कोशीमा पठाओलाई सहयोग होस्

  पुण्य पि अधिकारी

अहिलेको युवापुस्ता डिजिटल वालेटमा अभ्यस्त भइसकेको छ । क्यास बोक्नुभन्दा मोवाइल वालेटमा क्यास लोड गर्ने र क्यूआरमार्फत भुक्तानी गर्न वा कारोवार गर्नलाई सजिलो मान्ने गरेका छन् । समयको परिवर्तनसँगै हालका दिनमा डिजिटल वालेटले सबैलाई दंगदास बनाएको छ । डिजिटल भुक्तानीमा खुल्ला पैसाको आवश्यकता नपर्ने र निमेष भरमै भुक्तानी एवम् कारोबार हुने भएकाले आजभोली सबैले डिजिटल कारोवारलाई स्वीकार गरेको पाइन्छ ।

दुई, चार वर्ष अघिसम्म इसेवा र खल्तीजस्ता डिजिटल वालेटले कारोवार सुरुआत गर्दा धेरैलाई कता के ? इन्टरनेट, त्यही खालको मोवाइल भन्ने लागेको थियो । तर आज अवस्था फेरिएको छ । बैकंमा लाइन बस्नुभन्दा डिजिटल कारोवारमा सबैको ध्यान केन्द्रीत भएको छ । समयले सबैको फुर्सद खोसेको छ र प्रविधिले कामलाई धेरै हदसम्म सजिलो बनाएको छ ।

गुगल म्यापका सहायताले अहिले हरेक मानिस आफ्नो गन्तव्य कोही कसैलाई एक शब्द नसोधी पुग्न सक्छन् र पुग्न थालेका छन् । विरानो ठाँउमा जाँदा गर्नुपर्ने यात्रामा क्रममा अटो चालक, सफारी चालक वा रिक्सा चालकबाट ठगिनुपर्ने अवस्थाको अन्त्य अहिले करिबकरिब भइसकेको छ ।

संघीय राजधानी जाँदा ट्याक्सी भाँडामा लिन भन्दा सबैलाई पठाओ गर्न सजिलो भएको छ । उभिएका ठाँउमा पहिल्यै दामदस्तुर ठेगान गरेर मान्छे बोक्न सवारी साधन लिएर आइपुग्ने पठाओका राइडरले सहजै गन्तव्य र गल्लीगल्ती घुमाएर चाहेको ठाँउमा पुर्याइदिँदा सबैलाई हाइसञ्चो नै भएको छ । भन्नुको मतलव अब अधिकांशले पठाओलाई गन्तव्यको उपयुक्त सारथी मान्न थालेका छन् ।

पठाओले संघीय राजधानीबाहेक देशमा अन्य सहरहरुमा सेवा विस्तार गर्दै लगेको छ । जो एकदमै सकारात्मक पक्ष हो । प्रदेश राजधानी विराटनगरमा अहिले पनि सिटी चालक वा सफारी चालकबाट विराटगरलाई मिहिन ढंगले नबुझेका र नछिचोलेकाहरु ठगिनु परेको छ ।हिमाली र पहाडी क्षेत्रबाट आएका सर्वसाधारणलाई अनेक गल्ली गुमाएर ठगी गर्नेहरुको विराटनगरमा कमी छैन । जसमा अधिकांश सिटी र सफारी चालक छन् । त्यसरी ठगिएकाहरुलाई विराटनगरवासीप्रति नै नकारात्मक भावनाको विकास हुन पुगेको छ । उपचारका लागि आएकाहरुलाई सिटी चालकले गल्लीगल्ली घुमाएर कमिसन आउने अस्पताल र क्लिीनिकमा पुर्याउँदा उनीहरु भरपर्दो उपचारबाट ठगिनु परेको छ ।

कोशी प्रदेशको राजधानी विराटनगरसहित पूर्वका दमक, उर्लाबारी, बिराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुरलगायतमा शहरमा पठाओ सेवा विस्तार गर्ने खबरले सबैलाई पक्कै खुशी तुल्याएको छ । सार्वजनिक सवारीसाधन भरपर्दौ र विश्वासिलो नभएको अवस्थामा पूर्वमा पठाओले सेवा विस्तार गर्दा पक्कै सबैलाई सुविस्ता हुनेछ ।

कामविहीन युवायुवतीलाई पठाओलगायतका राइड शेयरिंग कम्पनीले केही हदसम्म स्वरोजगार बन्न मद्दत गरेका छन् । कोशी प्रदेशका विभिन्न शहरमा सेवा विस्तार गर्ने तयारी गरेको पठाओलाई प्रदेश सरकार र स्थानीय सरकारले सहयोग गर्नुका साथै नियमन समेत गर्न आवश्यक छ ।

बिहिबार, २२ चैत, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर