नापी कार्यालय झापाका सर्वेक्षकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय झापाका सर्वेक्षकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सर्वेक्षक देवनारायण ठाकुर, सर्वेक्षक सुवाशचन्द्र यादव र बिचौलिया उमेश यादवविरुद्ध शक्रबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

३ जनाउपर घुस रिसवत लिई भ्रष्टाचार गरेकोसम्बन्धी आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनका अनुसार जग्गा कित्ताकाट गरेवापत सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले तीन जनालाई ७० हजार नगद ५५ हजारको चेकसहित एक लाख २५ हजार रुपैयाँसहित असोज २६ गते नियन्त्रणमा लिएको थियो ।

उनीहरूविरुद्ध बिगोसहित भ्रष्‍टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)बमोजिम जरिवाना र सोही ऐनको दफा ३ को उपदफा (१) को (घ) बमोजिम हुने कैद सजाय माग गरिएको छ ।

शुक्रबार, २४ कार्तिक, २०८०, साँझको ०५:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर