भाउजूको गुनासो

  सुजता लिम्बू

आज त बुढोसँग नै खाना खाने हो । उर्बसी भाउजूले मुस्कुराउदै सुनाउन भ्याइन् । गोरो अनुहारमा ओठको रातो लालीले खुब सुहाएको थियो । ठूला–ठूला आँखामा कालो गाजलले झनै ‘म्याच’ गरेको थियो ।

‘वाहा ! भाउजू आज त कति राम्री के ? लजालु मुस्कानमा, छ्या नानी नजिस्काउनु है !’ विवाह भएको एक वर्ष भएको थियो भाउजू गर्भवती पनि थिइन् । घर, परिवारदेखि टाढा रहेर दाइसँगै डेर बस्दै आएकी उर्वसी भाउजू म बसेकै डेरामा बस्थिन् । श्रीमान्सँग बिहान भेट भयो भने रातको समय भेट्न मुस्किल हुन्थ्यो । कहिले त खाँदाखाँदैको भात छोडेर दाइ डयुटीमा कुद्दा भाउजूको निर्दोष आँखा नरसाएका पनि होइनन् । आँखाका डिलमा टल्किएका आँसु पुच्छदै रुन्चे हाँसोमा आँखामा किरा पसेछ आँसु आयो भन्दै कुरा टार्न पनि भाउजू खुब खप्पिस थिइन् ।
दाइले खाँदाखाँदैको भात छोडेर डयुटीमा जानुभएकाले रुनुभएको होइन ! भाउजू तपाईँ ? हाँस्दै जिस्काउदा लाडे स्वरमा सिपाहीकी स्वास्नी भएसी आँसु लुकाएर हाँस्नु पनि सक्नुपर्छ के लाटी ! सायद, भाउजू आज दाइलाई लिएर नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल जाने तयारीमा थिइन् क्यार । अकस्मात अफिसबाट फोन आएपछि फेरी दाइले मेरो जिम्ममा भाउजूलाई अस्पताल पठाउनुभयो ।

बिहान देख्दा उषाको किरण झैँ उज्यालो अनुहार दाइले अस्पताल लग्न नभ्याउने भएपछि एक्कासी गोरो अनुहारमा मौसम बिग्रिएको आकाश झैँ धमिलिएको थियो । लाग्थ्यो की अहिले नै आँखाबाट बर्षात होला झैँ । तर, मन बलियो बनाएर अस्पताल जान तयार भएकी भाउजू गुनासो चाङ पनि उत्तिकै थोपरिन् । यो सिपाहीकी स्वास्नी हुनुपनि गाह्रो छ । न तलबले राम्रोसँग खान पुग्छ, न परिवारलाई समय नै दिन पाउँछ ।
उही नेपालमै बसेर देश र जनताको सुरक्षामा खटिएको छ भन्ने गर्व गर्नु बाहेक अरु के छ र ? उनको छटपटी र गनगनलाई झेल्न म तयार थिए । किनकि गर्भमा हुर्किदै गरेको शिशु र गर्भवती श्रीमतीले बाउ र श्रीमान् खोज्दो हो । म त्यो समय उनको अभिभावक बनेर अस्पतालसम्मको सहयात्री बन्न तयार भएकाले पनि भाउजूको गनगन मेरा लागि जायज थियो ।

सडकमा कुद्ने बाक्लो सवारीको चापलाई छिचोल्दै आफ्नै रफतारमा कुदिरहेको सफारीको बेगलाई चिर्दै घरिघरी ‘अलिक हतार गरेर कुदाउनुन दाइ अस्पतालमा भीड हुन्छ ’ भाउजूको यो रुखोपन सफारी चालकले पनि झेल्न तयार थियो । किनभने सफारी चालकलाई डबल भाडा दिएर अस्पताल जान लगेका थियौँ । म भाउजूको रुखोपन, बालपन, लाडेपन सबै महसुस गर्दै शान्त बनाउन हरसम्भव कोशिस गरिरहेकी थिए । अब बुढोलाई जागिर छोड्न लगाउछु या अफिसर बन्न प्रेरित गर्छु सारै भएन ।

उनको भडाँस थियो या श्रीमान्प्रतिको प्रेम ? मेरो यो सबै कुरामा भोगाइ नभएकाले पनि हुँदो हो भाउजूको कुरालाई सही गलत छुट्याउन सकस भएको । यद्यपि आफ्नो श्रीमान्को पोष्ट बढाउने सपना देख्नु एउटी श्रीमतीको सपना नै हुँदो हो । गफैगफमा अस्पताल पुगेको पत्तो नै भएन । संयोग नै भनौँ होला अस्पतालमा सेवाग्राहीको चाप पातलो नै थियो । अस्पतालको दृश्यले भाउजुको मन अलिक हलुका भयो क्यारे धन्न भीड रहेनछ नत्र म पाग हुन्थे पालो कुर्दा । राहतसहितको मुस्कानमा भाउजुले मनको भाव पोखिन् । केही समयको बसाईपछि भाउजुको पालो आयो । उहाँलाई नियमित जाँच्ने डाक्टरले श्रीमान चाहीँ कहिल्यै नभ्याउने ? भन्दै प्रश्न तस्राउदा भाउजुको आँखामा एक्लोपनको आभास देख्न सकिन्थ्यो। निर्दोष आँखा म तिर तेश्राउदै उनै हुन आफ्नो भन्न भ्याइन् । श्रीमान् हुँदा पनि एक्लोपनको बोझ मनमा बोके बच्चा गर्भमा बोकेर हिँडेकी भाउजूलाई कहिलेकाँही सिपाहीकी श्रीमती हुनुमा पछुतो नलागेको पनि होइन् ।

हाकिमको श्रीमती हुँदो हो त यतिबेला ठाँउको ठाँउ सबै कुरा हुन्थ्यो होला हामी जस्तो तल्लो दर्जाका श्रीमतीको के मतलब ? अरुको बच्चा श्रीमती मरोस कि बाचोस् ? आँखाभरी आँशु टिलपिल टिलपिल पार्दै भाउजू फोनमा बरबराउदै रहेछिन् । सायद दाइसँग नै आफ्नो मनको भडास व्यक्त गरेकी होलिन् ।

उता दाइले के जवाफ दिनुभयो पत्तो भएन खत्रक्क फोन रोखर कोल्टे फेर्दै एकोहोरीन । न समयमा खाना खानु छ, न परिवारका लागि समय छ न स्वास्नीसँग एकछिन् बोल्ने फुर्सद छ । तातो पानी लिएर भाउजूको कोठाभित्र छिर्न मात्र लागको थिए, भित्ता नियाल्दै भारी मन, भक्कानिएको स्वरले फेरि खै कता आन्दोलन भयो रे नानी उता जाने रे ! अस्पतालसम्म पनि आउन पाउनुहुन्न होला दाइ ।

भाउजूको गुनासो र दाइको व्यस्तताले ‘यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छौँ, साच्चै नबुझ्ने हौँ कि नबुझे जस्तै गर्छौ ।’ भन्ने गीतको याद आयो ।

मङ्गलबार, २७ चैत, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर