लोड हुँदैछ...

मेनु

शिशु बिक्री प्रकरण

अस्पताल सञ्चालकलाई उन्मुक्ति चिकित्सकसहित ६ जनाविरुद्ध मुद्दा

अस्पताल सञ्चालकलाई उन्मुक्ति चिकित्सकसहित ६ जनाविरुद्ध मुद्दा

विराटनगर । विराटनगरको अस्पतालबाट नवजात शिशु बिक्री गरेको घटनामा संलग्नहरुविरुद्ध सोमबार सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको छ । शिशु बेच्ने कार्यमा मतियारको रुपमा प्रहरीले आरोपित गरेको भएपनि ग्रिनक्रस हस्पिटलका संचालक कृष्ण खवासलाई सरकारी वकिलको कार्यालयले मुद्दा नचलाई उन्मुक्ति दिएको छ । कार्यालयले उनलाई हाजिरी जमानतमा छोड्ने निर्णय गरेको हो ।
घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्णसहित ६ जना विरुद्ध भने सोमबार जिल्ला अदालत मोरङमा अपहरण तथा व्यक्ति वेपत्ता, एकीकृत कसुर सम्बन्धी मुद्दा दायर भएको जिल्ला न्यायाधीवक्ता सुवास कुमार भट्टराईले जानकारी दिए ।

यस घटनामा प्रहरीले ७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये खवासको व्यवस्थापनमा सञ्चालित अस्पतालका चिकित्सक कर्णले पाँच लाख रुपैयाँ लिएर निःसन्तान दम्पतीलाई शिशु बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । अस्पतालमा भर्ना भएको बिरामी र शिशुको अभिलेख नराखेर व्यवस्थापक खवासले मतियारको भूमिका खेलेको प्रहरीको निश्कर्ष थियो । तर, जिल्ला सरकारी वकिलको कार्यालयले खवासको हकमा प्रमाण नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय गर्यो । ‘प्रतिवादी मध्येका कृष्ण कुमार खवासको हकमा विचार गर्दा निज प्रतिवादीले अनुसन्धानको क्रममा बयान गर्दा आरोपित कसूरमा ईन्कारी रहेको देखिएको, निज उपर मौकामा किटानी जाहेरी परेको अवस्था समेत नरहेको, सह प्रतिवादीहरुले मौकामा बयान गर्दा यी प्रतिवादी खवासको प्रस्तुत वारदातमा के कस्तो भूमिका रहेको हो सो सम्बन्धमा खुलाउन सकेको समेत नदेखिएको एवं मौकामा बुझिएका मानिसहरुले समेत निज प्रतिवादी खवासको प्रस्तुत वारदातमा संलग्नता रहे भएको भनी खुलाउन नसकेको समेतका आधार र प्रमाणहरुबाट उनी उपर सवुद प्रमाणको अभावमा मुद्दा नचलाउने निर्णय गरिएको छ,’ अभियोग पत्रमा उल्लेख छ ।

सरकारी वकिलको कार्यालयले खवासलाई जोगाएर यस घटनामा नवजात शिशु खरिद गर्ने, हस्पिटलका सरसफाइकर्मी, पाँच लाखमा शिशु बेच्ने डाक्टर तपेश्वरलाल कर्णका सहयोगी नर्स र शिशुको बाबुलाई मात्र प्रतिवादी बनाएर अभियोग दायर गरेको छ ।अभियोग पत्रमा ग्रिनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सरसफाइकर्मी सुधा राजवंशी, कटहरी गाउँपालिका २ की ४६ वर्षीया दिलमनी राजबंशी, ३० वर्षीय सुर्यनारायण राजवंशी, सिराहाको कल्याणपुर नगरपालिका १२ की ३८ वर्षीया नर्स निर्मला यादव, शिशुका बाबु भोजपुरको हतुवा गढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई प्रतिवादी बनाएको छ । उनीहरूलाई तीन वटा मुद्दामा संयुक्त रूपमा १५ देखि २० वर्षसम्म कैदको मागदाबी लिएर अभियोग दर्ता गरिएको छ ।

अपहरणतर्फ सात वर्षदेखि दशवर्षसम्म कैद, व्यक्ति बेपत्तामा १५ वर्षसम्म मागदाबी लिएर अभियोग दर्ता भएको छ । अदालतमा मुद्दा दर्ता भएकोले मंगलबार प्रतिवादीहरुको बयान हुने र बयान सकिए सोही दिन बहस हुने अदालतका सूचना अधिकारी होम सुवेदीले जानकारी दिए ।
भोजपुर हतुवागढी–४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी प्रेमिका २६ वर्षीयाको सम्बन्धबाट असार १४ मा शिशु जन्मिएकी थिइन् ।
विराटनगरको ग्रीनक्रस अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुलाई डा.कर्णले मोरङको कटहरी–२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको खुलेको थियो । प्रहरीले उनीसहित अपराधमा संलग्न ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । कर्णले उक्त बच्चाको व्यवस्थापनका लागि अविवाहित बाबुसँग पनि ३५ हजार रुपैयाँ लिएको पुष्टि भएको छ ।

कर्णको क्लिनिक ग्रीनक्रस अस्पताल नजिक छ । आफ्नो क्लिनिकमा आएकी गर्भवती युवतीलाई ग्रीनक्रसमा सुत्केरी गराएर अस्पतालकी सफाई कर्मचारी सुधा राजवंशी र क्लिनिककी सहयोगी नर्स निर्मला यादवमार्फत डा. कर्णले कटहरी–२ की दिलमाया राजवंशी र उनका छोरा सूर्यनारायणलाई उक्त शिशु ५ लाखमा बिक्री गरेको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ ।त्यसअघि डा. कर्णले ती अविवाहित जोडीबाट शिशुको व्यवस्थापन गर्ने जिम्मा लिँदै ३५ हजार रुपैयाँ लिएको पनि अनुसन्धानले खुलेको प्रहरीको राय प्रतिवेदनमा उल्लेख छ । उनीहरु सबै प्रहरीको हिरासतमा छन् ।

डा. कर्ण २०७० चैत १९ देखि २०७१ असोज १४ सम्म कोशी अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्ट थिए । उनी पक्राउ गरेपछि उक्त कार्यमा विराटनगरका अन्य प्रसूति रोग विषेशज्ञ पनि संलग्न भएको प्रहरीले शंका गरेको थियो । एमबीबीएस एमडीजीपी गरेका डा.कर्णले आफ्नो क्लिनिकवाट गर्भवती महिलालाई विभिन्न निजी अस्पतालमा पु¥याएर सुत्केरी गराउने अनि अवैध सम्बन्धबाट जन्मिएका शिशु निःसन्तान दम्पतीलाई बिक्री गर्दै आएको पाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।