विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजका ७ जना विद्यार्थीले पानी र हावाको मिश्रणको चापबाट चल्ने ‘पानी रकेट’ तयार गरेका छन् ।
कक्षा १२ मा विज्ञान संकाय लिएर अध्ययन गर्दै आएका आयुष ठाकुर, रितेस भट्टराई, राहुल ठाकुर, प्रशान्त झा, सिमृका तिमल्सिना, संस्कृति कर्ण र सिवाङ्का भगतले लामोसमयसम्मको खोज र अनुसन्धानपछि पानी रकेट तयार पारेका हुन् ।
उनीहरूले लामो समयसम्मको मेहनत बुधबारदेखि सुरू भएको विज्ञान सम्बन्धी ६ दिने कार्यशालामा पानी रकेट देखाउँदा सहभागि भएका जनप्रतिनिधी, प्रध्यापक, शिक्षक र विद्यार्थीहरू पनि दंग देखिन्थे । उनीहरुले ५० मिटर उचाइसम्म उडने पानी रकेट बनाएको विद्यार्थी आयुष ठाकुरले बताए । वाटर रकेट प्रक्षेपणपछि उनले भने, ‘विज्ञान पढेको स्वाद त बल्ल पो आयो ।’ कार्यशालाले विज्ञान क्षेत्रमा नेपालले केही गर्न सक्ने सम्भावना देखाएको उनले बताए ।
शिक्षादीप कलेजले विज्ञान संकाय अध्ययरत विद्यार्थीहरुका लागि अन्तरिक्ष विज्ञानसम्बन्धी ६ दिने कार्यशाला सुरु गरेको छ । रिसिक इनोभेसन्स अन्तर्गतको ‘द स्क्वाड अफ चेन्ज मेकर्स’ सँगको सहकार्यमा विज्ञान संकाय अध्ययनरत विद्यार्थीहरुका लागि कार्यशाला सुरु गरेको हो ।
विज्ञान बिषय अध्ययनरत ४ समुुहमा विभाजन गरेर कार्यशालामा सहभागी गराईएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । कार्यशाला सकिएपछि विद्यार्थीहरुले पाँच हजार फिट उड्ने रकेट बनाउने द स्कुवाड अफ चेन्ज मेकर्सका अध्यक्ष सुशील देव भट्टराईले बताए ।
फ्युलमा सुगर प्रयोग गरेर बनाउने रकेट प्रतिसेकेण्ड ७० फिट स्पीटको प्रक्षेपण गरिएको उनले बताए । विद्यार्थीहरुले कार्यशालमा रोबोटिक्स, खगोल विज्ञान, रकेट साईन्स, स्याटेलाईट टेक्नोलोजी, उडड्यन प्रविधिसँग सम्बन्धित सैद्धान्तिक र प्रयोगात्मक ज्ञान आर्जन गर्नेछन् । पुस २ गतेसम्म चल्ने कार्यशालमा विद्यार्थीहरुलाई ६ दिनसम्म क्रमशः पहिलो दिन सैद्धान्तिक र दोश्रो दिन प्रयोगात्मक कक्षामा सहभागी गराउने तयारी कलेजले गरेको छ ।
कार्यशालामा विद्यार्थीहरुले ११० मिलिमिटरको अमेच्योर रकेट, १ यूनिटको क्युब स्याटेलाईट र ३ किलोमिटर रेन्ज भएको रिमोट कन्ट्रोल प्लेन बनाउन सिक्नेछन् । खगोल शास्त्रको अन्तिम दुई दिने कार्यशालामा विद्यार्थीहरुलाई छुद्र ग्रह पत्ता लगाउन तथा आकाशको म्यापिङ गर्नसमेत सिकाईने बताइएको छ ।
विद्यार्थीले किताबी ज्ञान र आउट नलेज व्यवहारमा उतारेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताए । कार्यशालाले विद्यार्थीलाई नयाँ ढंगले सोच्न सहयोग पुग्ने उनले बताए । कार्यशालाले विद्यार्थीको सीप अभिवृद्धि गरी आत्मविश्वास जगाएको उनले बताए ।
कार्यक्रममा पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्राडा यदावराज कोइराला, महानगरका मेयर नागेश कोइराला, कलेजका अध्यक्ष तथा प्रदेश सांसद भिम पराजुलीलगायले विद्यार्थीहरुले सिकेको कितावी ज्ञान व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका थिए । मोरङमै पहिलोपटक आयोजना गरिएको यसप्रकृतिको कार्यशालाका लागि ९ जना विज्ञको टोली विराटनगर आएका छन् ।
विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने दक्ष जनशक्ति उत्पादनमा समेत कार्यशालाले महत्वपूर्ण भुमिका खेल्ने बताईएको छ ।

