विराटनगर । सुदूरपश्चिमको झुलाघाटबाट मंसिर १४ गते शुरू भएको एमालेको मध्यपहाडी संकल्प यात्रा बुधबार खोटाङको दिक्तेलबाट भोजपुर प्रवेश गर्दै छ । एमाले अध्यक्ष केपी शर्मा ओली सहितको टोली बुधवार बिहान खोटाङको दिक्तेलबाट भोजपुर प्रस्थान गर्ने कार्यक्रम छ । ओली सहितका नेताहरूले भोजपुरको टेम्केमयुङ गाउँपालिकामा खाना खानेछन् ।

संकल्प यात्रामा सहभागी नेता तथा कार्यकर्तालाई दुना टपरीमा दालभात तरकारी र मासु खुवाउने कार्यक्रम रहेको एमाले भोजपुरका उपाध्यक्ष मकर खड्काले जानकारी दिए । खड्काका अनुसार राँगा र खसीको मासु नेताहरूलाई खुवाइने छ ।

आज सभा भने नरहेको एमाले भोजपुरले जनाएको छ । बिहान टेम्केमयुङमा कायकर्ताहरूसँग भेटघाट गर्ने र दिउँसो भोजपुर बजारमा जनभेटघाट र टक्सार बजारको अनुगमन तथा उद्योगी व्यापारीहरूसँग छलफल गर्ने कार्यक्रम रहेको उनले बताए ।

सुदूरपश्चिमबाट मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रा सुरु गर्दा कोशीका पहिचानवादीहरुप्रति कडा अभिव्यक्ति दिएका नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सोमबारसम्म पहिचान पक्षधरप्रति आक्रमक देखिएका थिए

। जसै उनी मंगलबार माझ किरात प्रवेश गरे एकाएक उनको स्वर पहिचानवादीप्रति नरम बन्यो । ओखलढुंगाको हर्कपुरमा आयोजित सभालाई सम्बोधन गर्दा उनी नरम सुनिए । उनले एमालेको उक्त अभियानलाई अवरोध गर्न बन्द आयोजना गरेका पहिचानवादीहरुलाई गाली गरेनन् । न त कुनै कटु शव्द नै बोले । पहिचानवादीहरुलाई आतंककारीसम्म भन्न भ्याएका ओलीले हर्कपुरको सम्बोधनबाट दाजुभाइ भनि सम्बोधन गरेका थिए ।

उनले पहिचानवादीको नाममा भइरहेको आन्दोलनमा सहभागीहरु भावनामा बगिरहेको भन्दै वैधानिक र शान्तिपूर्ण रुपमा चल्नु पर्ने बताए । उनले पहिचानको नाममा भइरहेको आन्दोलनले औचित्य पुष्टि गर्नुपर्ने चुनौती पनि सुनाए । बरु उनले वर्तमान सरकारलाई नै साम्प्रदायिक भएको आरोप लगाउने भ्याएका थिए । उनले भने ‘वर्तमान सरकार नै साम्प्रादायिक जगमा खडा भएको छ, त्यसैले यो सरकारले राष्ट्रिय एकता कायम गर्न सक्दैन ।’

यात्रा आरम्भ गर्दा पहिचानवादीहरुलाई कटाक्ष गरेका ओलीले हर्कपुरबाट भने यो अभियान कसैका विरुद्धमा नभएको र कसैले चित्त दुखाउन नपर्ने भन्दै नरम भाषा प्रयोग गरेका थिए ।उनले एमालेले मात्रै भ्रष्टाचार र तस्करी नियन्त्रण गरी कानुनी र न्यायको राज्य दिई शान्ति सुव्यवस्था कायम गर्न सक्ने दाबी पनि गरेका थिए ।

पहिचानसहितको नाम राख्नु पर्ने माग गर्दै आएका पहिचानवादीहरु प्रदेशको नाम कोशी राखेपछि निरन्तर आन्दोलनमा छन् । उनीहरुले प्रदेशको नाम परिवर्तन गर्नुपर्ने माग गर्दै दबाबमूलक अभियान चलाइरहेका छन् । त्यसप्रति नेकपा एमाले कठोर बनेपछि उनीहरुले नेकपा एमालेको मध्यपहाडी समृद्धि यात्रालाई अवरोध गर्ने गरी बन्द आह्वान गरी विरोध जनाएका थिए ।

आन्दोलनकारीहरुले एमाले अध्यक्ष ओली, सचिव योगेश भट्टराई र महेश बस्नेतलाई पहिचान पक्षधर शक्तिविरुद्ध अभिव्यक्ति दिएको र ८२ जना सांसदले कोशी नामको पक्षमा मतदान गरेको भन्दै उनीहरुविरुद्ध आन्दोलन केन्द्रित गरेका हुन् ।