मेथी खानु फाइदै फाइदा

  स्नेहा खरेल

तीतो स्वाद भएका अधिकांश खाद्य पदार्थहरु हाम्रो स्वास्थ्यका लागि अति नै फाइदाजनक हुन्छन् । स्वाद मा जति तितो,त्यति नै स्वास्थ्यवर्धक – जस्तै करेला, नीम, मेथी आदि । मेथी साग तथा मसलाको रूपमा प्रयोग गरिने वनस्पति हो । मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ हो । मेथी शरद् तथा शीतकालीन मसलाबाली हो । यसको वृद्धि र विकासका लागि चिसो, तुषारो रहित हावापानी चाहिन्छ । नेपालमाबढी खेती स्थानीय जातकै मेथी गरिन्छ तर पनि राजेन्द्र क्रान्ति, पुसा अर्लि बन्चिङ्ग, हिसार सोनाली, को.१, लाम सेलेक्शन १, आर एम टि–१, आर एम टि–१४३ जातहरु नेपालमा भित्रिएका छन् । आयुर्वेदमा मेथीलाई बहुगुणी औषधीको रूपमा प्रयोग गर्ने गरिन्छ ।

मेथीको दानामा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, जिंक, फोस्फरोस, फोलिक एसिडजस्ता मिनरल्सका साथै भिटामिन ए, बी र सी पनि पाइन्छन् । यसका साथै, यसमा भरपूर मात्रामा फाइबर्स, प्रोटिन, स्टार्च, सुगर, फस्फरोस एसिडजस्ता पौष्टिक तत्व पाइन्छ ।एन्टि–अक्सिडेन्ट र एन्टि–इन्फ्लेमेट्री पर्याप्त मात्रामा समावेश भएको मेथी शरीरका लागि अति नै फाइदाजनक हुन्छ । धेरैजसो मानिसहरुलाई पेटसम्वन्धि समस्याले हैरान पार्छ । मेथीको हरियो साग खाँदा हाम्रो पाचनतन्त्रले सुचारुरुपमा काम गर्नुका साथै कब्जियत वा ग्यास्ट्रिक जस्ता समस्याबाट छुट्कारा दिलाउँछ । मेथीमा फाइबर र एन्टि–अक्सिडेन्ट पर्याप्त मात्रामा हुन्छ, जसका कारण शरीरमा समावेश टक्सिनहरुलाई बाहिर निकाल्न सहयोग पु¥याउँछ । अनुहारको सुन्दरता बढाउनमा पनि मेथी प्रभावकारी हुँन्छ । यसलाई पिसेर अनुहारमा लगाउँदा त्वचामा चमकका साथै ओसिलोपन आउँछ । रुखो त्वचा हुनेहरुका लागि यो अत्यन्त लाभप्रद हुन्छ । मेथीमा पाइने एन्टिब्याक्टेरियल पदार्थले हामीलाई रुघाखोकी र भाइरल ज्वरो बाट बचाँउछ । मेथीको दानामा पोटासियम काफी मात्रामा पाइन्छ जसले शरीरमा सोडियमको मात्रा नियन्त्रण गर्दछ र रक्तसञ्चार राम्रो बनाउन मद्दत गर्दछ । मेथीमा पाइने एमिनो एसिडले शरिरमा इन्सुलिनको मात्रा नियन्त्रण गर्न मद्दत गर्दछ जसले डायविटिज हुने सम्भावना कम गर्दछ ।

पेटमा किरा परेको बेलामा पनि मेथीले एउटा सटिक औषधीको काम गर्छ । यसमा धेरै मात्रामा फोस्फेट, लोसिथिन, भिटामिन एवं आइरन पाइन्छ जसले मानवीय शरीरको आवश्यकताहरू पूरा गर्न मद्दत गर्दछ । सो कारण यसको सेवन गर्नु उचित रहन्छ । मेथीको दानामा कपाललाई मजबुद गर्ने क्षमता हुन्छ । यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ जसले हाम्रो शरीरलाई पनि उर्जा दिन्छ । यसको पेष्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा यसले कपाल झर्न रोक्छ । त्यसो त मेथीलाई धूलो बनाएर पनि प्रयोग गरिन्छ । मेथीको चिया बनाएर पिउन र मेथीलाई उमारेर पनि खान सकिन्छ । त्यस्तै मेथीलाई महसँग पनि सेवन गर्न सकिन्छ ।

मेथी पानी बनाउने तरिका :

१.मेथी पानी बनाउन एउटा ठुलो कचौरामा पानी हाल्ने र दुई चम्चा मेथीको दानालाई त्यो पानीमा हालेर रातभरी भिज्नका लागि छाडिदिने । बिहान उठेर पानीलाई छानेर खाली पेटमा पिउने ।

२.एक चम्चा मेथीको दानालाई प्यानमा तेल नहालीकन भुट्ने र ब्लेन्डरमा हालेर त्यसको धूलो बनाउने।एक गिलास तातो पानीमा एक चम्चा मेथीको धुलो हालेर हरेक दिन बिहान खाली पेटमा त्यो पानी पिउने । मेथीले शरीरमा समावेश नराम्रो कोलेस्ट्रोललाई कम गरेर राम्रो कोलेस्ट्रोललाई बढाउने काम गर्छ । यसले ट्राइग्लिसराइडको स्तरलाई पनि कम गर्छ र शरीरमा बोसो जम्न रोक्छ ।

२÷३ महिनासम्म हरेक दिन नियमित रुपले मेथी पानीको सेवन गर्ने हो भने निश्चित रुपमा शरीरमा एचडीएल अर्थात राम्रो कोलस्ट्रोल बढ्न थाल्छ र सम्पुर्ण कोलेस्ट्रोल लेभल पनि धेरै कम हुन्छ ।

सोमबार, १९ चैत, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर