लोड हुँदैछ...

मेनु

कोशीको सरकारबारे चार ठूला दलका चार थरि कुरा

कोशीको सरकारबारे चार ठूला दलका चार थरि कुरा

विराटनगर ।कोशी प्रदेशको वर्तमान सरकारबारे राप्रपा बाहेकका चार ठूला दलको चारथरि कुराले अन्यौलता बढेको छ । संविधानको धारा १६८ को उपधारा (५) अनुसार बनेको केदार कार्की नेतृत्वको सरकार ढाल्न पनि नसक्ने र टिकाउन पनि नसक्ने दोधारे अवस्थामा दलहरु छन् । उनीहरुको मनोविज्ञान यो सरकार विस्थापित गरेर अर्को सरकार बनाइहालौं भन्ने देखिन्छ । तर, त्यसको लागि आफ्नो पोल्टामा के पर्ने हो ? भन्ने लेखाजोखामा दलहरु रहेका छन् ।

सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसकै नेताहरु वर्तमान सरकारलाई छिटोभन्दा छिटो विस्थापित गर्ने अभियानमा लागिरहेका छन् । काँग्रेस नेता तथा प्रदेशसभा सांसद अमृत अर्यालले केही दिन अगाडि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै नयाँ सरकार छिटो बनाउनु पर्ने बताएका थिए ।

काँग्रेसकै कोशी प्रदेशका महामन्त्री तथा प्रदेशसभा सांसद भुपेन्द्र राईले पनि सहमतिको सरकार बनाउने परिस्थिति निर्माण भए विकल्प सोच्न सकिने आशयका अभिव्यक्ति दिएका छन् । ‘यो सरकार अल्पमतमा परिसकेपछि के कसरी जाने भन्ने कुरामा काँग्रेस सोच्न बाध्य हुन्छ । तर, अहिले त्यो परिस्थिति बनेको छैन । यो सरकारप्रति काँग्रेस सन्तुष्ट छैन । नागरिकले र हामीले चाहेजस्तो काम सरकारले गर्न सकेको देखिएको छैन,’ उनले भने, ‘यही सरकारलाई सर्वदलीय बनाएर जान पनि सकिन्छ । अर्को कोणबाट पनि छलफल गर्न सकिन्छ । तर, कुनै एउटा दलले, एउटा सांसदले अर्घेल्याई गरेर संकटमा पार्ने छुट पनि छैन र संकटमा पार्नु पनि सक्दैन ।’

उता, नेकपा एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक महिनाभित्रै यो सरकार विस्थापित हुने बताएका छन् । तर, त्यसका लागि केन्द्रको निर्णय कुर्नु परेको उनको भनाइ छ । ‘नेपाली काँग्रेस आफूलाई प्रजातन्त्र र संसदीय व्यवस्थाको जननी ठान्छ । अहिलेको परिस्थितिमा कुनै पनि बेला पार्लियामेन्ट आव्हान भयो भने विपक्षमा ५८ सांसद र सत्ता पक्षमा २९ हुन्छ । राप्रपा पनि विपक्षमै होला । अनि २९ जना एकातिर बसेर त्यसले वैधधानिकता पाउँछ ? त्यसले संविधानवादलाई आत्मसाथ गर्छ ?,’ कार्कीले भने, ‘उहाँले (केदार कार्कीले) राजीनामा दिनुपर्छ । उहाँ पनि राजनीतिक रूपले अगाडि बढ्न सक्ने मान्छे हो । काँग्रेस त झन् इतिहास संविधान र कानून पालना गर्ने पार्टी हो । उहाँले राजीनामा दिनुपर्छ ।’

उता, केन्द्रीय गठबन्धनकै एक घटक माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो भने अहिले नै सरकार विस्थापित गर्नुपर्ने हतारो नभएको बताउँछन् । ‘हाम्रो प्रदेशको अरु प्रदेश भन्दा फरक स्थिति छ । हामी अहिले उपधारा ५ को सरकारमा छौं । यो उपधारा ५ मा कसले पुर्याएको हो ? यो त एमालेले पुर्याएको हो नि ? माओवादीलाई सरकारको नेतृत्वमा हुन नदिनका लागि यो अवस्था एमालेले पुर्याएको हा । यसको वस्तुनिष्ठ समीक्षा हुनुपर्छ,’ उनले एमालेले चालेका विगतका कदम सम्झाउँदै भने, ‘अर्को कुरा यो सरकारलाई विस्थापित गरेर नयाँ सरकार बनाउने संवैधानिक र कानूनी आधार के हुन् ? यो विषयमा दलहरुका साथै संविधानविद् र कानूनका जानकारहरुसँग छलफल हुनुपर्छ । त्यसपछि कसरी अगाडि बढ्ने भन्ने निष्कर्ष निकाल्न सकिन्छ । अहिले उत्ताउलो र उट्पट्याङ तरिकाले सरकारको विपक्षमा र माओवादीसहित गठबन्धन दलहरु सरकारबाट फिर्ता हुनुपर्छ भनिरहेको अवस्था छ । यो अधैर्यता हो र यसले राजनीतिक निष्कर्ष निस्कँदैन ।’

केन्द्रीय सत्ता गठबन्धनकै घटक नेकपा एकीकृत समाजवादी भने यही सरकारले बजेट ल्याउन सक्ने जिकिर पनि गर्छन् । सत्ताकै लागि अहिलेको गठबन्धन भएको कारण सत्तामा आफूहरुले पाउने भागबण्डाबारे पनि स्पष्ट हुनुपर्ने उनको अडान छ । ‘यो गठबन्धन सत्ता पाउनै लागि भएको हो । सत्ताको भागबण्डा नमिलेसम्म नयाँ सरकार बन्दैन । उपधारा ५ बाट बनेको सरकारले विश्वासको मत लिने व्यवस्था नै छैन,’ उनले भने, ‘नेताले निर्देशन गरेभने हामी त्यसको विपक्षमा विद्रोह गरेर केदार कार्कीले जस्तो गर्दैनौं । तर, माथि सहमति भइगयो अब लु लु हतार हतार गरौं भनेर चाहिं हुँदैन । अबको बजेटलाई चालू आर्थिक वर्षको बजेट जस्तो बनाउनु हुँदैन । त्यसो गर्यो भने सत्ता एउटा कुरा होला समग्र प्रदेशलाई चाहिँ घाटा हुन्छ । त्यसकारण यही सरकारले नयाँ बजेट ल्याउन पनि सक्छ ।’

प्रदेशमा रहेका चार दलका चारथरी कुराले प्रदेशको राजनीति भने अन्यौल छ । सरकार परिवर्तनको हल्लाले प्रभावकारी काम नभइरहेको सरकारी अधिकारीहरु नै बताउँछन् । ‘कर्मचारीले काम नै गर्न छोडिसके । कति दिनको मन्त्री हुने हो टुंगो छैन । यस्तो अस्थिरताले प्रदेशको विकास कसरी हुन्छ,’ प्रदेशकै एक मन्त्रीले भने, ‘यस्तो अवस्था रहिरहनु प्रदेशको लागि घाटा हो ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।