अर्जुन आचार्य
विराटनगर । विराटनगर ५ निवासी उद्धवबहादुर केसी उमेरले ५५ वर्ष पार गर्दै थिए । ५६ वर्षसम्म बाँच्ने नबाँच्ने टुंगो थिएन । तर, उनी अहिले ६० वर्ष पूरा भएर ६१ वर्षमा प्रवेश गरेका छन् । उनी आफू बाँचेका मात्रै छैनन् । उनी एक्लै सचेतना अभियान लिएर दौडिरहेका छन् ।
२०७६ साल फागुन । कोरोना महामारीको पहिलो लाकडाउनले संसार आक्रान्त थियो । नेपाल पनि आक्रान्त नहुने कुरै थिएन । घरबाहिर कोहीपनि मानिस निस्कन सक्दैन थिए । चैत्रदेखि सरकार आफैंले देशभर लकडाउन घोषणा गरेको थियो । अस्पतालमा मानिसहरुले उपचार नपाइ कोभिडका कारण मृत्युवरण गर्नुपरेको थियो । अक्सिजनको अभाव, डाक्टरको अभाव उत्तिकै थियो ।
त्यस्तै कष्टपूर्ण समयमा उद्धवबहादुर केसीलाई मुखको क्यान्सर भयो । त्यो पनि चौथो स्टेजको । उनको कोशी प्रदेशमा उपचार सम्भव थिएन । कि दिल्ली जानुपर्ने कि त चितवनको भरतपुर क्यान्सर अस्पताल जानुपर्ने अवस्था आयो । तर, कोभिडको समयमा जाने कसरी ? धेरै कष्टका साथ उनी भरतपुर अस्पताल भर्ना हुन पुगे र उनलाई चौथो स्टेजको क्यान्सर विरुद्ध रेडिएसन दिन सुरु गरियो ।
उनका आँखै अगाडि रेडिएसन दिँदादिँदै कतिपयले प्राणत्याग गरे । पहिलो, दोस्रो र तेस्रो स्टेज होइन उनलाई चौथो स्टेजको क्यान्सर थियो । उनको पनि प्राण आज हो कि भोली जाने हो भन्ने आशङ्का र डर थियो । तर, उनले आत्मविश्वास जागृत गराए, हिम्मत गरे । रेडिएसनको असरलाई पचाए । अहिले विराटनगरको बजारमा ठमठम हिंडेर सरसफाइका कुरा गर्छन् । क्यान्सर विरुद्धको सचेतना जगाउँछन् र भन्छन् ‘चुरोट, खैनी र गुट्खा खाँदै नखानु । सरकारले यसलाई बिक्री वितरणमै प्रतिबन्ध लगाउनु पर्छ ।’
कसरी भयो क्यान्सर ?
केसी पेशाले वकालत गर्दथे । हाल विभिन्न कारणले पेशा अवरुद्ध भएको उनी बताउँछन् । उनी सानैदेखि विद्रोही स्वभावका थिए । सरसफाइ भनेपछि हुरुक्कै हुन्थे । ‘म सानैदेखि विद्रोही र सफाइ भनेपछि हुरुक्कै हुने मान्छे हुँ । गाईको गोठमा मटितेल र डिटोल छर्किन्थें । कुकुरलाई लक्स साबुनले नुहाइदिन्थें,’ त्यसबेलाको अनुभव सुनाउँछन्, ‘कुकुरलाई लक्स साबुनले नुहाइदिएको देखेर मेरो घरमा काम गर्ने मुसहर समुदायका मजदुरहरु मलाई गिज्याउँथे र भन्थे हामीलाई घरमा खान छैन कुकुरलाई लक्सले नुहाउँछ ।’
सरसफाइप्रति उनी यति धेरै लगनशील हुनुमा उनका गुरु चन्द्रनन्दन बरालको प्रेरणा हो । उनी पढ्ने स्कुलमा गुरु चन्द्रनन्दन विद्यार्थीले गरेको फोहोर सफा गर्दै हिंड्ने गरेको केसी सुनाउँछन् । तर, सरसफाइ र स्वास्थ्यमा त्यति धेरै ख्याल गर्ने मान्छे केसीलाई नै लाग्यो प्राणघातक रोग ‘क्यान्सर’ ।
