछि गुपचुपरुपमा बगरमा गाडिएको थियो । नगरपालिकाले किसानलाई वितरण गर्न भनी विभिन्न समयमा खरिद गरेको उन्नत जातका बिउ बिजन पनि वितरण नगरी बगरमा गाडेको पाइएपछि केही दिन यता रतुवामाईका स्थानीय सामाजिक संघ संस्था र राजनीतिक दलहरु आन्दोलित थिए ।
स्थानीयको चर्को दबाब पछि जिल्ला प्रशासन कार्यालय घटनाको सत्यतथ्य छानविन गर्न गठन गरेको समितिले बिहीबार रतुवाखोलाको बगरमा उत्खनन् गर्दा खाद्यान्नका सयौं बोराहरु फेला पारेको छ ।
यसैबीच मोरङको रतुवामाई नगरपालिकाले कोरोना कालमा जनतालाई वितरण गर्नका लागि ल्याएको राहत सामाग्री गाडेको विषयमा दोषी देखिएका कसैले पनि उम्किन नपाउने बताएको छ ।
नगरपालिकाका मेयर नागेश्वरप्रसाद सिहंले प्रेस विज्ञप्ती जारी गर्दै गलत गर्ने कोही पनि नउम्किने र निर्दोष नफस्ने बताए । उक्त विषयलाई लिएर नगरवासी आन्दोलित बनेपछि मेयर सिंहले छानविनबाट सत्यतथ्य सार्वजनिक हुने र दोषी भए कारवाही हुने बताएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘रतुवामाई नगरपालिकामा खाद्य सामग्री, जैविक मल र बिउ बिजन रतुवा नदी किनारको अस्थायी फोहोर फाल्ने स्थानमा गाडिएको अवस्थामा भेटिएको र तत् पश्चात उत्पन्न विवादप्रति यस रतुवामाई नगरपालिकाले गम्भीर ढंगले सुक्ष्म अनुसन्धान गरिरहेको र संलग्न दोषी ठहर भए कारवाही गर्ने तयारी गरिरहेको छ ।’
यस्तै अनुसन्धानलाई थप प्रभावकारी र निष्पक्ष बनाउनका जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको नेतृत्वले छानविनको आवश्यक प्रक्रिया सुरु गरिसकेको प्रमुख सिंहले जानकारी गराएका छन् ।
नगरपालिकालाई सुशासन र भ्रष्टाचाररहित बनाउने संकल्पका साथ नगर प्रमुखको पदमा वहाली भएको बताउँदै उनले त्यसमा आफू कतिपनि विचल्ली नभई लागिरहेको र सार्वजानिक संस्थानमा हुने बेथितिको आफैं पनि विरोधी भएको उनको भनाइ छ ।
उक्त घटनामा अनुसन्धान गर्ने र कारवाही गर्ने निकायहरुबाट समेत छानबिन हुने हुँदा “गलत गर्ने कोही पनि नउम्कने र निर्दाेष नफस्ने” प्रतिबद्धता जनाउँदै छानविन अवधिभर कार्यालयको नियमित कामकाजमा बाधा नगर्न र त्यस प्रकृतिको आन्दोलनका कार्यक्रमहरु नगर्न पनि अनुरोध गरेका छन् ।