विराटनगर । कोशी प्रदेशमा दूधको उत्पादन बढेपछि नयाँ बजारको खोजी गर्न थालिएको छ । मागभन्दा बढी दूध उत्पादन हुन थालेपछि यहाँका डेरी उद्योगीहरुको टोली नयाँ बजार खोजी गर्न यतिबेला बंगलादेश भ्रमणमा छ ।
ऋतिका डेरी उद्योग, कामधेनु डेरी उद्योग, सगरमाथा विशिष्टीकृत सहकारी संस्था र नेपाल डेरी एशोसिएसनसमेतको प्रतिनिधिमण्डल बंगलादेशमा दूध निर्यातको सम्भावना अध्ययन गर्न त्यस तर्फ गएको सूर्योदय मिल्क एण्ड बेभरज इण्डष्ट्रिजका सञ्चालक अनुज यादवले जानकारी दिए ।
पछिल्ला दिनमा कोशी प्रदेशमा व्यवसायिक गाई पालनमा उल्लेख्य प्रगति भएको र दूध उत्पादन निरन्तर बढिरहेको छ । जसले गर्दा बजारमा मागभन्दा बढी दूध आपूर्ति भइरहेको छ । उत्पादित दूध बजारमा खपत नभएपछि व्यवसायीहरु नयाँ बजारको खोजीमा लागेका हुन् ।
दूधको उत्पादन बढेसंगै कोशी प्रदेशमा दूधबाट पाउडर उत्पादन गर्ने प्लान्टहरु पनि थपिएका छन् । यतिबेदला तीनओटा डेरी उद्योगले पाउडर दूध उत्पादन गरिरहेका छन् । जेठ महिनासम्म एउटा उद्योगले मात्र पाउडर उत्पादन गरिरहेको थियो । अहिले तीनओटा प्लान्टले निरन्तर पाउडर बनाइरहेका छन् । यति हुँदा पनि किसानले उत्पादन गरेको सबै दूध खपत हुनसकेको छैन । जसले गर्दा दूध संकलन गर्दै आएका सहकारीहरुले अघोषित रुपमा मिल्क होली–डे लागु गरिरहेका छन् ।
दूध उत्पादन बढेपछि खेर जान नदिन दूधलाई पाउडरमा परिणत गरेर मौज्दात राख्न थालिएको हो । किसानले उत्पादन गरेको दूध सहकारीहरुले संकलन नगर्दा किसानहरुले अहिले अघोषित मिल्क होली डे सामना गरिरहेका छन् । पाँच लिटरभन्दा कम उत्पादन गर्ने किसानको साँझको दूध डेरीहरुले संकलन गर्न छोडेका छन् । यसले किसानहरु समस्यामा परिरहेको भेषराज आचार्यले बताए । उनले भने ‘पाँच लिटरभन्दा कम उत्पादन गर्ने किसानबाट सहकारीले एक साँधको दूध किनिरहेको छैन, यो मिल्क होली–डे कै अवस्था हो ।’
केही महिनायता दूध उत्पादनमा निरन्तर वृद्धि भइरहेका कारण उत्पादित दूधको व्यवस्थापन गर्ने चुनौती डेरी उद्योगहरुले व्यहोर्नुपरेको छ ।
गएको फागुन महिनासम्म उत्पादित दूध जेनतेन बजारमा खपत भएको र त्यसपछि बजारको मागभन्दा बढी दूध बजारमा आउनेक्रम अहिले निरन्तर छ । फागुन चैत महिनासम्म विराटनगरको सूर्योदय मिल्क एण्ड बेभरेज इण्डष्ट्रिजले बढी भएको दूधलाई पाउडरमा रुपान्तरण गर्दै आएकोमा अहिले तीनओटा उद्योगले पाउडर बनाइरहेका छन् । कोशी प्रदेशमा तीनओटा पाउडर प्लान्ट सञ्चालन भएपनि किसानले उत्पादन गरेको सबै दूध खपत नहुने अवस्था आएको डेरी उद्योगका सञ्चालकहरुले जानकारी दिए ।
कोशी प्रदेशमा दुग्ध विकास संस्थान, सगरमाथा विशिष्टीकृत दुग्ध सहकारी संस्था लिमिटेड र सूर्योदय मिल्क एण्ड बेभरेज इण्डष्ट्रिजले केही समययता निरन्तर पाउडर उत्पादन गरिरहेका छन् । किसानबाट संकलन भएको सबै दूध बजारमा खपत नभएका कारण डेरी उद्योगहरुले पाउडर बनाएर दूध मौज्दात राखिरहेका छन् ।
दूधको उत्पादन बढेसँगै दैनिक ८ हजार लिटर दूध संकलन गर्दै आएको दुग्ध विकास संस्थानको विराटनगरस्थित दुग्ध वितरण आयोजनाले दैनिक २५ हजार लिटर दूध संकलन गर्न थालेको छ । संकलितमध्ये दैनिक ६ हजार लिटर हाराहारी दूधले मात्र बजार पाइरहेको डिडिसीका आयोजना प्रमुख परमानन्द चौधरीले जानकारी दिए । संस्थानको ढल्केबर र हेटौडा आयोजनाबाट पनि खपत नभएको दूध पाउडर बनाउन विराटनगर आइरहेको उनले भनेका छन् ।
दुग्ध वितरण आयोजना विराटनगरसँग अहिले ४० हजार किलोग्राम धूलो (पाउडर) दूध र ७० हजार किलो नौनी (बटर) मौज्दात छ । डिडिसीले आफ्नो १० मध्ये ७ संकलन केन्द्रबाट नियमित दूध संकलन गर्दै आएको छ । इलामको कुटीडाँडा, लक्ष्मीपुर र पुवाखोला संकलन केन्द्रबाट भने अहिले दूध संकलन बन्द गरेको आयोजना प्रमुख चौधरीले जानकारी दिए ।
यस्तै विभिन्न ४२ दूग्ध सहकारीहरु मिलेर स्थापना भएको सगरमाथा विशिष्टीकृत सहकारी संस्थाले प्रदेश सरकारको सहयोगमा स्थापना गरेको पाउडर प्लान्ट औपचारिक रुपमा उद्घाटन भइसकेको छैन । तर साउन १५ मा परीक्षण उत्पादन गरको प्लान्ट त्यसयता निरन्तर सञ्चालन भइरहेको छ । अहिलेसम्म झण्डै ५ लाख लिटर दूधको पाउडर बनाइसकेको संस्थाका व्यवस्थापक मेघराज लुइँटेलले जानकारी दिए । तर पनि किसानहरुले उत्पादन गरेजति सबै दूध सहकारीहरुले लिन नसक्ने अवस्था देखिएको उनले बताए । दूधको उत्पादन बढेको तर बजार नबढ्दा उत्पादित दूधको खपतमा समस्या देखिन थालेको उनको भनाइ छ । सुनसरीको तरहरा स्थित कामधेनु डेरी उद्योगले गतवर्षको भदौ असोज महिनामा दैनिक १० हजार लिटर दूध संकलन गर्दै आएकोमा यस पटक दैनिक १५ हजार लिटर संकलन गरिरहेको जनाएको छ ।
यसैगरी विराटनगरमा सञ्चालित सूर्योदय मिल्क एण्ड बेभरेज इण्डष्ट्रिजले नियमित रुपमा धूलो दूध उत्पादन गरिरहेको जनाएको छ । उद्योगका सञ्चालक अनुज यादवले दूधको उत्पादन बढेको र बजार केही घटेको अवस्थाले असन्तुलन देखिएको जानकारी दिए । सूर्योदयमा सिराहा, झापा, मोरङ र सुनसरीका विभिन्न डेरी उद्योगहरुले संकलन गरेको दूध पाउडरमा परिणत गर्न ल्याउने गरेका छन् ।