उनलाई मुखको गिजाको समस्या (पाइरिया) थियो । त्यस्तो मान्छेले खैनी खानु भनेको झनै जोखिम निम्त्याउनु हो । स्वस्थ मानिसले पनि खैनी खानु नराम्रो कुरा हो । त्यति खराब चिजको लत उनलाई साथी संगतबाट ३० वर्षको उमेरतिर लाग्यो । ‘जतिबेला मलाई कुनै कुराको प्रभाव थिएन । म आफैं उन्मुक्त थिएँ । स्वच्छन्द थिएँ । त्यहीसमयमा मैले खैनी खान सुरु गरेको हुँ,’ उनले विगतका कुरा सुनाए । वकालत पेशा सुरु गर्दासम्म उनी कुलतमा फसेका थिएनन् । तर, वकालत पेशा सुरु गरेपछि खैनी खान सुरु गरे । उनी २०५३ सालमा अमेरिका गए । अमेरिकामै मजदुरी गर्ने क्रममा अत्याधिक खैनी सेवन गरेको उनी आफैं स्वीकार गर्छन् ।
उनी मुखमा खैनी हालेर रातभर सुत्दथे । बिहान उठ्दा खोस्टा जस्तो हुन्थ्यो । त्यसबेला उनलाई धेरैपटक खैनी छोड्न मन लागेको थियो । ‘खैनी छोड्न करोडौं पटक किरिया पनि खाएँ । तर, खैनी छुटाउन सकिन । किनकी मलाई नशा लागेको थियो । शरीर कुतकुत्याउँथ्यो । औडाहा हुन्थ्यो,’ उनले भने, ‘मुखभित्र रहेको गालाभित्रको केस भन्दा सानो नसालाई खैनीमा मिसाएको चुनले च्यातिदिन्छ र चह¥याउँदा लाग्ने नशा नै खतरनाक हुन्छ । मुख गन्हाउने समस्या खतरनाक हुन्छ । यसले श्रीमान् श्रीमतीमा समेत समस्या निम्त्याउँछ ।’
उनको बुबा विष्णुप्रसाद खत्री क्षेत्रीको पनि आहार नलीको क्यान्सरबाट मृत्यु भएको हो । उनलाई पनि क्यान्सर लाग्नुको कारण खैनी नै हो । ‘बुबालाई उपचारको लागि भरतपुर क्यान्सर अस्पताल लगेर राखेपछि त्यस्तै हुने डरले मैले खैनी खान छोडेको थिएँ । तर, पछि अरू मरेपनि म मर्दिन भन्ने भावना जागृत भयो र कालले कुत्कुत्यायो,’ उनी आफैंप्रति आक्रामक ढंगले प्रस्तुत हुँदै भन्छन् ।
त्यसबेला नै उनले क्यान्सरबारे जानकारी दिने पुस्तक किनेका थिए र पढे पनि । क्यान्सर कसरी लाग्छ । त्यसका लक्षणहरु के के हुन् भन्ने अवस्था पनि त्यहाँ थियो । त्यही किताबमा लेखिएको थियो । गिजामा सेतो दाग जस्तो जब देखिन्छ त्यो क्यान्सरको लक्षण हो । उनलाई पनि त्यस्तो भएको थियो । त्यसबेलै खानलाई असहज हुने, निल्न असहज हुने भएको थियो । तर, उनले त्यसबेला थाहा पाएर पनि औषधि प्रयोग गरेर उनी खाना खान्थे र त्यो लक्षणप्रति अनदेखा गर्थे । ‘पछि मैलाई धेरै अप्ठ्यारो पर्नथालेपछि ऐना हेर्दा आफैंलाई डर लाग्यो । त्यसपछि कोशी अस्पतालमा गएर जचाएँ । उहाँहरुको कुराले पनि शंकाको घेरामा राखेर बायोस्पी गर्नका लागि सुझाव दिनुभयो । कोभिडको समयमा कुनै पनि अस्पतालले गर्न मानेका थिएनन् । तर, न्यूरो अस्पताल विराटनगरले बोयोस्पी गराइदियो । पछि थाहा भयो क्यान्सर नै हो भनेर । मेरो क्यान्सर चौथो स्टेजमा पुगिसकेको थियो,’ उनले सुनाए । त्यसपछि भरतपुर अस्पतालको बसाइ उनको कम चुनौतीपूर्ण थिएन । एकातिर कोरोना र लकडाउनको अवस्था अर्कोतिर क्यान्सरसँग संघर्ष गर्नुपर्ने चुनौती उनीसामू ठूलो थियो । तर, उनले क्यान्सरलाई जितेरै छाडे ।
