दशैंको मुखमा मसला हराएपछि…

गाउँमा मसला हराएको चर्चा फैलियो । छिमेकीहरुले मसलाको रुख भन्दा जिरा मसला हराएको बुझे ।

‘ओइ ! भेषराज ? मेरो धान कसले दल्यो,’ दिनेशले झोंक्किँदै प्रश्न गरे । दशैं सप्तमीको दिन भेषराजसहित गाउँका बसन्त, भीम, लेखनाथ भने घरमा बोका ढालेर सोमरससहित कर्जीमर्जीको व्यवस्थापनमा थिए । दिनेश कड्कीएको सुनेर भेषराजले भने, ‘होइन के भयो ? ।’ दिनेशले मसलाको रुख ढालेर आफ्नो खेतमा धान दलेको विवरण सुनाए । ‘मेरो खेतको एक मन धान फल्न लागेको बोट सखाप पारिदिएछ, यो कसले हो मलाई धान चाहिन्छ,’ दिनेशले भन्यो । त्यसपछि हल्लाखल्ला सुरु भयो, ‘रुखको बिरुवा कस्ले काट्यो ? तेरो खेतमा धान दल्न को आयो ? ।’

चारै जना खेतको पुछार पुगे । हेर्दा एउटा मसलाको विरुवा कसैले काटेर लगेको रहेछ । अब चोर पत्ता लगाउनु पर्ने भयो । सप्तमीको रमझममा झुलेका भेषराजका परिवारको अवस्था बुझेरै चोरले रुखै चोरेको थियो । रुखै चोर्ने चोर पत्ता लगाउने निष्कर्षसहित टोली धान बारीतिर हान्नियो । खेतको डिलमा निस्किएर बसन्तले भन्यो, ‘धम्कुवाको चोर कहाँ छस् ? तँलाई चट्टै छिनाउँछु ।’ भीमले भने, ‘यसलाई भेटियो भने धुक्धुकी मात्रै राख्ने गरि हान्नुपर्छ ।’ तर धुक्धुकी मात्रै राख्ने, चट्टै काट्नेहरुको धामस भने लर्खरिएको खुट्टाले जिस्काइरहेको थियो ।

लाथ्रा चोरी भएको रिस भेषराजलाई छँदै थियो । कति मूल्य पथ्र्यो होला ? भेषराजले भने, ‘धेरै मूल्यको चाहिं होइन ४, ५ हजारमा जान्थ्यो कि ? त्यो पनि मसलाको कलिलो लाथ्राको के काम ? नयाँ घर बनाउनेहरुले बिम बनाउन लग्यो कि गँजडीले गाँजा खाने पैसाका लागि लगेको हो ? यसलाई भेटियो भने चाहिं ठोक्ने हो ।’ साँझको समय भइसकेको कारण लाथ्रा चोर पनि भेटिएन, चोरको संकेत पनि पाइएन । भेषराजले प्रहरीलाई खबर गरे । प्रहरीले भोली बिहान निवेदन दिनु भन्यो । भोलीपल्ट अष्टमिको दिन बिहानैदेखि गाउँघरमा फेरि लाथ्रो हराएको चर्चा सुरु भयो । वल्लो घर पल्लो घर सबैले कहाँ हराएको होला त भनेर चर्चा सुरु भयो । मासुको पिस मुखमा हाल्दै भेषराजले भने, ‘अब मासु खाने हो बलियो बनेर लाथ्रा चोर भेट्ने हो.. प्रहरीलाई निवेदन दिने हो ।’

भेषराजसहितको टोली प्रहरी चौकीमा निवेदनका लागि गए । प्रहरीमा उजुरी दिएर आएर गाउँका लालाबालासहित लाथ्रा र चोरको खोजीमा लागे । महिला पाटी एकातिर, पुरुषपाटी अर्कातिर । महिला पाटीले एक निर्माणाधिन घर छेउमा रहेको परालको माचमुनी मसलाको आलो काठका मुढा फेला पार्यो । पुरुष पाटीले धानबारीमा उक्त रुखको फेदको भाग फेला पार्यो । त्यसपछि सोधखोज भयो । कसले चोरेको ? किन चोरेको ? प्रहरीलाई खबर भयो । प्रहरी आएपछि केरकार सुरु भयो । भर्खरै निर्माण भएको नयाँ घरमुलीलाई सोधीखोजी गरियो । पहिले इन्कारी बयान दिएका घरमुलीले लाष्टमा भने, ‘मलाई खाटको आवश्यकता थियो । खाट बनाउन सबै काठ पुग्यो । तर खाटको खुट्टा बनाउने काठ भएन । किन्न पैसा भएन । त्यही खाटको खुट्टो बनाउन अर्काको रुख चोर्नु परेको हो ।’

घरमुलीको कुरा सुनेर झोंकिएर गएका भेषराजका समर्थकहरु मथ्थर भए । दुःख र पीडाको कुरा सबैले बुझे । ‘पैसा भएन, खाटको खुट्टो बनाउने काठ भएन भनेर रुखै चोर्ने त ?’ बसन्तले प्रश्न गरे, ‘दशैंको बेला छ १ किलो मासु किन्ने पैसै भएन भनेर खसी नै चोर्ने ? १ छाक भात खान पाइन भनेर भकारी नै फोर्ने ? ।’ उनले यसो भनिरहँदा रुख चोरी गर्ने अन्दाजी ३० वर्षे ठिटो अक्क न बक्क बनिरहे । बोल्न सकेनन् । गहभरी आँखु बनाए । आफ्ना ९ वर्ष र ४ वर्षका दुई छोराको अनुहार हेरे । अनि भने, ‘यिनीहरु सुत्ने खाटै भएन अनि यसो गरें !’ दशैं मान्न भनेर ल्याएको एक किलो खसीको मासु पकाउँदै गरेका उनलाई प्रहरीले चौकी हिंड्न भने । भेषराजले भने, ‘खाना खान दिऔं भोक लागेको होला, त्यसपछि लाँदा हुँदैन ?’ । प्रहरीले झोंक्किदै जवाफ दियो, ‘भात खान दिऔं, ज्वाइ हो हाम्रो ? भान्जा हो हाम्रो ? कोट, टाई सुट सबै लगाउन दिऔं, अनि दशैं मान्न दिएर लैजाउँ हुँदैन ? ।’ यति भन्दै प्रहरीले रुखै चोर्ने कमललाई नियन्त्रणमा लिएर चौकी लग्यो ।

चौकीमा दुवै पक्षका भद्रभलाद्मी बसे र कागज गरेर कमल छुटे । त्यहाँ पनि कमलले भनेका थिए, ‘खाटको खुट्टा थिएन, त्यही भएर मैले रुखै चोरेको हुँ । आउने दिनमा यसो गर्दिन ।’ काठ फिर्ता ल्याउने शर्तपछि उनलाई छोडियो । सबैले उनलाई सुझाव दिए, ‘पाखुरा बजारेर खाने हो । यसरी चोरेर कति दिन टर्छ ?’, उनले प्रायश्चित गर्दै भने, ‘अब यस्तो गर्दिन मेरो दिमाग बिग्रिएर यसो गरें ।’ त्यसै दिन कमलले काठको मुढा बोकेर भेषराजको घरमा ल्याइदिए । उता, गाउँमा मसला हराएको चर्चा फैलियो । छिमेकीहरुले मसलाको रुख भन्दा जिरा मसला हराएको बुझे । तर, हराएको मसलाको रुख थियो ।

कार्तिक ६, २०८०, बिहानको ०९:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर