लोड हुँदैछ...

मेनु

दोषीमाथि कार्वाही हुनुपर्छ

दोषीमाथि कार्वाही हुनुपर्छ

प्रदेशको राजधानी विराटनगरमा जग्गा सिमानाको सामान्य विवाद ज्यान मार्ने तहको आक्रमणमा परिणत भएपछि पीडितहरुले गाउँमा बस्नै नसक्ने अवस्था आएको भन्दै गुहार मागिरहेका छन् । विराटनगर–१४ का पूर्व वडाअध्यक्ष ६५ वर्षीय बलदेव यादवसहित ९ जनाले २९ चैतमा ४० वर्षीय सन्तलाल यादव र सोही ठाउँका ३० वर्षीय प्रकाश यादवमाथि तरवार प्रहार गरेको आरोप छ । दुबै हातमा चोट लागेका उनीहरुको विराट टिचिङ्ग हस्पिटलमा उपचार भइरहेकोमा आक्रमणकारीविरुद्ध जाहेरी दिएपनि उनीहरु पक्राउ नपर्दा आफूहरु असुरक्षित भएको पीडित परिवारले जनाएका छन् । किटानी जाहेरी पर्दा पनि प्रहरीले राजनीतिक पहँुचको कारण दोषीहरुलाई पक्राउ नगर्दा आफूहरु त्रसित र असुरक्षित बनेको पीडित परिवारले बताएका छन् ।

आरोपीतहरु गाउँमा खुलेआम घुम्ने गरेकाले पीडित पक्षले त्रासको अनुभूति गरेको हो । आफूले खेतीको पैसा लिएर विराटनगर आईरहेको बेला पूर्व वडाअध्यक्ष यादवको निर्देशनमा ९ जनाको समूहले पैसा लुट्ने प्रयास गरेको पीडित पक्षले जनाएको छ । मोटरसाईकलको हेलमेट नलगाएको ज्यान नै जोखिमा पर्नेगरि तरबार प्रहार भएको पीडित पक्षको भनाइ छ । आक्रमणकारीले ४ लाख रुपैयाँ नगद पनि तरबार प्रहार गर्दे लुटेको आरोप छ । घटनाबारे प्रहरीले वास्ता नगरेको र उल्टै आरोपीहरुले धम्की दिने गरेको पीडित पक्षले बताएका छन् । सुरक्षामा चुनौति देखिएकोले विस्थापित हुनुपर्ने अवस्था आउनसक्ने उनीहरुको भनाइ छ । प्रहरीले आरोपीमध्ये फुलेश्वर यादवलाई पक्राउ गरेकोमा उनी पनि विरामी रहेको भन्दै विराटनगरस्थित मेट्रो न्यूरो हस्पिटलमा भर्ना भएको बताइएको छ । विराटनगरभित्र भएको यो घटनाको गम्भीर अनुसन्धानको खाँचो देखिएको छ ।

हरेक नागरिकको शान्ति सुरक्षाको जिम्मेवारी राज्यको हो । त्यसमाथि अपराधको घटना भइसकेपछि दोषीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कार्वाही हुनुपर्छ । लुटपाट र ज्यान मार्ने उद्देश्यले आक्रमण भएको घटनाको गम्भीर अनुसन्धान हुनुपर्छ । कुनैपनि बहानामा दोषीले उन्मुक्ति पाउनु हुँदैन । सँगै निर्दोष नफसोस् भन्नेतर्फ पनि सचेत हुनुपर्छ । प्रहरीले घटनामा संलग्न भएका आरोपीहरु फरार रहेकोले खोजी भइरहेको बताएको छ । तर, पीडित पक्षले दोषीहरु गाउँघरमै डुलिरेको र उल्टै धम्की दिइरहेको भन्दै सुरक्षाको माग गर्ने अवस्था आउनुले गम्भीर प्रश्न खडा भएको छ । कि प्रहरीले पीडितहरुले निर्दोषलाई फसाउने प्रयास गरेको भन्नुपर्छ, अन्यथा उनीहरुसँग समन्वय गरेर प्रहरीले आरोपीलाई छिटोभन्दा छिटो नियन्त्रणमा लिनुपर्छ । पीडितहरुको सुरक्षा र शान्तिपूर्वक बस्न पाउने अधिकारको ज्ञारेन्टी गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।