विराटनगर विमानस्थलका पसलमा लुट धन्दा

न्यूनतम रकम भन्दा चारगुणा बढी ठेक्का कबोल, ग्राहकसँग तीनगुणा बढीसम्म असुल

विराटनगर । विराटनगर विमानस्थलमा कर्मचारी प्रशासनसँगको मिलेमतोमै लुटको धन्दा चल्ने गरेको खुलेको छ । विमानस्थलमा यात्रुहरुको लागि संचालनमा रहेका क्यान्टिन अत्याधिक महँगो हुँदा स्टाफ क्यान्टिन भने सस्तोमा चलेको छ । टेण्डर लगाउँदा नै स्टाफ क्यान्टिनको न्यूनतम रकम कम राखिएको छ भने कबोल रकम बढाबढ हुँदा पनि मात्रै २ हजार बढेको छ । तर, यात्रुका लागि न्यूनतम रकममा चार गुणाबढीसम्म कबोल रकम देखिन्छ । यसले स्टाफलाई सहुलियत दिने तर यात्रुलाई लुटाउने धन्दामा कर्मचारी प्रशासन कै मिलेमतो देखिएको हो ।

विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार विमानस्थलभित्र टर्मिनल क्यान्टिन, डिपार्चर कन्फेक्सनरी, अराइभल क्यान्टिन र स्टाफा क्यान्टिन रहेका छन् । विमानस्थलले यी सबै क्यान्टिन र पसलहरु ठेक्कामा लगाएको छ । यस्तै विमानस्थलले सवारी साधन पार्किङपनि ठेक्कामा लगाउने गरेको छ ।

दुई दिन अगाडि संघीय सरकारका पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानस्थलका ती क्यान्टिनमा छड्के चेकजाँच गरे । जसमा ग्राहकहरुलाई तीन गुणा बढी मूल्य लिएर सामानहरु विक्री गर्ने गरेको पाइयो । अनुगमनका क्रममा वस्तुको मूल्य अचाक्ली बढाएर उपभोक्ताहरुलाई ठगी गरेको पाइएपछि मन्त्री किराँतीले विमानस्थलका प्रमुख रिन्जी शेर्पालाई तत्काल कारबाही गर्न वा सटर बन्द गर्न निर्देशन दिए ।

शेर्पाले पनि तत्कालै यो विषय कार्यान्वयनमा आउने बताए । मन्त्री किराँतीले केही दिन अगाडि त्रिभुवन विमानस्थलका क्यान्टिन तथा पसलहरुको पनि अनुगमन गरेका थिए । सो क्रममा पनि यात्रु उपभोक्ताहरुलाई ठगी गर्ने गरेको पाइएको थियो । कुनै पनि वस्तुको विक्री वितरण गर्दा अधिकतम खुद्रा मूल्य भन्दा बढी लिन नपाइने कानूनी व्यवस्था छ । तर, क्यान्टिन तथा पसलहरुमा किन बढी लिन्छन् र त्यसरी लिनुपर्ने कारण के हो ? भन्ने विषयमा ति पसल र क्यान्टिन संचालकको कुरा फरक छ ।

उनीहरुको तर्क छ, ‘ठेक्का रकम नै धेरै तिर्नुपर्छ ।’ ठेक्का आह्वानको न्यूनतम रकम नै बढी राखिने गरेको कारण आफूहरु महँगोमा सामानहरु बिक्री गर्नुपरेको उनीहरुको तर्क छ । विराटनगर विमानस्थलको टर्मिनल क्यान्टिन संचालन गरिरहेको होटल न्यू ग्यालेक्सी एण्ड लज विराटनगरका संचालकले मन्त्री किराँतीकै सामुन्ने भने, ‘हामीले महँगो भाडा तिर्नुपर्छ अनि कसरी धान्नु त ? ।’

तर, उनले टेण्डर हाल्दा नै दोब्बर, तेब्बर, चौबर बढी रकम कबोल किन गरे भन्ने प्रश्न गर्दा उनीसँग उत्तर दिन सकेनन् । विराटनगर विमानस्थललले उपलब्ध गराएको सूचना अनुसार क्यान्टिन तथा होटलको टेण्डर आव्हानमै यात्रु लुटाउने सेटिङ भएको हुनसक्ने देखिन्छ । किनकी विमानस्थलमा रहेको स्टाफ होटल महँगो छैन । तर, यात्रुका लागि चलाइएका क्यान्टिनका खाद्यवस्तु तथा पानीसमेत अत्याधिक महँगो छ ।

विमानस्थलको टर्मिनल क्यान्टिनको लागि १ करोड ७० लाख रुपैयाँ न्यूनतम रकम उल्लेख गर्दै ठेक्का आव्हान भएको थियो । उक्त न्यू ग्यालेक्सी एण्ड लजले २ करोड ३१ लाख कबोल गर्यो । उक्त ठेक्कामा झापाली होटल, विराटनगरले पनि दरखास्त दिएको थियो । तर, कबोल रकम बढी भएको कारण ग्यालेक्सीलाई नै ठेक्का दिइयो । उसले २०७९ फागुनदेखि ५ वर्षसम्म क्यान्टिन संचालनको सम्झौता गरेको छ ।

अर्को डिपार्चर हल कन्फेक्सनरीको लागि ठेक्का आह्वानहुँदा विभिन्न ६ वटा संस्था तथा कम्पनीले दरखास्त दिए । ३३ लाख रुपैयाँ ठेक्का आह्वानको न्यूनतम रकम तोकेर गरिएको ठेक्कामा झण्डै चारगुणा बढी रकम १ करोड १५ लाख कबोल गर्ने ममता होटल विराटनगरले टेण्डर पा¥यो । उसले पनि ५ वर्षसम्ममा यो रकम विमानस्थललाई भुक्तानी गर्नुपर्नेछ । यस्तै अराइभल क्यान्टिनको लागि १२ लाख रुपैयाँ न्यूनतम रकम तोकेर आह्वान भएको टेण्डरमा ओडारी किराना पसल विराटनगरले सबैभन्दा बढी ५१ लाख ४५ हजार रुपैयाँ रकम कबोल गरेपछि उसैले ठेक्का पायो । यो न्यूनतम रकमको ४ गुणा बढी कबोल रकम हो ।

तर, स्टाफ होटलमा भने ११ लाख ६६ हजार ४ सय रुपैयाँ न्यूनतम ठेक्का आह्वान गरिएकोमा ३ वटा संस्थाले आवेदन दिए । तर, यो होटलमा भने न्यूनतम रकममा २ हजार बढी ११ लाख ६८ हजार २०० रुपैयाँ मात्रै अधिकतम मूल्यको ठेक्का पा¥यो । यो ठेक्का भने सिद्धकाली होटल विराटनगरले पाएको छ । उ सँगको सम्झौता २०७८ साल साउन १ गतेदेखि तीन वर्षसम्मको रहेको छ ।

विमानस्थलको अनुगमनको क्रममा होटल तथा क्यान्टिनमा पानी, कफी, जङफुटलगायतका खाद्यवस्तुहरु एमआरपीभन्दा झण्डै तेब्बर मूल्यसम्ममा बिक्री गरेको पाइएको थियो । यहाँका रेष्टुरेन्ट तथा क्याफेले बढी मुनाफा राखेर चिसो पेय पदार्थ, चाउचाउ, बिस्कुट र खानेपानी लगायतका सामान बिक्री गरेको भेटिएको थियो । त्यहाँ पुगेका ग्राहकहरु भन्छन्, ‘यहाँ आएर पानीसमेत किनेर खान सकिँदैन । २५ रुपैयाँ पर्ने पानीको मूल्य ५० रुपैयाँसम्म राखिएको छ । एक प्याकेट चाउचाउलाई ७० रुपैयाँभन्दा बढी तिर्नुपर्छ ।’

पसल व्यावसाय सञ्चालकहरुले तिर्दै आएको भाडादरको विषयसमेत तत्काल नियमन गर्न मन्त्री किरातीले निर्देशन दिए । मन्त्रीको निर्देशन पश्चात विराटनगर विमानस्थल प्रमुख शेर्पाले पसल व्यावसायीहरुसँग नयाँ सम्झौता गरिने बताए । एमआरपीमा उल्लेख भएभन्दा बढी मूल्य लिन नपाउने गरी तत्काल निर्णय गरेर जानकारी गराउने शेर्पाले बताए ।

विमानस्थलमा पार्किङ शुल्क पनि बढाइएको जनाइएको छ । विमानस्थल प्रशासनका अनुसार सवारी साधन पार्किङमा ९६ लाख ८६ हजार २३२ रुपैयाँ न्यूनतम ठेक्का आव्हान हुँदा श्री ममता होटल विराटनगरले नै १ करोड ६५ हजार रुपैयाँमा ५ वर्षसम्मका लागि २०८० भदौ १ गतेदेखि ठेक्कामा लिएर काम गरिरहेको छ । जसमा ९ वटा संस्था तथा कम्पनीहरुले दरखास्त दिएका थिए ।

ठेक्का सम्झौता लिएकाहरुले ऐन कानून विपरीतका कुनै पनि काम नगर्ने प्रतिबद्धता जनाएका छन् । तर, उनीहरुले ग्राहकबाट अवैध तरिकाले गरिरहेको असुली धन्दा पनि अहिले पनि नरोकिएको यात्रुहरु बताउँछन् ।

शनिबार, ०४ कार्तिक, २०८०, बिहानको ०७:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर