विराटनगर ।उत्पादनको अनुपातमा दुध तथा दुधजन्य वस्तुले बजार पाउन नसकेपछि दुग्ध विकास संस्थाले आफ्ना उत्पादनहरुको मूल्य घटाएको छ ।
दुध तथा दुधबाट बनेका वस्तुहरुको बिक्री घटेपछि संस्थानले दसैंको पूर्वसन्ध्यामा मूल्य घटाएको हो । दुई महिना अगाडि भदौ २१ गतेका दिन सरकारले दूधको मूल्यमा भारी वृद्धि गरेको थियो । दुई महिना अगाडि प्रतिलिटर ६ रुपैयाँले बढाइएको दुधको मूल्य मंगलबारबाट प्रति पाउच दुई रुपैयाँ घटाइएको छ । प्रतिलिटर ९७ रुपैयाँमा बिक्री गर्दै आएको दुध अब संस्थानले ९३ रुपैयाँमा बिक्री गर्नेछ ।
यसैगरी संस्थानले दुधबाट बनेका अन्य उत्पादनको मूल्य पनि घटाएको छ । उत्पादकसँग खरिद गरेको मूल्य र उपभोक्ताले तिर्ने मूल्यमा अन्तर भएको भन्दै संस्थानले मूल्य घटाएको छ । तर यथार्थमा संस्थानसँग धूलो दुध र नौनी घ्यूको अधिक मौज्दात भएको, बजारमा दुध बिक्न छोडेको, पनिर तथा चिज आदि उत्पादनको बिक्री पनि घटेपछि संस्थानले मूल्य घटाएको हो । अर्को तर्फ चार महिनादेखि दुध उत्पादक किसानलाई भुक्तानी दिन समस्या भएपछि मूल्य घटाएर बिक्री बढाउन संस्थान तयार भएको हो ।
संस्थानले आफ्ना उत्पादनहरुको मूल्य दुई रुपैयाँदेखि २०० रुपैयाँसम्म घटाएको छ ।यस्तै डिडिसीले दहीको मूल्य प्रतिलिटरमा २० रुपैयाँ घटाएको छ । पनिर एक किलोमा ५० रुपियाँ, नौनी र घिउमा समान प्रतिकेजी एक सय रुपियाँको छुट दिइने भएको छ । मिठाईमा प्रतिप्याकेट १० रुपियाँ, याक नौनीमा प्रतिकेजी १५, याक चिज एक किलोमा एक सय रुपियाँ छुट दिइने भएको छ ।
सबैभन्दा धेरै छुट टेवल बटर प्रतिकेजीमा २०० रुपैयाँ छुट दिइएको छ । फ्रेस मिल्कमा एक लिटर २५ रुपैयाँ छुट दिइएको छ ।