विराटनगर । दुधको राजधानी भनेर चिनिदै आएको कोशी प्रदेशको इलाममा उत्पादन भएको चिज र घ्युले बजार नपाउँदा उत्पादकहरु समस्यामा परेका छन् । व्यावसायीहरु अधिक उत्पादन र न्यून बिक्रीको समस्या भोग्ने अवस्थामा पुगेपछि उनीहरुले बजारको चिन्ता गर्न थालेका छन् ।
चाडपर्वको समयमा पनि नौंनी घ्यु र चिज अपेक्षाभन्दा थोरै बिक्री हुँदा इलामका डेरी उद्योगहरु समस्यामा परेका छन् । डेरी उद्योगहरुले ६ महिना यता घ्यु र चिज स्टोरमै थन्क्याएर राख्न बाध्य भएका छन् ।
इलाममा डेढसय बढी डेरी उद्योगहरु सञ्चालनमा छन् । सबै डेरीहरुले किसानबाट दुध संकलन गरी घ्यु, चीज र छुर्पी उत्पादन गर्दै आएका छन् । तर पछिल्लो समय छुर्पी बाहक अन्य उत्पादनको बिक्री निराशाजनक रहेको छ । अधिकांश डेरीहरुमा कम्तिमा पाँच हजार किलोदेखि १८ हजार किलो नौंनी र चीजको ‘स्टक’ रहेको दुग्ध व्यावसायी संघले जनाएको छ ।
संघका अध्यक्ष जगत महतले वैशाख महिना यता घ्यु र चीज बिक्री हुनै नसकेको बताए । ‘छिमेकी मुलुक भारतबाट सस्तो मूल्यमा दुध र घ्यु आयात भइरहेको भन्ने सुनिन्छ, त्यही कारणले पनि नेपाली उत्पादन स्टोरमै थन्किने अवस्था आएको हुनसक्छ’ अध्यक्ष महतले भने, ‘नौनी घ्यु बढीमा चार महिना मात्र राख्न सकिने र त्यस अवधिमा बिक्री नभए नष्ट गर्नुपर्ने हुन्छ ।’
दश वर्ष यता दुधबाट बनेको परिकारको व्यवसाय गर्दै आएका इलाम नगरपालिकास्थित सेतो पहाड डेरीका सञ्चालक मिलन खत्रीले आफ्नो डेरीमा करिब चार हजार किलो घ्यु स्टक रहेको बताए । उपभोक्ताबाट कम माग आउँदा उत्पादन बिक्री नभएको उनको भनाइ छ ।
गत वर्षसम्म नेपाली बजारमै खपत भइरहेको चीजसमेत यो वर्ष बिक्री हुन नसकेको नेपाल डेरी एसोसिएसन इलामका अध्यक्ष लक्ष्मी थापाले बताए । थापाले भने , ‘प्रदेश सरकार र संघीय सरकार दुवैले बजारमा सहयोग नगरे व्यवसायीलाई मात्र नभएर किसानलाई समेत असर पर्ने निश्चित छ ।’