सरुवा माग्दा महिला शिक्षकलाई ‘यौन प्रस्ताव’ !

विराटनगर । मोरङ कानेपोखरी गाउँपालिका शिक्षा शाखा अधिकृत बेगबहादुर काफ्लेले एक महिला शिक्षिकालाई सरुवा मिलाउन यौन प्रस्ताव गरेको भन्दै नेपाल शिक्षक महासंघले खेद व्यक्त गरेको छ ।

नेपाल शिक्षक महासंघ जिल्ला समिति मोरङका अध्यक्ष कुमार पोखरेल र सचिव प्रेमप्रकाश कोइरालाले एक विज्ञप्ति प्रकाशित गर्दै काफ्लेलाई कानून बमोजिम कारवाही गर्न कानेपोखरी गाउँपालिका तथा अन्य सम्बन्धीत निकायमा ध्यानाकर्षण पनि गराएको छ ।

‘मोरङ जिल्ला कानेपोखरी गाउँपालिकाका शिक्षा अधिकृत बेगबहादुर काफ्लेले शिक्षकले जिल्लान्तर सरुवाको सन्दर्भमा एक महिला शिक्षकसँग शारीरिक सम्बन्धको प्रस्ताव राखेको विषय उल्लेख भएको सामाजिक सञ्जाल म्यासेन्जर च्याटका स्क्रिनसटसहित सम्बन्धीत महिला शिक्षकबाट नेपाल शिक्षक महासंघ जिल्ला समिति मोरङमा प्राप्त भएको निवेदनमा उल्लेख भएको घटनाप्रति नेपाल शिक्षक महासंघ मोरङको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘पदीय मर्यादा, निजामति सेवाको आचरण र आचारसंहिता विपरित सरकारी कर्मचारीबाट भएको यस्तो निन्दनीय हर्कतप्रति खेद प्रकट गर्दछौं । सेवाग्राहीलाई निःस्वार्थ सेवा दिनुपर्ने कर्मचारीबाट भएको यस्तो व्यवहारको उचित छानविन गरी दोषी ठहरिए प्रचलित कानुन बमोजिम कारबाही गर्न कानेपोखरी गाउँपालिका तथा अन्य सम्बन्धीत निकायहरुमा ध्यानाकर्षण गराउँदै न्याय निरुपणका सन्दर्भमा नेपाल शिक्षक महासंघ जिल्ला समिति मोरङ पीडितका पक्षमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।’

एक महिला शिक्षिकाले रोजेको ठाउँमा सरुवा मिलाउन यौनका साथै ‘अर्को थोक’ पनि मिलाउनु पर्ने उल्लेख गर्दै म्यासेज गरेका थिए । तीन वर्ष अगाडि उनले पठाएको म्यासेज अहिले सामाजिक सञ्जालमा भाइरल छ ।कानेपोखरी गाउँपालिकाका शिक्षक महासंघका अध्यक्ष धर्मराज थापाले पीडित शिक्षक महिलाले आफूहरुलाई घटनाको विषयमा विस्तृत जानकारीसहित उजुरी दिएको बताए । उनको निवेदनको आधारमा आफूहरुले पालिकालाई जानकारी गराए पनि कानूनी कारवाही नभएको गुनासो गरे ।

शुक्रबार, ३० चैत, २०८०, बिहानको ०७:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर