लोड हुँदैछ...

मेनु

अर्यालको कुबेलाको घरदैलो

अर्यालको कुबेलाको घरदैलो

नेपाली कांग्रेसका नेता अमृत अर्याल विराटनगरमा स्थापित नाम हो । कोइराला परिवारमा रहेको मोेरङ काग्रेसको नेतृत्व आफ्नो हातमा ल्याएपछि अर्यालको चर्चा देशैभरी भयो । नेपाली कांग्रेस मोरङमा कोइराला परिवारले जो भन्यो, त्यहि जिल्ला सभापति हुन्थे । तर, अर्यालले कोइराला परिवारकै नेता अशोक कोइरालालाई पराजित गर्दै सभापति भएपछि मोरङमा मात्रै होइन देशैभरी हंगामा भएको थियो । केन्द्रीय पार्टीको सभापति गिरिजाप्रसाद कोइराला भएकै बेला मोरङमा अर्यालले जित्नु चानचुने कुरा थिएन । चार दशक लामो राजनीतिमा उनी सभापति भएपछि झन्डै एक दशक मोरङमा उनको रजगज भयो ।

मोरङका सिडियो, एसपी अर्यालको सहमतिविना काम गर्न सक्दैनथे । तर, यो पछिल्लो दशक उनको ओरालो यात्रा सुरु भएको छ । संघीय सांसद र प्रदेश सांसदमा निर्वाचित भएपनि उनले मन्त्री पाउन सकेनन् । प्रदेशको मुख्यमन्त्री हुने लाइनमा रहेका अर्याल संसदीय दलको नेतामा दुई मत मात्रै ल्याएपछि झन् ओरालो लागे । प्रदेशको राजनीतिमा सांसदहरुको अंकगणित महत्वपूर्ण बन्दा उनले कुनै भूमिका देखाउन सकेनन् । उनीभन्दा जुनियरहरु निर्णयक र पावरफुल बन्दैगए । कोशी प्रदेशमा सत्ता लुछाचुँडीका खेलहरु चलिरहँदा अर्यालका दौडधुप कामयावी भएनन् । नेकपा एमालेले सविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार बनाउने बेलामा उनलाई पहिलो अफर दिएको थियो । तर, उनले काँग्रेसका ३ जना पनि सांसद आफ्नो पक्षमा जुटाउन सकेन्न ।

अर्यालले ३ सांसद जुटाउन सकेको भए राप्रपा र एमालेको समर्थनमा सरकार बन्ने परिस्थिति थियो । त्योसमेत उनले गर्न सकेनन् । अहिले फेरि केन्द्रमा गठबन्धन फेरिँदा प्रदेशमा पराकम्प उत्पन्न भएको छ । केदार कार्की नेतृत्वको सत्ता रहने कि नरहने भन्ने बहस चलिरहेको बेला केन्द्रीय गठबन्धनले कोशी प्रदेशमा नयाँ सरकार बनाउने तयारी गरिरहेको छ । केन्द्रमा भागबन्डा टुंगिने बित्तिकै केन्द्रीय गठबन्धनको सरकार बनाउने सबैधानिक व्यवस्थाहरुको खोजी सुरु हुनेछ र कोशी प्रदेश फेरि नयाँ कोर्समा जानेछ । यस्तो परिस्थिति देख्दादेख्दै कांग्रेस नेता अर्याल भने मुख्यमन्त्री माग्दै एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट गएको खबर बाहिरिएको छ । यसले उनको राजनीतिमा प्लस या माइनस के गर्छ, त्यो त भविष्यले देखाउला । तर, अहिलेलाई भने कुबेलाको दौड मात्रै भन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।