
विक्रम लुईँटेल
नेकपा एमाले र माओवादी केन्द्रले बुधबार एउटै विज्ञप्ति जारी गर्दै संयुक्त पत्रकार सम्मेलन गरे । पार्टीको प्रदेश स्तरीय संरचनाले गरेको पत्रकार सम्मेलनमा जारी विज्ञप्तिको एउटा बुँदामा लेखिएको छ, ‘सुहाङको जितबाट वामपन्थी एकीकरणको जग तयार गर्ने ।’ वास्तवमा लामो समयको चाहना अनुरुप नेपालका वामपन्थीहरु एकीकरण हुने अभियान चलेको थियो । जसमा माओवादी र एमाले मिलेर एउटै पार्टी बन्यो पनि । तर, सत्ताभित्रको अनेक खेलले यो एकीकरण लामो समय टिक्न सकेन । यो एकीकरणलाई टिकाउन चाहने मध्ये एक जना व्यक्ति थिए, सुवास नेम्वाङ । उनले संसद विघटन नगरिकन पार्टी जोगाउनुपर्ने धारणा राखेका पनि थिए ।
कतिपय विश्लेषकहरुले एक वर्षअघि सुवास नेम्वाङलाई एमालेले राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि सारेको भए गठबन्धन टुट्दैन थियो भन्ने गरेका छन् । यसको अर्थ के बुझन सकिन्छ भने सुवास नेम्वाङको नाममा वामपन्थी एकीकरण सम्भव थियो अथवा उनको चाहना एउटै सिंगो वामपन्थी पार्टी बनाउने थियो । नेम्वाङ चाहन्थे नेकपा नफुटोस् र सिंगो पार्टी रहेर नेपाल समृद्ध बनोस् । तर, उनको त्यो चाहना पूरा हुन सकेन । उनको अचानक निधन भएपछि यो आवज मधुरो पनि भयो । तर उनको कान्छा छोरा सुहाङ नेम्वाङ आफ्नो बुवाको अधुरो काम पूरा गर्ने र सवल राष्ट्र बनाउने संकल्प बोकेर अहिले इलाम क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका छन् । यी नै सुहाङलाई जिताउने अभियान अन्र्तगत बुधबार नेकपा एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र माओवादी केन्द्रका कोशी अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले संयुक्त पत्रकार सम्मेलन गर्दा एउटा पार्टी एकीकरणको एउटा आधार सुहाङको जितलाई हेरेका छन् । माओवादी र एमालेबीचको दुरीलाई कम गर्दै सिंगो पार्टी एकीकरण गर्ने र वामपन्थीहरुबाटै समृद्धिको यात्रा पूरा गर्ने हो भने यो वाचा सही छ ।
अब यस्ता वाचाहरु केन्द्रबाट होइन् टोल–टोल, गाउँ–गाउँबाट उठाउँदै लैजानु पर्दछ । यसो गर्न सकियो भने वामपन्थी एकीकरणको एउटा बाटो खुल्छ । स्वयं सुहाङ नेम्वाङ आफैं पनि पढेलेखेका युवा हुन् । उनको उपस्थितिले आम युवामा सकात्मक उर्जा थपेको छ । युवाहरुमा निराशा बढिरहेको बेला परिपक्क प्रस्तुतिसहित गाउँ छिरेका सुहाङले यस पटक जित्नै पर्ने दवाव पनि छ । अनेक खालका भड्काउहरुलाई परास्त गर्दै उनले जिते भने मिसन २०८४ मा ठूला दलहरुलाई सच्चिएर अगाडि बढ्ने प्रेरणा पनि मिल्नेछ । युवाहरुलाई अगाडि बढाएर बुढा नेताहरुलाई बिदा दिने ढोका खुल्नेछ । यो ढोकाले राष्ट्रको समुन्नतिमा योगदान पु¥याउँनेछ ।