कोशी प्रदेशमा पूर्वपश्चिम राजमार्गलाई चार लेन बनाउने काम सुरु

विराटनगर । कोशी प्रदेशमा पर्ने पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डको सडक विस्तारको काम सुरु भएको छ । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ एसियाली विकास बैंकको ऋण सहयोगमा चार लेन सडक विस्तार गर्ने काम थालिएको हो ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसारको काँकरभिट्टादेखि लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति गर्ने तयारी रहेपनि ९७ किलोमिटरका लागि मात्र ठेक्का लागेर काम सुरु भएको छ । आयोजनाले यो सडकलाई पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेको छ ।

काँकरभिट्टादेखि सीतापुरसम्मको ४५ किलोमिटर सडक दमकस्थित कार्यालयले हेर्नेछ भने सीतापुरबाट इटहरी पश्चिम पचरुखीसम्मको क्षेत्र इटहरी कार्यालयको कार्यक्षेत्रमा छ । पूर्वी खण्डमा २१ वटा पुल रहेका छन् भने १३५ वटा कल्भर्ट बन्ने छन् । ‘पाइल फाउन्डेसन’ विधिबाट केर्खा खोला र कमल खोलामा पुल निर्माण भइरहेको र ३५ वटा कल्भर्ट निर्माण जारी रहेको आयोजनाका प्रमुख सुनिलबाबु पन्तले जानकारी दिए ।

सडक विस्तारको लागि किनारमा पर्ने ११ हजार ५१३ वटा रुखमध्ये ७५ प्रतिशत काटिसकिएको छ । वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार काम भइरहेको आयोजनाले जनाएको छ ।

इटहरिस्थित आयोजना कार्यालयका अनुसार सडक र पुल निर्माणका लागि ५ वटा अलग–अलग ठेक्का लगाइएको छ । आयोजना इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिका अनुसार सडक निर्माणका लागि ० देखि ४५ किमिसम्म, ४५ देखि ८५ किमिसम्म र ८५ देखि ९७ दशमलव ७७० किमिसम्म ३ वटा तथा साना र ठूला पुलको लागि २ वटा गरि ५ वटा ठेक्का लागेको छ ।

निन्दा, विरिङ, कन्काई, रतुवा, बक्राहा र लोहन्द्रामा पुल बनाउन ठेक्का लागिसकको छ । ती ६ वटा पुल तीन सय मिटरभन्दा लामा छन् ।

सडकलाई बजार क्षेत्र, जङ्गल क्षेत्र र ग्रामीण क्षेत्रमा विभाजन गरिएको छ । बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडा सडक बन्नेछ । सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुनेछ । ३ सय मिटरभन्दा लामा पुल बन्ने स्थानमा सिग्नेचर पुल निर्माण हुनेछन् ।

आयोजनाले काँकरभिट्टा, इँटाभट्टा, चारआली, बिर्तामोड, दमक, झुम्का, विराटचोक, इटहरीलगायत नौ घनाबस्ती भएको स्थानमा आकासे पुल र जङ्गल क्षेत्रमा‘अन्डर पास’ निर्माण गर्नेछ । सडक सहरी क्षेत्रमा ६ लेनको र ग्रामीण र जङ्गल क्षेत्रमा ४ लेनको हुनेछ ।

नेपालको कालिका र तुङ्गी कन्ट्रक्सनसँग चाइनिज कम्पनीले संयुक्तरुपमा गर्ने सडक निर्माणको कामका लागि धमाधम साइड खाली गरेर काम अगाडि बढाएको आयोजना दमक कार्यालय प्रमुख सुनीलबाबु पन्तले बताए । एसियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडकको लागत करिब २८ अर्ब १७ करोड रुपैयाँ छ । तीन वर्षमा निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको सडक ‘एसियन हाइवे स्ट्यान्डर्ड’को बन्नेछ ।

अहिले निर्माण सुरु भएको ९७.७७० किलोमिटरमध्ये मोरङमा ३६.२ किलोमिटर सडक मोरङमा पर्छ भने झापामा ५६ किलोमिटर र सुनसरीमा १० किलोमिटर छ ।

आइतबार, ०९ बैशाख, २०८१, दिउँसोको ०४:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर