विराटनगर । एक समय विराटनगरमा छोटो दुरीको यातायातका लागि सहज साधनका रुपमा रिक्सा थियो । मुख्य सडक होस् या भित्री सडकमा पाइडल रिक्सा भेटिन्थे । तर, अहिले समयसँगै प्रविधिले फड्को मारेको छ, शहर बजारमा ई–रिक्सा भित्रिएसँगै पाइडल रिक्सा लोप भएको छ ।

बजारमा खोज्दा फाट्टफुट्ट मात्रै पाइडल रिक्सा देख्न सकिन्छ । अझ भनौँ बिहान–बेलुका होस् या जुनसुकै समयमा पनि यात्रुको प्रतिक्षामा विराटनगरको चोक–चोकमा भेटिने रिक्सा पछिल्लो समय सिटी र अटोमा ‘कन्भर्ट’ भएको छ ।विराटनगरको सडकमा चार दशकदेखि रिक्सा चलाएर जीवनयापन गर्दै आइरहेका छविलाल राम अहिले पनि रिक्सा नै चलाउँदै छन् । आफ्नो दैनिकी बिताउनका लागि मात्रै भए पनि रिक्सा चलाउने गरेको उनी बताउँछन् ।

विराटनगर १२ बस्दै आएका ८० वर्षिय रामले विराटनगर महानगरपालिकामा दर्ता गरेर मात्रै रिक्सा सञ्चालन गरेको सुनाए । बिहान ९ बजे घरबाट रिक्सा लिएर निस्किने गरेको उनी २ रुपैयाँ रिक्सा भाडा हुँदादेखि विराटनगरको सडक र शहरसँगको सम्बन्ध रहेको बताउँछन् । ‘मैले २ रुपैयाँ भाडा हुँदादेखि रिक्सा चलाउँदै आएको हो, दैनिकी ५० रुपैयाँदेखि १५० रुपैयाँसम्म मात्रै कमाउने गरेको छु,’ उनी भन्छन्, ‘अटो रिक्सा र सिटीसफारी आउनु भन्दा अगाडी राम्रै कमाई हुने गरेको थियो । तर, अहिले कुनै बेला खाली हात पनि घर फर्किनु पर्ने अवस्था आउँछ !’

पछिल्लो समय आएका वैकल्पिक सवारी साधनको कारणले गर्दा रिक्सा लोप हुँदै गएको देख्दा आफूलाई दुःख लाग्ने गरेको उनी सुनाउँछन् । ‘अहिले त यात्रु चढ्न छोडे । तर, घरमा बस्न मनले मान्दैन’, रामले भने, ‘मसँगै रिक्सा चलाउने साथीहरु कोही ठेला लाउन थाले, कोही मरेर गए म भने अहिले यहि रिक्सा पाइडल चलाईरहेछु ।’

विराटनगरमा कति पाइडल रिक्सा थिए भन्ने तथ्यांक महानगरपालिकासँग छैन । पछिल्लो समय पाइडल रिक्सा विस्थापित गर्दै भित्रिएका अटो र सिटीको समेत यकिन तथ्यांक नरहेको विराटनगर महानगरपालिकाका नगर प्रहरी प्रमुख राजन पौडेल बताउँछन् ।त्यसो त रिक्साहरुलाई इन्धनबाट चल्ने अटो रिक्सा र ब्याट्रिबाट चल्ने इलेक्ट्रिक रिक्सा अर्थात् सिटी सफारी भित्रिएपछि परम्परागत रिक्सा मात्रै विस्थापित भएनन् । अटो रिक्सा र ई–रिक्सा खरिद गरेर चलाउन नसक्नेहरुको आय आर्जनको बाटो नै बन्द भएको छ । अर्कोतर्फ सहज देखिएका अटो र सिटीको संख्या बढ्दा शहरका सडक साँघुरा झैं लाग्न थालेका छन् ।

सडक लेन अनुशासन नहुँदा राजमार्गमा मालवहाक, यात्रुवहाकदेखि साना सवारीको चापसँगै अटो र सिटी रिक्साको भीड देखिन्छ ।
फोटो