विराटनगर । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य अहिलेसम्मकै हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
बिहीबार पनि रेकर्ड बनाएको सुनको मूल्य तोलामा एकै दिन १ हजार ८ सय रूपैयाँले बढेको हो । बिहीबार सुन प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज शुक्रबार सुन प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा ५ रूपैयाँले बढेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला १ हजार ४०० रूपैयाँ पुगेको हो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ५० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।