राहात सामग्री नष्ट प्रकरणप्रति सांसद उप्रेतीको चासो

राहात सामग्री नष्ट प्रकरणप्रति सांसद उप्रेतीको चासो

विराटनगर ।प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री गणेश उप्रेतीले राहातका लागि खरिद गरेको खाद्यवस्तु काम नलाग्ने अवस्थामा पुग्नु र त्यसलाई गुपचुप नष्ट गर्नु गलत भएको बताएका छन् ।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सांसद उप्रेतीले समयमा राहत र किसानलाई अनुदान वितरण नगरी नष्ट हुने अवस्था आउनु दुःखद भएको भन्दै घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् ।

कोरोना महामारीको समयमा रतुवामाई नगरपालिकाले आफ्नो आर्थिक कोषबाट राहत प्रदान गर्नका लागि खरिद गरेको, दाताहरुबो प्राप्त गरेको खाद्य सामग्री ( चामल, दाल, तेल, नुन) र नगरपालिकाको कृषि शाखाबाट कृषकलाई अनुदानमा वितरण गर्न खरिद गरेको मल, बिउबिजन समयमा वितरण नगर्दा नष्ट भएको थियो । उक्त सामग्री नगरपालिकाले लुकाइछिपाइ रतुवाखोलाको बगरमा गाडेको थियो भने स्थानीयले नष्ट गरिएको सामान उत्खनन् गरी विरोध जनाएका थिए ।

सांसद उप्रेतीले जनतालाई वितरण गर्नुपर्ने सामान गोदाममा थन्क्याएर राख्ने र काम नलाग्ने अवस्थामा पुगेपछि कुनै कानुनी प्रक्रिया पूरा नगरी रातारात नष्ट गरेको आशंका गरेका छन् । उनले खरिद प्रक्रियामाथि नै प्रश्न उठ्न सक्ने देखिएको घटनाको सत्यतथ्य छानविन गर्न नगरपालिकाको नेतृत्वलाई आग्रह गरेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्