प्रथम थ्री जिरो सदस्य सम्मेलन : लक्ष्य प्राप्तीका लागि युवा

विराटनगर । थ्री जिरो क्लबले गरिबी, बेरोजगारी र कार्बन उत्सर्जन आदि कम गर्न योगदान गर्नेमा सरोकारवालाहरुले विश्वास व्यक्त गरेका छन् । त्यसमा युवाहरुको भूमिका महत्वपूर्ण हुने उनीहरुले बताए ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाले आयोजना गरेको ‘प्रथम थ्री जिरो क्लब सदस्य सम्मेलन’मा बोल्ने वक्ताहरुले गरिबी, बेरोजगारी र कार्बन उत्सर्जन कम गर्नका लागि थ्री जिरो क्लबका सदस्यको भूमिका महत्वपूर्ण रहने बताएका हुन् ।

शून्य गरिबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्जनको लक्ष्यसहित गठन भइरहेको थ्री जिरो क्लबमा १२ वर्षदेखि ३५ वर्ष उमेर समूहका युवाहरु सदस्य हुन पाउँछन् । एउटा क्लबमा पाँच जना सदस्य रहने व्यवस्था छ ।

युवा सदस्यहरु सहभागी थ्री जिरो क्लब सदस्य सम्मेलनको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्ययन्त्री केदार कार्कीले मानिसकै कारण अहिलेको वातावरणीय प्रतिकुलताको अवस्था सृजना भएको बताए । कार्वन उत्सर्जन कम गर्दै गरिबी र बेरोजगारी अन्त्यका लागि युवाहरुको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ । ‘हामीले आउने पुस्तालाई वातावरण संरक्षण गरिरहेका छौकी छैनौं, संस्कार र संस्कृती जोगाइरहेका छौ कि छैनौं,’ उनले भने, ‘आउने पुस्तालाई हामीले वातावरण संरक्षणसँगै संस्कार र संस्कृति सिकाउनु पर्छ, आफ्नै खुट्टामा उभिन सक्ने बनाउनुपर्छ ।’

जीवन विकास लघुवित्तले गरिबी, बेरोजगारी र वातावरण संरक्षणका लागि महत्वपूर्ण रुपमा काम गरिरहेको उनले बताए । प्रदेश सरकारले दक्ष जनशक्ती उत्पादन गरेर वातावरण संरक्षणका लागि काम गरिरहेको उनको भनाइ छ ।प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले गरिबी र बेरोजगारी अन्त्यसँगै वातावरण संरक्षणका लागि युवाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए । अहिलेको समस्या राजनीति रहेको बताउँदै उनले राजनीतिलाई सही ट्याकमा ल्याउन युवाले अग्रसरता देखाउनुपर्ने बताए । ‘राजनीति भनेको नीतिहरुको माउ नीति हो, राजनीतिलाई म्यानेजमेन्ट हो भनेर बुझ्नु पर्छ,’ उनले भने,‘राजनीतिलाई म्यानेजमेन्टको रुपमा बुझ्ने देशले प्रगति गरेका छन् ।’ उनले थ्री जिरो क्लब मार्फत स्वदेशमा नै स्वरोजगार बन्नका लागि भूमिका खेल्नुपर्ने उनले बताए ।

मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले गरिबी र बेरोजगारी अन्त्यका लागि सबैले जिम्मेवार भएर लाग्नुपर्ने बताए । रोजगारी र उद्यमशीलता विकासका लागि राजनीतिक नेतृत्वले नेतृत्व लिएर काम गर्नुपर्ने उनको भनाइ छ । किसानलाई कृषिलाई उद्यमशीलतामा जोडेर लैजानका लागि थ्री जिरो क्लबका सदस्यले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।

समाज परिवर्तनका लागि आफंैबाट सुरु गर्न उनले आग्रह गरे । ‘वातावरण संरक्षण अभियान आजैबाट सुरु गर्नुहोस्, तपाईले आफ्ना लागि जुन दिन रुख रोप्नु हुन्छ त्यही दिनदेखि आफूपरिवार, समाज, देश र विश्वलाई सहयोग गर्नुहुन्छ,’ उनले भने,‘ उद्यमशीलताको सुरुवात पनि आफैंबाट गर्नुहोस्, देश बनाउने अभियानमा लाग्नुहोस् ।’

मोरङको धनपालनाथ गाउँपालिका अध्यक्ष जिवछ गच्छदारले थ्री जिरो क्लब मार्फत स्वरोजगार बन्दै गरिबी नियन्त्रण र वातावरण संरक्षणको अभियानमा लाग्न आग्रह गरे ।स्वावलम्वन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले थ्री जिरो क्लब गठन र क्लबको सक्रियतामा जीवन विकास लघुवित्त वित्तीय संस्थाले गरेको सहयोग उदारणीय रहेको बताए ।

वातावरण संरक्षणका लागि थ्री जिरो क्लबको भूमिका महत्वपूर्ण रहने पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिव विशाल घिमिरेले बताए ।जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले सम्मेलनले आफ्नो क्षेत्रमा पुगेर काम गर्न क्लबका सदस्यहरुलाई उर्जा थपेको बताए ।

जीवन विकासले फरक शैलीमा काम गर्दै आइरहेको बताउँदै उनले संसारमा भइरहेका राम्रा कामलाई भित्र्याउने गाउँसम्म पुर्याउने योजनासहित थ्री जिरो क्लबको सुरुवात भएको बताए । युवाहरूसँग समाज र देशको आशा रहेको बताउँदै उनले समुदाय र देशका लागि स्थानीय सरकार र सरोकारवाला निकायसँग समन्वय गरेर काम गर्न आग्रह गरे ।
छ बुँदे प्रतिबद्धता पत्र जारी

प्रथम थ्री जिरो क्लब सदस्य सम्मेलन ६ बुँदे प्रतिबद्धता जारी गरेको छ । बुधबार आयोजित कार्यक्रममा हरेक क्लबले स्थानीय युवालाई जागरुक बनाई क्लब गठन गर्ने, थ्री जिरो क्लबले फोकस एरियामा कार्ययोजना बनाइ स्थानीय सरकार र विभिन्न संस्थाको सहकार्यमा अभियान सञ्चालन गर्ने, वातावरण संरक्षणका लागि वृक्षरोपण अभियान सञ्चालन गर्ने, अति विपन्न परिवारको आधारभूत आवश्यकता पूरा गर्न सहयोग र सहजीकरण गर्ने, र कार्बन उत्सर्जन कम गर्नका लागि सचेतना अभियान सञ्चालन गर्ने प्रतिवद्धता जारी गरेको हो ।

कार्यक्रममा उत्कृष्ट कार्य गरे बापत मकवानपुरको इन्भारमेन्ट एण्ड क्लाइमेट चेन्ज थ्री जिरो क्लब, मोरङ सुनबर्सीको इनभारमेन्ट थ्री जिरो क्लब, उदयपुरको ताप्ली साखा अन्तरगत गठन भएको थ्री जिरो क्लब, हरिबन सर्लाहीको इन्भारमेन्ट एण्ड क्लाइमेट चेन्ज थ्री जिरो क्लब र सुन्दरहैचाको जिरो अनइम्प्लोइमेन्ट थ्री जिरो क्लबलाई पुस्कृत गरिएको थियो । प्रथम थी जिरो क्लब सम्मेलनमा कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका तीन सय युवाहरु सहभागि थिए ।

बिहिबार, ०६ बैशाख, २०८१, बिहानको ०७:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर