कोशी अस्पतालबाट माटो चोरी हुने क्रम रोकिएन

पूर्व सहसचिव घिमिरेको जग्गामा भेटियो चोरीको माटो

विराटनगर । कोशी अस्पतालमा निर्माणाधीन भवनको फाउन्डेसनका लागि खनिएको माटो नियोजितरुपमा दुरुपयोग भइसकेको विषय सार्वनिक भए पनि अझै रोकिएको छैन । अस्पताल परिसरमा उत्खनन् गर्दा निस्किएको हजारौं घनमिटर माटो गिरोहले बिक्री गरी अनियमिता गर्दा पनि स्थानीय प्रशासन चुपचाप बसेको छ ।

यसैक्रममा कोशी अस्पतालबाट चोरी भएको केही परिमाण माटो नेपाल सरकारका पूर्व सह–सचिव मनोज घिमिरेको जग्गामा भेटिएको छ । विराटनगर ७ स्थित घिमिरेको खाली जग्गा पुर्न उक्त अस्पतालबाट झिकिएको माटो लगिएको पाइएको हो ।

रातको समयमा अस्पतालबाट निकालेको चिसो माटो लैजाँदा अस्पताल चोकदेखि परिवार नियोजन संघको कार्यालयदेखि पूर्वतर्फको बाटो हिलाम्मे भएको थियो । बाटो हिलाम्मे भएपछि घिमिरेले विराटनगर महानगरपालिकामा निवेदन दिएर सडकमा जमेको माटो निकालिदिन भनेका थिए । विराटनगर महानगरपालिकाको वातावरण शाखाका कर्मचारीले अनुगमन गर्दा सडकमा कोशी अस्पतालबाट लगेको माटो पोखिएको र उक्त माटोबाट घिमिरेले आफ्नो जग्गा पुरेको पाइएको थियो ।

कोशी अस्पतालबाट रातारात माटो चोरेर लैजाँदा जथाभावी माटो पोखिएर सडकमा खस्ने र पानी पर्दा हिलो र घामलाग्दा सुकेर धूलो उड्ने समस्या केही समययता चलिरहेको छ । सडक फोहर भएपछि नगरवासीले नगरपालिकालाई आरोप लगाउने गरेका छन् ।

मंगलबार उपमहानगरपालिकाका झण्डै एक दर्जन सफाइ कर्मचारीहरु सडकमा असरल्ल छरिएको माटो उठाउँदै थिए । सार्वजनिक अस्पतालबाट चोरेर निजी जग्गा पुर्न लगेको माटो पन्छाउन पनि महानगरका कर्मचारी प्रयोग गर्नुपर्ने अवस्था भएपछि महानगरका कर्मचारीहरुसमेत रुष्ट देखिएका छन् ।

अस्पताल परिसरबाट उत्पादन भएको माटो ठेक्का प्रक्रियाबाट बिक्री गर्नुपर्नेमा ठूलो परिमाणमा माटो चोरी भएको छ । त्यहाँबाट निस्किएको माटो दुहवी, खनरदेखि हाटखोला र पाञ्चाली क्षेत्रका केही पहुँचवालाहरुको निजी जग्गा पुर्ने काम भएको पाइएको छ ।

सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यन्वयन इकाई कार्यालय विराटनगरले नियमन गर्ने आयोजनाबाट ठेकेदारले माटो लुसुलुसु बिक्री गर्ने गरेको पाइएको हो । ट्याक्टर र टिपरमा माटो उठाएर लैजादाँ जथाभावी सडकमा छरिएर फोहर हुने र महानगरले सफा गरिरहनुपर्ने नियति दिनहुँ दोहोरिए पनि नियमनकारी निकाय कानमा तेल हालेर बसेका छन् ।

बुधबार, २८ चैत, २०८०, बिहानको ०८:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर