बालबालिका प्रयोग गरेर हुण्डी रकम ओसारपसार

विराटनगर । अवैध रुपमा हुण्डी मार्फत हुने नगद कारोबारमा बालबालिकाको प्रयोग हुने गरेको पाइएको छ । मोरङ प्रहरीले विराटनगरको मुख्य बजार क्षेत्रबाट प्रहरीले अवैध रुपमा ल्याइएको २१ लाख ८७ हजार रुपैयाँ बरामद गरेपछि त्यस्तो रहस्य खुलेको हो । मंगलबार हुण्डी कारोबारीले एक जना बालकलाई प्रयोग गरेर ल्याउँदै गरेको ठूलो परिमाणको रकम बरामद गरेपछि त्यस्तो रहस्य सार्वजनिक भएको हो ।

विशेष सूचनाका आधारमा मंगलबार अपरान्ह प्रहरीले एक बालकको साथबाट उक्त नेपाली नोट बरामद गरेको थियो । शनि मन्दिर चोकबाट १६ वर्षे बालकको साथबाट उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार बालकले पछाडि भिर्ने कालो ब्यागमा उक्त रकम बोकेका थिए । प्रहरीले मोटरसाइकलसहित बालकलाई पक्राउ गरेको जनाएको छ । बालकको साथबाट एक हजार रुपैयाँ दरको १६८७ थान अर्थात १६ लाख ८७ हजार रुपैयाँ र ५०० रुपैयाँ दरको एक हजार थान अर्थात ५ लाख रुपैयाँ बरामद गरेको हो । यस बाहेक प्रहरीले उनको साथबाट कुमारी बैंक लिमिटेडको एक थान चेकबुक, एनआइसी एसिया बैंकको काटिएको एउटा चेक, ग्लोबल आइएमई बैंकको विभिन्न मितिमा जम्मा गरिएको चार थान भौचर र प्रदेश १–०२–०४३ प ६२४१ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल बरामद गरेको छ ।

प्रहरीले कुन कम्पनी, फर्म वा व्यक्तिको चेक बरामद गरेको हो भन्ने विषयमा खुलाएको छैन भने हुण्डी कारोवारमा संलग्न व्यक्तिको पहिचान पनि खुलाएको छैन । प्रहरीले अनुसन्धान पछि यथार्थ विवरण सार्वजनिक गर्ने जनाएको छ ।

बुधबार, १५ कार्तिक, २०८०, बिहानको ०८:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर