विराटनगर । चैत्र १५ गतेबाट सुरू भएको एसइई परीक्षामा मोरङमा खटिएका परीक्षा केन्द्रका केन्द्राध्यक्षसहित छ जना निरीक्षक कारवाहीमा परेका छन् । मोरङको विभिन्न तीन वटा परीक्षा केन्द्रमा खटिएका उनीहरुमाथि कारवाही भएको हो ।अनुगमनका क्रममा मर्यादाविपरीत परीक्षा सञ्चालन गरेको पाइएपछि विराटनगर ६ मा रहेको शिक्षा सदन स्कुलका केन्द्राध्यक्ष विजय रौनियार कारवाहीमा परे । रौनियारलाई केन्द्राध्यक्षको जिम्मेवारीबाट हटाएर गोग्राहा स्कुलका बेदु खतिवडालाई केन्द्राध्यक्षको जिम्मेवारीमा ल्याइएको छ ।
कारवाहीमा अन्य पाँच जना निरीक्षकहरु पनि परेको शिक्षा समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमलले जानकारी दिए । यसैगरी विराटनगर–११ जनपथ माध्यामिक विद्यालयमा खटिएका दुई जना निरीक्षकलाई कारवाही गरिएको उनले बताए । जनपथका विजय महतो र योगेन्द्र यादव कारवाहीमा परेका हुन् । उनीहरुको ठाउँमा ज्ञान निकुन्ज स्कुलका राजु चौधरी र जनचेतना आधरभूत विद्यालयका विनारानी दाहाललाई निरीक्षक राखिएको छ ।
तोकिएको मापदण्ड पालना गरेको नपाइएपछि केन्द्राध्यक्ष र निरीक्षकहरुमाथि कारवाही गरिएको उनले बताए । एसइई परीक्षा सञ्चालन हुने सामुदायिक विद्यालय भएको खण्डमा सोही विद्यालयमा अध्यापनरत आधारभूत तहका शिक्षकलाई निरीक्षक राख्नु पर्ने व्यवस्था छ । तर जनपथ स्कुलमा जारी परीक्षामा निजी विद्यालयमा अध्यापन गराउने दुई जना निरीक्षक फेला परेका थिए । उनीहरु दुवैजना माध्यामिक तहमा अध्यापन गराउने शिक्षक भएको पाइएपछि कारवाही गरिएको हो ।
जनपथ स्कुलको परीक्षा केन्द्रमा चार वटा विद्यालयका ३६६ जनाले परीक्षा दिँदैछन् । उक्त केन्द्रमा बाल कल्याण विद्या मन्दिर(बिकेभिएम), जेसी बाल सदन, शिक्षा सदन र लक्ष्मीनारयण वेद विद्या आश्रमका विद्यार्थीहरुले परीक्षा दिइरहेका छन् ।
सबैभन्दा बढी बिकेभिएमका २६२ जना विद्यार्थी छन् । लक्ष्मीनारायणका २६, शिक्षा सदनका २२, जेसी बाल सदनका ५० जना विद्यार्थी परीक्षामा भाग लिइरहेका छन् ।
ग्रेड वृद्धिमा ६ जनाले परीक्षा दिँदैछन् । उक्त परीक्षा केन्द्रमा दुई जना सहयाक परीक्षा केन्द्राध्यक्ष र १४ जना निरीक्षक रहेका छन् । २५ जना विद्यार्थी बराबर एक जना निरीक्षक राख्न पाइने मापदण्ड रहेको छ ।
अन्नाय भयो: रौनियार
कारवाहीमा परेका शिक्षा सदन स्कुलका केन्द्राध्यक्ष विजय रौनियारले आफूमाथि अन्याय भएको बताएका छन् ।निष्पक्ष र भयरहित वावतरणमा परीक्षा संचालन गर्दा आफूलाई जिम्मवारीबाट हटाएको उनले बताए । तीन वटा परीक्षा सम्पन्न गराएपछि मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले परीक्षा अवधिभरि विदा बस्नु भनेर निर्देशन दिएको उनले बताए ।
शिक्षा सदनको परीक्षा केन्द्रमा १० वटा विद्यालयका १७२ जना विद्यार्थी रहेका छन् । उक्त परीक्षा केन्द्रमा मेरीगोल्ड, जानकी, मनितारा, देवकोटा, सहभागिया, ग्रिन टी, होलील्याण्ड, गोदावरी, ग्रिन नर्थ पोइन्टका विद्यार्थीले परीक्षा दिँदैछन् ।
सो परीक्षा केन्द्रमा सहायक केन्द्राध्यक्ष एक जना, निरीक्षक नौं जना रहेका छन् । कारवाही पछि सात जनाले परीक्षा सञ्चालन गरिरहेका छन् । उक्त केन्द्रबाट केन्द्राध्यक्ष र एक जना निरीक्षक हटाएका हुन् ।
केन्द्राध्यक्ष रौनियारले पहिलो दिन अंग्रेजी, दोस्रो दिन नेपालीको परीक्षा सञ्चालन गरेका थिए । आइतबार तेस्रो दिन गणितको परीक्षामा गडबडी भएको पाइएपछि उनी जिम्मेवारीबाट हटाभ्यएका हुन् ।
मोरङमा ७० वटा परीक्षा केन्द्रबाट एसइई परीक्षा सञ्चालन भइरहेको छ ।