उपनिर्वाचनको प्रचारप्रसार बन्द

विराटनगर । वैशाख १५ गते शनिबारका दिन इलाम क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनका लागि मध्यरातिबाट मौन अवधि सुरु भएको छ ।

मौन अवधिमा निर्वाचनको प्रचारप्रसार गर्न पाइँदैन । निर्वाचन आचारसंहिता अनुसार मतदान सुरु हुनुभन्दा ४८ घण्टा अघिबाट प्रचारप्रसार, सभा सम्मेलन आदि गर्न निषेध छ । त्यसलाई मौन अवधिको रुपमा लिने गरिएको छ ।

निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानीका लागि अनुगमन गर्न विशेष संयन्त्र बनाएको विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।

मौन अवधिमा सामाजिक सञ्जालबाटसमेत प्रचारप्रसार गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।यसैबीच इलाममा हुने उपनिर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय इलामले भारतसँगको सीमानाका बन्द गरेको छ ।

निर्वाचनलाई प्रभावकारी ढङ्गले सम्पन्न गराउने उद्देश्यले राति १२ बजेदेखि निर्वाचनको दिन वैशाख १५ गते राति १२ बजेसम्म सिमानाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । नाका बन्द भएपछि नेपाल–भारत सीमा क्षेत्रबाट नेपाल–भारत आवतजावत रोक लगाइएको छ ।

निर्वाचनका दिन सवारी साधन सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा भने अहिले नै कुनै निर्णय भइसकेको छ । बिहीबार सर्वदलीय बैठक बसेर यस सम्बन्धमा आवश्यक निर्णय लिने उनले बताए । ‘‘बिहीबार सर्वदलीय बैठक राखेका छौँ । सर्वदलीय बैठकले निर्वाचनका दिन सवारी चलाउने अथवा बन्द गर्ने जे निर्णय गर्छ त्यही अनुसार हामी अघि बढ्ने छौँ ।’’ यादवले भने ।

यसैबिच, भारतमा वैशाख १४ गते हुने दोस्रो चरणको लोकसभा निर्वाचनका लागि भारतीय पक्षबाट मंगलबार बेलुका देखि नै ती नाकाहरु बन्द गरिएका छन् ।

बिहिबार, १३ बैशाख, २०८१, बिहानको ०९:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर