सुरक्षा मापदण्ड पालना गर्दै विराटनगरमा रात्रीकालिन व्यवसाय सञ्चालनको ढोका खोल्ने प्रयासमा विराटनगर महानगरपालिका जुटेको छ । अहिले विराटनगरमा रातको ८ बजेपछि बजार बन्द भइसक्छ भने होटल व्यवसाय ९ बजेसम्म बन्द नभए ढोका ढक्ढक्याउन प्रहरी पुगिसकेको हुन्छ । प्रदेशको राजधानी विराटनगरमा रहेको विराटनगर विमानस्थल रात्रीकालिन रुपमा सञ्चालन हुनेगरि स्तरोन्नती भइसकेको छ । रातको समयमा विमान उडानको तालिका नभएपनि मौसमको कारण राति १० बजेसम्म उडान र अवतरण सहजै भइरहेको छ । जबकि बजार भने त्यसअघि नै बन्द भइसक्छ । छिट्टै बजार बन्द गर्ने कुरालाई स्थानीय प्रशासनले सुरक्षाको कारण देखाउने गरको छ । सुरक्षा त्यो हो, जसमा नागरिकले आफ्नो व्यवसाय सबै समयमा निर्बाध रुपमा सञ्चालन गर्न सकोस् । यो अवस्थामा राति १२ बजेसम्म बजार सञ्चालनको वातावरण बनाउने विराटनगर महानगरको प्रयास सकारात्मक छ ।
सुरक्षा चुनौती केहि बढ्न सक्छ । स्वभाविक हो । चुनौतिमै नागरिकलाई सुरक्षा प्रदान गर्नु सरकारको जिम्मेवारी हो । नागरिकलाई घरभित्र पठाएर सुरक्षा प्रदान गरेको वातावरण प्रदान गर्नु गलत हो । केहि न केहि फेरबदल हुनसक्ने संभावना भएपनि रात्रीकालिन होटल व्यवसाय सञ्चालनपछि विराटनगरले लाभ लिनसक्ने सभावना उच्च छ । भारतसँग सीमा जोडिएको शहर विराटनगर प्रादेशिक राजधानी हो । स्वभाविक रुपमा राजनीतिक चहलपहल बढी छ । प्रादेशिक राजधानीसँगै यहाँका गतिविधिमा फरकपन देखिन्छन् । ती सबै कुराले सुरक्षा संवेदनशीलता स्वभाविक मानिन्छ । तर, अवसरहरुको सिर्जना नगरी प्रादेशिक राजधानीको महत्व पनि स्थापित हुनसक्दैन । रात्रीकालिन होटल व्यवसाय सञ्चालन पनि अवसर सिर्जना गर्ने एउटा माध्यम हो । त्यसका लागि स्थानीय सरकारले आफ्नो पेरीफेरिलाई चलायमान बनाउन पहल गर्नु जरुरी थियो । त्यो पहल विराटनगर महानगरपालिकाले लियो, त्यसको प्रभाव सकारात्मक हुनसक्ने देखिन्छ ।
रात्रीकालिन होटल व्यवसाय सञ्चालन गर्दा जनशक्ति परिचालन संख्या बढ्नसक्छ । अर्को महत्वपूर्ण कुरा छिमेकी देश भारतमा लगाइएको कतिपय बन्देजको लाभ विराटनगरले लिनसक्छ । त्यसैपनि भारतबाट साँझपख विराटनगर आउने र केहि समय बिताएर फर्कनेहरुको संख्या बढ्दो छ । रात्रीकालिन होटल सञ्चालनले उनीहरुको बसाईको समय लम्बिनसक्छ । पर्यटकले गर्ने खर्च बढ्दा त्यसको फाइदा होटल व्यवसायमा प्रत्यक्ष र अर्थतन्त्रमा सकारात्मक चयानमान हुनसक्छ । भारतीय रुपैँयाको अभाव बजारमा सहजै हट्नसक्ने अवस्था सिर्जना हुँदा त्यसको फाइदा अर्थतन्त्रमा सकारात्मक हुन्छ । आन्तरिक रुपमा पनि यसको महत्व छ । औद्योगिक क्षेत्रसँग जोडिएको विराटनगरमा दिनभर काम गरेर ८ बजेपछि पारिवारिक जमघट गर्ने अवसरको सिर्जना जरुरी थियो । उद्योगी–व्यवसायीहरुले यो माग लामो समयदेखि गर्दै आएका थिए । विराटनगरमा होटल व्यवसायमा नयाँ अवधारणासहितको लगानी आकर्षण हुने संभावनासमेत उत्तिकै छ । पछिल्लो समय फस्टाएको रेष्टुरेन्ट कल्चरमा थप परिस्किृत हुनसक्छ ।
व्यवसायीलाई एउटा आचारसंहिता र मापदण्डभित्र राखेर उसले चाहेको अबधिसम्म व्यवसाय सञ्चालन गर्ने वातावरण सिर्जना गर्नु सरकार र प्रशासनको जिम्मेवारी हो । यसले विराटनगरको व्यवसाय, पर्यटन र व्यापारमा पनि सुधार ल्याउने संभावना हुन्छ । विराटनगरको व्यापार र व्यवसाय सुस्ताएको अवस्थाबाट माथि उठाउन पनि यो निर्णय कार्यान्वयन भएमा सहयोग पुग्नेछ । यहाँको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म होटल र १० बजेसम्म अन्य व्यवसाय सञ्चालन गर्न दिने निर्णय जिल्ला सुरक्षा समितिको अनुमोदनपछि कार्यान्वयनमा जानेछ । यो निर्णय कार्यान्वयन हुनुपर्छ । यसअघि महानगर आफैंले गरेका निर्णय कार्यान्वयन नभएको तितो यथार्थता छ । आफैंले गरेका निर्णयबाट महानगर पछि हट्ने गरेको छ । चाहे, बजार क्षेत्रमा पार्किङ गर्न नदिने निर्णय होस् वा सीमापारी किनमेल गर्न जाने स्थानीयलाई रोक्ने प्रयास होस् । महानगरले आफैंले गरेको निर्णय कार्यान्वयन गर्न नसकेको विगत छ । रात्रिकालिन बजार सञ्चालन गर्ने निर्णयको पनि त्यहि नियती नहोस् । निर्णय कार्यान्वयन गर्न महानगर सक्रिय बनोस्, त्यसमा सरोकारवाला सबैको सहयोग जुट्नुपर्छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।