विराटनगर । जाडो बढेर रातिको समयमा विराटनगरको तापक्रम १३ डिग्रीमा झरेको छ । बाक्लो हुस्सुसँगै रातभरी सित चुँहिन थालेको निकै दिन भइसकेको छ । दिनभरी मधुरो घाममा श्रम गरेर साँझ घर फर्केपछि विराटनगर १२ को बखरीस्थित ऋषिदेव बस्तीकी ४५ वर्षे सावित्री ऋषिदेवलाई रात कसरी कटाउने हो भन्ने छुट्टै चिन्ताले सताउँछ । पाँच छोरी र एक छोराकी आमा सावित्रीलाई रातिको चिसोमा छोराछोरीलाई कसरी न्यानो बनाउने अनि राति निदाएर भोलि कसरी काम गर्ने भन्ने दिनहुँको चिन्ता छ ।
बिहानै उठेर अरुको घरमा भाँडा माझ्नु पर्ने उनको काममा कचमचिएको रातिको निद्राले बाधा पार्छ । घरमा पर्याप्त ओड्ने ओछ्याउने कपडा नहुँदा उनीहरु मुस्किलले रात काट्छन् । धेरै परिवार संख्या भएका कारण पतिले सिटी रिक्सा चलाएर कमाएको पैसाले पर्याप्त सामान जोड्न सकेकी छैनन् सावित्रीले । त्यसैले उनी पनि केही घरमा भाँडा माझेर पतिको कमाइमा थपथाप पार्छिन् । बाँकी रहेको समयमा खेतमा मौसमी मजदुरको रुपमा काम गर्छिन् ।
जाडो महिनामा चाहिने पर्याप्त लत्ताकपडा नहुँदा उनीहरु अबेरसम्म घुर बालेर शरीर तताउँछन् ।
विराटनगर वडा न. १२ बखरीमा २५ वटा घर भएको ऋषिदेव समुदायको बस्तीमा बस्दै आएकी सावित्री र उनीजस्तै अरु धेरैको अवस्था उस्तै छ । सबैको समस्या समान नै देखिन्छ । परालको छाना र माटोले लिपेको टाटीभित्र बस्ने उनीहरु विराटनगर सहरका विपन्न नागरिकहरु हुन् । धेरैजसो समय गर्मी हुने भएपनि झण्डै चार महिनाको चिसोयाम कटाउन उनीहरुलाई हरेक वर्ष यस्तै सास्ती हुन्छ । ‘गर्मीमा त पातलो कपडाले काम चल्छ तर जाडोमा समस्या हुन्छ,’ सावित्रीले भनिन् ।
सावित्री मात्र होइन त्यहीँकी ३५ वर्षे अमिता ऋषिदेवको दुःख पनि यस्तै छ । उनी भन्छिन्, ‘हामीलाई जाडोमा जीविका चलाउन निकै कठिन हुन्छ, कहिलेकाँही दाताहरुले कपडा बाँड्छन् त्यसले पनि निकै सजिलो हुने गरेको छ तर यस पटक गाउँमा कोही पनि कपडा लिएर बाँड्न आएका छैनन् ।’ विभिन्न संघसंस्थाले बेला बेलामा वितरण गर्ने यस्ता सामग्रीका लागि आश गर्ने गरेको उनीहरुको भनाइबाट बुझ्न सकिन्छ । अमिता भन्छिन् ‘घरमा ओड्नको लागि गतिलो सिरक छैन, कमाएको पैसा खान र छोराछोरीको औषधि उपचारका लागि ठिक्क हुन्छ, अरु कुरा सोच्न र जोड्न सक्ने अवस्था छैन ।’
स्थानीय २० वर्षे आशिका ऋषिदेव भन्छिन्, ‘जाडो महिनामा लगाउनका लागि बालबालिकाहरुले मोटो लुगा लगाउन सक्ने अवस्था पनि छैन, अहिले पनि तपाइँहरु देख्नुहुन्छ कि सबै बालबालिकाहरु गर्मीमा लगाउनेजस्तो पातलो लुगामै खेलिरहेका छन् ।’