‘चौथो स्टेजको क्यान्सरलाई जित्नु भनेको कोशीमा हाम्फालेर बच्नु जस्तै थियो । तर, म बाँचेँ । अहिले पनि म पाकेको केरासम्म खान सक्दिन । म बाँचेको हिम्मत र आत्मविश्वासले हो,’ उनले सुनाए । अझै पनि उनी ६–६ महिनामा फलोअपको लागि नयाँ दिल्ली गइरहेका छन् । पेटसिटी परीक्षण भरतपुर अस्पतालमा पनि छैन । त्यही भएर उनले दिल्ली जानु परेको हो । ‘एक पटक क्यान्सर लागेपछि पाँच वर्षसम्मको परीक्षणमा पनि देखिएन भनेमात्रै क्यान्सर मुक्त भइन्छ,’ उनले सुनाए, ‘दुई पटकको जाँचमा त मलाई देखिएको छैन ।’
अहिले उनकोे मुखबाट थुक आउँदैन । थुक नबन्नुको कारण भनेको सलिभा ग्लेण्ड (¥याल ग्रन्थी) नै फालिएर हो । त्यस ठाउँमा छातीको मासु झिकेर गालामा हालिदिएको उनी सुनाउँछन् । ‘अहिले पनि त्यो मासु टालेको ठाउँमा अत्यधिक दुख्छ । त्यही भएर म पाकेको केरासम्म खान नसक्ने अवस्थामा छु,’ उनले भने ।
अहिले उनी सूर्तिजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउनु पर्ने पक्षमा वकालत गर्दै आएका छन् । ‘खैनी, चुरोट, गुट्खाबाट करोडौं कर संकलन गरेर राज्यका मानिसहरु मोजमस्ती गर्ने, गाडी चढ्ने, देशविदेश जाने तर, त्यो चिजलाई बिक्री वितरण गर्नलाई रोक लगाउँदा पनि न्यायाधिशले व्यापारी उद्योगीको पक्षमा फैसला गर्छ । त्यो गलत हो,’ उनी भन्छन्, ‘विश्वमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको जीवन हो । त्यो जीवन समाप्त गर्नका लागि, अस्तित्व समाप्त गर्ने खैनी, गुट्खा र चुरोट बिक्री गरेर सरकारले बेण्ड गर्न किन सक्दैन ? जसले यो कुरा आवश्यक भन्छ उनीहरु एक पटक भरतपुर क्यान्सर अस्पताल वा दिल्लीको राजीव गान्धी अस्पताल जाउन् ।’ क्यान्सरबाट मुक्ति पाउन उनले १२ लाख जति खर्च गरे । त्यो भन्दा कैयौं धेरै दुःख र कष्ट व्यहोरे । तर, अहिले उनी मुक्त भएका छन् र सरसफाइ अभियानमा पुनः जोडिएका छन् ।
उनले ०६३ सालयता निरन्तर सरसफाइ अभियान चलाइरहेका छन् । नेपालमा शान्ति प्रक्रिया सुरु हुने वित्तिकै देखि उनले नाला सफाइ गरौं, घर, पेटी सफा गरौं भन्दै मोटरसाइकलमा हर्न लगाएर बजार घुमाउँथे । अहिले पनि उक्त अभियान जारी रहेको उनी सुनाउँछन् । यस्तै उनी विश्व क्यान्सर विरुद्धको दिवसको दिन आइतबार विभिन्न जनचेतनामूलक कार्यक्रममा सहभागी हुने सुनाउँछन् ।