विराटनगर । मोरङको बेलबारी नगरपालिका–३ स्थित १५ शैय्याको कोशी प्रदेश प्रहरी अस्पताल रातारात सुनसरीको इनरुवामा सारिएको छ ।संचालनमा आएको ९ महिनापछि मंगलबार मध्यराति स्थानीय पालिकासँग कुनै समन्वय र सल्लाह नगरी प्रहरीले संचालन गरेको प्रदेशस्तरीय प्रहरी अस्पताल इनरुवास्थित जिल्ला समन्वय समितिको कार्यालयमा सारिएको हो ।
नेपाल प्रहरीको व्यवस्थापनमा बेलबारीमा सञ्चालित अस्पताल २०७९ फागुन १० गते आइजिपी धिरजप्रताप सिंहले उद्घाटन गरेपछि संचालनमा आएको थियो । यहाँ दैनिक ३० जनासम्म ओपिडीमा विरामी आउने गरेको अभिलेखमा देखिन्छ । अस्पतालमा ९ औं तहका चिकित्सकसहित ६० जनाको दरबन्दी थियो ।
९औं तहका एमडिजिपी गरेका डाक्टर डिएसपी, दुई जना मेडिकल अफिसर र स्वास्थ्यकर्मी बसेर अस्पतालमा सेवा दिदै आएका थिए । जनप्रतिनधि, राजनैतिक दल र स्थानीयलाई जानकारी नदिइकन प्रहरीले एक्कासी अस्पताल सारेर सुनसरी लगेपछि यहाँका स्थानीय आक्रोसित बनेका छन् । बुधबार बेलबारी नगरपालिकाले प्रदेश अस्पताल अगाडि पत्रकार सम्मेलन गरेर प्रदेश प्रहरी अस्पताल साविककै स्थानमा कायम हुनुपर्ने माग राखेका छन् । त्यस क्षेत्रका प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदी, मानबहादुर लिम्बू, गीता तिम्सिना, बेलबारी नगरपालिकाका उपमेयर नितु थापा, उद्योग वाणिज्य संघ र स्थानीय राजनीतिकर्मीको टोलीसहितको उपस्थितिमा अस्पताल सार्ने निर्णाय सच्याइ यथास्थानमा कायम राख्नु पर्ने माग उनीहरुले अगाडि सारेका छन् ।
अस्पताल साविककै स्थानमा कायम हुनुपर्ने बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापाले बताइन् । ‘प्रदेशप्रहरी अस्पतालको लागि नगरपालिकाले प्रत्येक वर्ष बजेट विनियोजन गर्दै आएको छ । चालु आर्थिक वर्षको लागि पनि १० लाख रुपैयाँ बजेट छुट्याइएको थियो । यसरी अस्पतालको लागि नगरपालिकाले पनि सहयोग गर्दै आएको थियो । तर, हामीलाई कुनै जानकारीबेगर यसरी मध्यरातमा हस्पिटल सारिएको छ । यो मान्य हुनेछैन,’ उनले भनिन्, ‘हामीले १० करोड बढी लगानी गरेर बेलबारी ४ बुधबारेमा प्रदेश अस्पतालको लागि सुविधा सम्पन्न भौतिक संरचना निमार्णको काम अन्तिमचरणमा पुगेको छ । भौतिक सरंचाना सुविधा सम्पन्न ठाउँमा लैजाने तयारी गरिएको थियो । यसरी रातारात बन्दै गरेको प्रदेश प्रहरी अस्पताल सारिनु लगत छ । यो तत्काल साविकको स्थानमा हुनु पर्दछ ।’
नगरपालिकाले प्रदेश प्रहरी अस्पतालको लागि चिकित्सकको आवासको व्यवस्थापन, अस्पतालको रंगरोगन, अस्पतालमा एयर कण्डिसन पनि जडान गरिएको उनले बताइन् ।
पत्रकार सम्मेलनमा प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले बेलबारीमै प्रदेश प्रहरी अस्पताल ल्याउनुपर्ने बताए । ‘त्यसका लागि पहल गर्न मुख्यमन्त्रीको ध्यानाकर्षण गराइसकेका छौं,’ उनले भने ।
अस्पतालले जग्गा उपलब्ध गराउन स्थानीय सरकार समक्ष प्रस्ताव गरेको थियो । त्यसबारे छलफल गरी पूर्वनगर प्रमुख तथा वर्तमान कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीले आफ्नै दुई बिघा जग्गा दिन सहमत भएका थिए । ‘मैले आफ्नै जग्गा दिने भनेको हुँ । त्यो नभए अहिले नगरपालिकाले निर्माण गरिरहेको नगर अस्पतालमै प्रहरी अस्तपाल संचालन गर्न प्रस्तावसमेत गरिएको थियो । तर उहाँहरू सल्लाह नै नगरी रातारात भाग्नुभएछ,’ उनले भने ।
कोशी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी राजेशनाथ बास्तोलासँग बुझ्दा केन्द्रीय कार्यालयबाट निर्देशन भएबमोजिम नै अस्पताल सारिएको जवाफ पाएको सांसद सुवेदीले सुनाए । यता डिआइजी बास्तोलाले प्रदेश भित्रै अस्पताल सारिएको बताए । ‘अन्तर प्रदेशमा सारिएको होइन । यही प्रदेशको अर्को जिल्लामा सारिएको हो,’ उनले भने, ‘साँघुरो संरचना र पुरानो भवनबाट सेवा प्रवाहमा समस्या भएपछि प्रहरी प्रधान कार्यालयबाट निर्देशनबमोजिम अस्पताल सारिएको हो ।’