पूर्वको १३ ठाउँमा सहकारी लुटपाट गर्ने गिरोहको समूह पक्राउ

विराटनगर । श्रृंखलाबद्ध रूपमा पूर्वको विभिन्न स्थानमा सहकारी लुटपाट गर्ने गिरोहको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

सहकारी लुटपाट गर्ने ६ जनाको समूहलाई प्रहरीले सुनसरीको इटहरीबाट शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ परेका समूहले झापामा मात्रै विभिन्न १३ स्थानमा लुटपाट गरेको पाइएको छ । पक्राउ परेका ६ जनालाई अहिले झापा प्रहरीमा राखिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको रिट, झापा, सुनसरी प्रहरीले संयुक्त रुपमा उनीहरुलाई पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ गरेका आरोपीतको नाम गोप्य राखेको छ । शनिबार पत्रकार सम्मेलन गर्ने तयारी झापा प्रहरीले गरेको छ । सहकारी लुटपाट गर्ने समूहलाई पक्राउ गरिएको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए । ‘केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछको काम भइरहेको छ । शनिबारसम्म थप विषय खुल्नेछ,’ एसपी केसीले भने, ‘अहिले मैले यति मात्रै भने । यस घटनाको विषयमा पत्रकार सम्मेलन गरी विस्तृतमा जानकारी दिनेछौं ।’
पक्राउ परेका समूहले झापामा मात्रै एक दर्जन बढी ठाउँमा लुटपाट गरेको सुरक्षा स्रोतले जानकारी दिएको छ । टिमको खोजीमा ७ जना उठाएकोछ । सहकारीको लुटपाट भएको थियो ।
झापामा केही दिन मात्रै गौरादह नगरपालिकाका दुई वटा सहकारी लुटपाट भएको थियो । गौरादह नगरपालिका वडा न ५ स्कूलचौन बजारमा रहेको जनहित सहकारीमा कार्यालय फोडेर चोरी भएको प्रहरीले जनाएको छ । त्यस्तै सोही वडाको चप्रामारीमा रहेको महारानी झोडा सहकारीमा पनि गएराति नै चोरी भएको जनाइएको छ ।
पछिल्लो समय झापामा सहकारी लुटपाटको घटना बढ्दै गएको छ । गत चैत ५ गते राति गौरादह ९ बैगुनधुरास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रबाट करिब १२ लाख नगद र सरसामान चोरी भएको थियो ।

त्यस्तै केही दिनअघि हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको हल्दिवारी गाउँपालिकाको मंगलवारेमा रहेको शाखामा चोरी गर्ने प्रयास भएको थियो । त्यस्तै कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोड ४, साना किसान कृषि सहकारी संस्था हल्दिवारी ४, एकता बहुउद्देश्यीय सहकारी संस्था हल्दिबारीलगायतका संस्थामा चोरी र तोडफोडका घटना भएका थिए ।
गत फागुन १० गते जिल्लाका विभिन्न सहकारी संस्थाहरुमा लगातार भइरहेको चोरी र तोडफोडको घटनाप्रति झापा जिल्ला सहकारी संघले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण समेत गराएको थियो ।

शुक्रबार, ०७ बैशाख, २०८१, रातीको ०८:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर