२७० रुपैयाँमा सरकारले किनेको भ्याक्सिनलाई ८ हजार तिर्नुपर्ने बाध्यता

विराटनगर । कोशी अस्पताल विराटनगरमा रेबिजविरुद्धको भ्याक्सिन सेवा बन्द भएको छ । एन्टिरेविज भ्याक्सिन अभाव भएको जनाउँदै अस्पतालले सेवा बन्द गरेको हो ।

अस्पतालमा एन्टिरेबिज भ्याक्सिन सेवा बन्द भएका कारण मोरङको मिक्लाजुङ्ग गाउँपालिका घर भइ सुनसरीको इटहरीमा बस्दै आएकी दीपा राईले निजी क्लिनिकमा महंगो रकम तिरेर भ्याक्सिन लगाएकी छन् । मनिङवाक गर्दा बुधबार बिहान उनलाई कुकुरले टोकेको थियो । दायाँ तिघ्रामा कुकुरले टोकेपछि उनी इटहरीस्थित सामुदायिक अस्पतालमा उपचारको लागि गइन् । उक्त अस्पतालमा उपचार नहुने भएपछि उनलाई धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठान वा विराटनगरस्थित कोशी अस्पताल जान चिकित्सकलले सुझाव दिए । यसअघि पनि विराटनगर बस्दै आएकोले उनी कोशी अस्पतालमा उपचारको लागि आइन् ।

कुकुर, बाँदरलगायत जनावरले टोकेपछि एन्टीरेबिज भ्याक्सिन लगाउनु पर्ने जानकारी भएकै कारण उनी उपचारका लागि कोशी अस्पताल पुगेकी थिइन् । तर अस्पतालमा एन्टिरेबिज भ्याक्सिन सेवा बन्द भएका कारण उपचार पाउन सकिनन् र उनले निजी क्लिनिकमा दुई हजार रुपैयाँ तिरेर भ्याक्सिन लगाइन् ।

स्वास्थ्य सेवा विभाग र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खोप उपलब्ध नगराएको महिनौं भइसकेको भन्दै कोशी अस्पतालले सेवा बन्द गरेको हो । अस्पतालले असोज १४ गतेको मितिमा सूचना टाँस गरेरै दुई हप्तादेखि भ्याक्सिन सेवा बन्द गरेको जनाएको छ ।यसरी कोशी अस्पतालले भ्याक्सिन नभएको भन्दै सेवा बन्द गरेर बसिरहदा अस्पतालदेखि करिब १ किलोमिटर पूर्वमा रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको स्टोरमा एक महिनासम्म पुग्ने रेबिजविरुद्धको भ्याक्सिन स्टोरमा थन्किएर बसेको पाइएको छ । बुधबारसम्म प्रदेशको आपूर्ती केन्द्रको स्टोरमा ४ हजार भाइल म्याक्सिन रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका कोल्डसेन निरीक्षक चन्द्रकान्त ठाकुरले जानकारी दिए । अहिले स्टोरमा रहेको भ्याक्सिनले एक महिनासम्म प्रदेशको माग धान्न सक्ने उनले बताए ।

कोशी अस्पतालले यसअघि गत भदौ २४ गते ७५० भाइल रेबिज विरुद्धको म्याक्सिन लगेको अभिलेखमा देखिन्छ । त्यसयता प्रदेश आपूर्तीमा माग गरेको छैन । अस्पताल प्रशासनले भ्याक्सिन माग गर्नुको साटो सेवा बन्द गरेर विरामीलाई सास्तीसँगै चर्को शुल्क तिरेर उपचार गर्न बाध्य बनाएको छ ।

हस्पिटलले माग सहितको पत्र आपूर्तीमा आएपछि भ्याक्सिन दिने गरेको छ । प्रदेश आपूर्तीबाट कोशीसहितको ३५ वटा स्वास्थ्य संस्थामा भ्याक्सिन जाने गरेको छ । तर, कोशी अस्पतालले अहिलेसम्म पत्र पठाएको छैन ।एन्टिरेबिज भ्याक्सिनको चरम अभाव भएको भन्दै सेवा बन्द भएपछि कोशीमा उपचारका लागि दैनिक आउने १० देखि २० जनासम्म बिरामीहरू निजी क्लिनिकमा महंगो रकम तिरेर सेवा लिन बाध्य भएका छन् ।

एन्टिरेबिज भ्याक्सिन सरकारी अस्पतालबाट निःशुल्क उपलब्ध गराउने सरकारको नीति छ । सरकारले २७० रुपैयाँमा खरिद गरेको रेबिजविरुद्धको भ्याक्सिन दिने गरेको छ । तर, कोशीमा भ्याक्सिन नभएको भन्दै बिरामीहरू महंगोमा निजीमा पनि किनेर लगाउन बाध्य छन् । निजी पसल तथा क्लिनिकले एउटा भ्याक्सिनको २ हजार देखि १० हजार रुपैयाँसम्म लिने गरेका छन् ।

‘कुकुरले टोकेर रगताम्मे भएको छु । चिकित्सकले पनि भ्याक्सिन लगाउनुपर्ने सुझाब दिनुभयो । तर, सरकारी अस्पतालमा भक्सिन नभएपछि चर्को शुल्क तिरेर भ्याक्सिन लगाउन बाध्य भएँ,’ दीपाले भनिन् ।आर्थिक अवस्था नाजुक भएका परिवारलाई रेविजविरुद्धको भ्याक्सिन खरिद गर्न गाह्रो भएको छ । ‘सम्पन्न परिवारले खरिद गरेर पनि लगाउनछन् । तर, विपन्न परिवारले यत्रि खर्चिलो भ्याक्सिन कहाँबाट ल्याउने ? । राज्यले भ्याक्सिन चाँडै खरिद गरेर हस्पिटलमा पढाएन भने र यदी विपन्न नागरिकलाई टोक्यो भने रोग पालेर बस्नुपर्ने अवस्था छ,’ उनले सुनााइन् ।

स्वास्थ्य मन्त्रालयबाट आपूर्ति हुन नसक्दा समस्या भएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट (मेसं) डा. चन्द्रभाल झाले बताए । ‘दैनिक रूपमा १५/२० जना बिरामी आउँछ । भ्याक्सिन छैन । के गर्नु ? आफैले खरिद गर्न मिल्दैन केन्द्रीय सरकारको स्वास्थ्य आपूर्ति केन्द्रसँग माग गरेका छौँ,’उनले भने, ‘आएपछि बिरामीलाई उपलब्ध गराउँछौँ ।’ केन्द्रबाट चाडै औषधि पठाउने आश्वासन दिएको उनले सुनाए । आएपछि भ्याक्सिन लगाउन सुरु गरिने उनले सुनाए । संघ अन्र्तगतको कोशी अस्पताल भएकोले प्रदेशमा यसअघि पनि जानकारी गराउँदा भ्याक्सिन नभएको बताएपछि माग नगरिएको उनले बताए । ‘हामीले यसअघि भनेका थियौं । प्रदेश आपूर्तीबाट छैन भनेपछि फेरी ताकेता पनि गरिन् । अब रहेछ भने विहीबार माग गर्नेछौं र सेवा सुचारु गर्न लाग्नेछौं,’ उनले भने ।

असोज १४ गतेबाट कोशी अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन लगाउन बन्द गरिएको छ । भ्याक्सिन लगाउन अहिले दैनिक १० देखि २० जनासम्म बिरामी रहेको अस्पतालले जनाएको छ । ‘लक्षण अनुसार ३ देखि ५ डोजसम्म लगाउनुपर्छ । कसैको एक त कसैको दुई डोज लागेको छ,’ छाला रोग विशेषज्ञ समेत रहेका मेसु डा. झाले भने, ‘छिटै आपूर्ति भए । बिरामीले सहयोग पुग्छ ।’

बिहिबार, २५ असोज, २०८०, बिहानको ०७:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर