विराटनगर । दूध बेचेर गुजारा चलाउँदै आएका हजारौं किसानहरु नजिकिदै गरेको दसैं टार्ने चिन्ताले पिरोलिन थालेका छन् । आफूले दूध बिक्री गरेको सहकारीले महिनौंदेखि दूधको भुक्तानी नदिएपछि किसानहरुलाई दसैं कसरी मनाउने भन्ने चिन्ता बढेको हो । ‘नेपालीहरुको मुख्य चाड दसैं नजिकै आइसक्यो तर दुग्ध विकास संस्थानलाई दूध बेचेका सहकारीका सदस्य किसानहरुले लामो समयदेखि भुक्तानी नपाउँदा कसरी दसैं मनाउने भन्ने चिन्तामा परेका छन्,’ इलामस्थित कन्याम चिलिङ सेन्टरका व्यवस्थापक रविन निरौलाले भने ।
दुग्ध विकास संस्थानको विराटनगरमा रहेको दुग्ध वितरण आयोजनाले इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सप्तरी जिल्लाबाट दूध संकलन गर्दै आएको छ । सयौं सहकारी तथा संकलन केन्द्रसँग डिडिसीले असारयता खरिद गरेको दूधको भूक्तानी दिएको छैन । डिडिसीको विराटनगर आयोजनालाई दूध बेचेर करिव ८ हजार किसानले जेठपछिको भुक्तानी पाएका छैनन् । जसले गर्दा किसानहरुलाई नजिकिँदै गरेको चाडपर्व कसरी मनाउने भन्ने चिन्ता सुरु भएको छ । किसानहरुले दसैं अगाडि नै रकम भुक्तानी गर्न सहकारी र संकलन केन्द्रमा दैनिक ताकेता गरिरहेका छन् तर डिडिसीले भुक्तानी नदिएका कारण सहकारीहरु निरिह बनेका छन् ।
विराटनगरस्थित दुग्ध वितरण आयोजनाका प्रमुख परमेश्वर चौधरीले करिव ८ हजार किसानले उत्पादन गरेको दूध खरिद गर्दै आएको बताएका छन् । ‘ठ्याक्कै किसानको संख्या त हामीलाई थाहा हुँदैन किनभने हामी सहकारी र संकलन केन्द्रहरुबाट दूध किन्छौं तरपनि मोटामोटी ७÷८ हजार किसानहरुले ती सहकारी र संकलन केन्द्रलाई नियमित दूध उपलब्ध गराउँछन् ।’
डिडिसीले जेठ महिनासम्म किसानसँग खरिद गरेको दूधको भुक्तानी गरेको छ । तर अघिल्लो आर्थिक वर्षको असार महिना र चालु आर्थिक वर्षको साउन, भदौ र असोज तेस्रोसाता गरी झण्डै चार महिनाको रकम भुक्तानी गरेको छैन । भदौ महिनासम्मको करिव ११ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी रहेको आयोजना प्रमुख चौधरीले जानकारी दिए । उनले भने ‘हाम्रो आयोजनाको मात्र होइन संस्थानका सबै आयोजनामा यस्तै अनुपातमा बक्यौता छ, हामी किसानलाई सकेसम्म दसैं अगडि नै भुक्तानी दिन पहल गरिरहेका छौं ।’
गत वर्षको पुस महिनासम्म डिडिसीलाई दूध बेच्दै आएको इलामको कन्याम चिलिङ सेन्टर अहिले बन्द भएको छ । डिडिसीले समयमा दूधको भुक्तानी नगरेका कारण धराशायी बनेको उक्त सेन्टरले डिडिसीलाई दूध बेच्न छोड्यो तर डिडिसीले परिपत्र गरेर गतवर्ष ५०० लिटरभन्दा बढी दूध उपलब्ध गराउने सम्झौता गरेका सहकारी र सेन्टरहरुलाई दिने भनेको प्रतिलिटर थप ३ रुपैयाँ र कमिशन(पिएस) वापतको करिव ७ लाख रुपैयाँ भुक्तानी गरेन । चिलिङ सेन्टरले डिडिसीको परिपत्र अनुसार सहकारीलाई रकम उपलब्ध गराए पनि आफूले भुक्तानी पाउन सकेन जसले संस्था घाटामा गई बन्द गर्नुपर्ने अवस्थामा पुगेको व्यवस्थापक निरौलाले बताए । उनका अनुसार इलामका सहकारीहरुलाई मात्र दूध बाहेक यस प्रकृतिको करिव २ करोड रुपैयाँ डिडिसीले भुक्तानी गर्न बाँकी छ ।
दूधको भुक्तानी अनियमित भएपछि किसानहरुले डिडिसीसँग सम्झौता गरेका सहकारी र संकलन केन्द्रहरुलाई दूध उपलब्ध गराउन छोडेपछि इलाममा सञ्चालित ६ वटा चिलिङ सेन्टर यसै वर्ष बन्द भएका छन् । अहिले तीन वटा सेन्टरले थोरै परिमाणमा दूध किनिरहेका छन् । अन्य जिल्लाको अवस्था पनि उस्तै छ ।
लामो समयदेखि दूधको भुक्तानी नपाएका किसानहरु जसरी पनि दसैंमा पैसा चाहियो भन्दै सहकारीहरुलाई दबाब दिइरहेका छन् । तर सहकारीहरु लाखौं रुपैयाँ भुक्तानी गर्न सक्ने अवस्थामा छैनन् । स्थानीय किसान एकराज प्रधान भन्छन् ‘दूध उत्पादन गर्न नियमित लगानी गर्नुपर्छ, गाई, भैंसीलाई दाना, औषधि आदि दिन दैनिक लगानी आवश्यक पर्छ तर चारपाँच महिनादेखि दूध बेचेको पैसा नपाएपछि किसानले कसरी थेग्न सक्छ ?’
किसानहरुले डिडिसीलाई दूध बेच्न छोडेर निजी डेरीलाई दूध दिन थालेका छन् । निजी डेरीहरुले भदौ १५ गतेसम्मको भुक्तानी दिइसकेको छ । दसैं अगाडि असोज १५ सम्मको भुक्तानी गर्ने आश्वासन निजी डेरीले दिएको छ । तर पछिल्लो समय निजी डेरीले पनि घ्यू बिक्री नभएको र बढी भएको दूधबाट पाउडर (धूलो दूध) बनाएर राख्नु पर्दा चालु पुँजी अभाव भएको खबर गाउँमा पठाइरहेका छन् । जसबाट निजी डेरीलाई दूध बेच्दै आएका किसानहरु पनि दसैंमा रकम पाउने नपाउने भन्ने संशयमा छन् ।
पछिल्लो समय डिडिसीलाई किसानले दूध बिक्री नगर्ने अवस्था आउनुमा निजी डेरी संचालकहरु पनि जिम्मेवार रहेको कन्याम चिसेका व्यवस्थापक निरौला बताउँछन् । ‘बजारमा अस्वस्थ प्रतिस्पर्धा गरी पहिले डिडिसीले भन्दा बढी मूल्य दिएर किसानसँग दूध किने, अहिले डिडिसी धराशायी हुनपुग्यो भने निजी डेरीहरु पनि किसानको दूध किन्न र समयमा भुक्तानी दिन नसक्ने अवस्था तर्फ उन्मुख भइसकेका छन्,’ उनले भने ‘अस्वस्थ प्रतिस्पर्धाको चपेटामा हामी चिलिङ सेन्टर सञ्चालक र दूध संकलन गर्ने सहकारी तथा किसान सबै परेका छौं ।’