पर्व लक्षित किनमेल सुरु, विराटनगर सुनसान जोगवनी गुल्जार

विराटनगर । चाडपर्व नजिकिदैं गइरहेको छ । चाड मनाउन सर्वसाधारणहरु खाद्यन्न तथा लत्ताकपडा आदिको किनमेलमा व्यस्त हुनथालिसकेका छन् । बजारमा चाड लक्षित सामग्रीहरुको बिक्री खुलिसकेको छ ।

चाडपर्वमा खपत हुने खाद्यवस्तुको किनमेल सुरु भइसके पनि विराटनगर बजारमा उपभोक्ताको खास भीड छैन । उपभोक्ताहरु सीमापारीको बजारमा जानेक्रमसँगै विराटनगर बजार सुनसान जस्तै देखिएको छ । बजार र पसालमा ग्राहको संख्या न्यून देखिन्छ ।

विराटनगर स्थित हनुमान मन्दिर छेउमा रहेको जय श्री कृष्ण किराना पसलमा पनि पहिलेजस्तो ग्राहकहरु किनमेलका लागि पुगेका छैनन् । पसलका कर्मचारी मिथुनकुमार भन्छन्, ‘अहिले बजारमा ग्राहकको भीड छैन, हाम्रोमा मात्र होइन अरु पसलमा पनि ग्राहक छैनन् । पहिले जस्तो सामान पनि बिक्री भएको छैन, खुद्राखाद्री बिक्री बाहेक उल्लेख्य परिमाणमा बिक्री भएको छैन ।’ उपभोक्ताहरुले दाल, गेडागुडी र चाउचाउ बढी किनिरहेको उनले बताए । अरु धेरै वस्तुहरु बिक्री नभएको अवस्था आउनुको कारण उपभोक्ताहरुले भारतीय बजार जोगवनीबाट आफ्नो आवश्यकता पूरा गरिरहेको अनुमान व्यापारीहरुले गरेका छन् ।

भारतीय बजारमा भन्दा दाल तथा गेडागुडी नेपाली बजारमा सस्तोमा पाइने भएकोले त्यस्ता वस्तु मात्र यहाँबाट किन्ने गरेको व्यापारीहरु बताउँछन् ।बजारमा चिनीको माग पनि खासै छैन । विराटनगरमा प्रतिकिलो ८५ रुपैयाँमा चिनी पाइन्छ । तर चिनीको बिक्री खासै नभइरहेको उनीहरुले बताएका छन् । भारतीय बजारमा प्रतिकिलो ६५ रुपैयाँमा पाइने भएकोले चिनी किन्नकै लागि ग्राहकहरु जोगवनी पुग्ने गरेको उनीहरुको अनुमान छ ।

चाडवाडको बेलामा जोगवनीबाट सर्वसाधारणले १० किलोसम्म चिनी ल्याउँदा भन्सारले खासै कडाइ गर्दैन । नाका खुला भएकोले जोगवनी गएर खाद्यन्न लगायत किराना सामान र लत्ताकपडा किनमेल गर्ने नेपाली ग्राहकको भीड उता लागिरहेको छ । विराटनगर बजार सुनसान हुँदा नेपाली उपभोक्ताकै कारण जोगवनी गुल्जार बनेको छ ।

मङ्गलबार, १६ असोज, २०८०, बिहानको १०:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर