विराटनगर । मुख्यमन्त्री केदार कार्कीले गत फागुन ९ गतेदेखि १७ गतेसम्म गरेको हात्तीमैत्री पदयात्राबारे कोशी प्रदेशसभाको सार्वजनिक लेखा समितिले प्रश्न उठाएको छ ।
लेखा समितिको चैत १४ गते बसेको बैठकले गरेको निर्णयको आधारमा हात्तीमैत्री पैदलयात्राबारे पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई ५ बुँदे प्रश्न सोधेको हो ।
लेखा समितिले कार्यक्रममा कुन खर्च शीर्षकबाट कति रकम खर्च गरियो भन्ने प्रश्न सोध्दै कार्यक्रम वार्षिक स्वीकृत बजेट अन्तर्गतको हो कि हैन भन्ने पनि जवाफ मागेको छ । यस्तै समितिले कार्यक्रममा रकम खर्च गर्दा के कस्ता कानूनी र लेखाका प्रक्रिया अवलम्बन गरियो ? कार्यक्रममा प्रदेश संचित कोषबाट खर्च गर्दा भविष्यमा बेरुजू नहुने आधार के के छन् ? र कार्यक्रमबाट हात्ती र मानवबीचको द्वन्द्व न्यूनीकरणका लागि ठोस र मूर्त रुपमा के परिणाम प्राप्त हुने उद्देश्य राखियो तथा पुरा हुने आधार के के छन् ? भनेर सोधिएको छ ।
सार्वजनिक लेखा समितिको अध्यक्षता गर्दै आएका जेष्ठ सदस्य किशोरचन्द्र दुलालले समितिको बैठकमा हात्तीमैत्री पैदलयात्राबारे प्रश्न उठेपछि जवाफ माग गरिएको बताए । ‘बेरुजू आउनु हुँदैन भन्ने लेखा समितिको दृष्टिकोण हो । बजेटमा भएको कार्यक्रमभन्दा बाहिरबाट कार्यक्रम गरेको हो कि भन्ने विषयमा सांसदहरुले कुरा उठाएको कारण हामीले जवाफ माग गरेका हौं,’ उनले भने ।
मुख्यमन्त्री कार्कीसहितको टोलीले झापादेखि उदयपुरसम्मका २४ स्थानीय तह, ५६ सामुदायिक र चार साझेदारी वनक्षेत्र हुँदै २४३ किलोमिटर पैदल यात्रा गरेका थिए । टोलीमा कार्कीसहित पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती, मन्त्रालयका सचिव विशाल घिमिरे, हात्ती विज्ञहरुसहित सहभागी थिए । पदयात्राले मानव हात्तीबीचको द्वन्द्वको कारण पहिचान र समस्या निराकरणमा केन्द्रित रहेको जनाइएको थियो ।
लेखा समितिले प्रदेश सरकारलाई अरु दुई विषयमा पनि जवाफ पेश गर्न पत्राचार गरेको छ । १० वर्ष मुनिका बालबालिकालाई स्वास्थ्य उपचार निःशुल्क गर्ने विषयमा कुन–कुन अस्पतालमा सम्झौता भएको छ र सम्झौता कसरी भएको हो भन्ने प्रश्न लेखाले सोधेको छ । ‘यस्तै शैलजा आचार्य हृदयरोग केन्द्र अस्पताल रहेको ठाउँ कसको स्वामित्वमा छ ? अस्पताल सञ्चालन गरिसकेपछि स्वामित्वमा आउँछ कि आउँदैन ? भनेर सार्वजनिक लेखा समितिले बुझ्न चाह्यो र सोही अनुसार पत्राचार भएको छ’ दुलालले भने ।
मुख्यमन्त्री कार्कीले १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचारका लागि भन्दै बजेटमा ३ करोड रुपैयाँ व्यवस्था गरेका थिए । सोही कार्यक्रम अनुसार बालबालिकाको निःशुल्क उपचारको लागि विराटनगरको विराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज, हाम्रो अस्पताल प्रा.लि., दमकको किओच दमक बाल अस्पताल र झापा भद्रपुरको प्रादेशिक अस्पताललाई तोकिएको छ ।
यस्तै क्यान्सर रोगको निःशुल्क उपचार सुरु गर्ने भन्दै मुख्यमन्त्री कार्कीकै अगुवाईमा विराटनगर १० मा शैलजा आचार्य हृदयरोग केन्द्र अस्पताल सञ्चालनमा ल्याइएको छ । माघ ९ गते उद्घाटन भएको उक्त अस्पतालमा जनशक्ति र डाक्टरको अभावमा सेवा भने प्रभाबकारी छैन ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।