विराटनगर । आफ्नै अनुयायीलाई बलात्कार गरको अभियोगमा सुनसरीको बराहक्षेत्र निवासी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन दर्ता भएको छ ।
सुनसरी जिल्ला अदालतले गत भदौमा गिरीलाई सफाइ दिने निर्णय गरेकोमा त्यसविरुद्ध सुनसरी जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन गरेको हो ।
गिरीले २०७६ कात्तिक ४ गते राति आफ्नै अनुयायीमाथि जबरजस्ती करणी गरेको आरोप लागेको थियो । सो मुद्दामा गिरीलाई सुनसरी जिल्ला अदालतले गत भदौ २७ गते सफाइ दिएको थियो ।
जबरजस्ती करणीको आरोप लगाउने व्यक्तिले नै प्रमाणको भार पुर्याउनुपर्ने भन्दै जिल्ला अदालतले गिरीमाथिको आरोप प्रमाणित हुन नसकेको भन्दै उनलाई सफाइ दिएको छ । जिल्ला अदालत सुनसरीले दोस्रो पटक मुद्दाको सुनुवाई गर्दै उनलाई सफाइ दिएको हो ।
सुरुमा पनि सुनसरी जिल्ला अदालतले उनलाई सफाइ दिएको थियो । जिल्ला अदालतले सिद्धबाबाले भक्तजनमाथि करणी गरेको भएपनि बलात्कार नभएको भन्दै सफाइ दिएको थियो । सुनसरी जिल्ला अदालतका तत्कालिन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले पीडित पक्षका कानुन व्यवसायीको बहस नै नसुनी सफाइ दिएका थिए ।
सहमतिमा करणी भएको भन्ने सुनसरी जिल्ला अदालतको सुरुको फैसलाविरुद्ध पीडितका तर्फबाट उच्च अदालत विराटनगरमा २०७७ फागुनमा पुनरावेदन दर्ता भएको थियो । गिरीले पनि सहमतिमा यौन सम्बन्ध राखेको भनी जिल्ला अदालत सुनसरीले गरेको फैसला खारेज गर्न र आफूलाई ब्रह्मचारी घोषणा गर्न माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।
पुनरावेदन दर्ता भएपछि उच्च अदालत विराटनगरले सिद्धबाबालाई पुनः थुनामा पठाएको थियो । उच्च अदालत विराटनगरले २०७९ जेठ ३ गते फैसला सुनाउँदा मुद्दालाई पुनः जिल्ला अदालत सुनसरीतिरै फर्काइदिएर सुरुदेखि नै सुनुवाईको आदेश दिएको थियो ।
उच्च अदालतका न्यायाधीशद्वय किरणकुमारी गुप्ता र सत्यमोहन जोशी थारुले मुद्दा फिर्ता आएको मुद्दामा जिल्ला अदालतले सिद्धबाबालाई दोस्रो पटक गत भदौमा सफाइ दियो । जिल्लाले दिएको सफाइविरुद्ध पुनः मुद्दा उच्च अदालत विराटनगरमै आइपुगेको हो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।