विराटनगर । मौसम पूर्वानुमान महाशाखाले नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने भएकोले सतर्क रहन सुझाब दिएको छ ।

महाशाखाका अनुसार केही दिनदेखि देशका अधिकांश भागको अधिकतम् तथा न्यूनमत तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको छ ।

केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसभन्दा बढी मापन भएको छ । विभागको तथ्यांकअनुसार सोमबार दिउँसो अधिकतम तापक्रम भैरहवामा ४०.९ र सिमरामा ४० डिग्री सेल्सियस मापन भएको छ । यस्तै जनकपुरमा ३९.४, धनगढीमा ३८.८ र नेपपालगञ्जमा ३८.४ डिग्री सेल्सियस मापन भएको छ ।

महाशाखाका अनुसार धनुषादेखि कञ्चनपुरसम्म क्षेत्रमा १४ वैशाखसम्म अध्यधिक गर्मी हुने सम्भावना छ । तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले त्यस क्षेत्रकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने विभागले जनाएको छ । विभागले तातो हावा तथा लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पटक–पटक पानी तथा झोल पदार्थ जुस, सर्बत, आदि प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत आग्रह गरेको छ ।