काठमाडौं । केएमसी अस्पतालले आवासीय चिकित्सक विशद दाहालमाथिको निलम्बन फिर्ता लिने भएको छ।
बुधबार बिहान भएको वार्तापछि अस्पताल निलम्बन फिर्ता लिने भएको हो । वार्ता टोलीमा अस्पताल व्यवस्थापनको तर्फबाट प्रबन्धक नारायणप्रसाद दाहाल, केपी शर्मा र लक्ष्मण अधिकारी तथा निलम्बनमा परेका चिकित्सक डा.विशद दाहाल रहेका थिए ।
केएमसीले पीजी दोस्रो वर्षमा अध्ययनरत आवासीय चिकित्सक डा. विशदलाई अनुशासन उल्लंघन गरेको र कर्तव्य पालना नगरेको भन्दै पुस १२ गते एक महिनाका लागि निलम्बन गरेको थियो । उनको निलम्बन नियमसंगत नभएको भन्दै केएमसीमा पीजी पहिलो र दोस्रो वर्षका आवासीय चिकित्सकले आन्दोलन गरेका थिए । दाहालको निलम्बन आजैदेखि फिर्ता लिने भएपछि आन्दोलनमा रहेका ८१ जना चिकित्सक तथा कर्मचारी काममा फर्किन तयार भएको प्रबन्धक दाहालले बताए ।
डा. बिशदको निलम्बन फिर्ता लिनको लागि हिजो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले निर्देशन दिएका थिए।

