तुलसी सहकारी घोटला प्रकरण

झण्डै १७ करोड हिनामिना, ४१ करोड ६३ लाख गैरकानूनी लगानी !

विराटनगर । विराटनगरमा रहेको तुलसी बहुउद्देश्य सहकारी संस्थाले ४१ करोड ६३ लाख भन्दा बढी रकम नियमविपरीत लगानी गरेको अनुसन्धानबाट खुलेको छ । यस्तै उक्त सहकारीले झण्डै १७ करोड रुपैयाँको हिसाव नै नराखेको पाइएको छ ।

सहकारीको कूल निक्षेप १ अर्ब ६५ करोड ६५ लाख ९३ हजार २९१ रुपैयाँ अनुसन्धानबाट खुलेको छ । उक्त संस्थाबाट ऋण तथा लगानी भएको रकम १ अर्ब ४८ करोड ६८ लाख ५० हजार ७५१ रुपैयाँ छ । हिसावमै नभएको (श्रेष्तामा नदेखिएको) रकम १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ रहेको छ । यस्तै सहकारीले नियमविपरीत प्रा.लि. कम्पनीहरुमा ऋण लगानी ४१ करोड ६३ लाख ९५ हजार ३८७ रुपैयाँ गरेको मोरङ प्रहरीले गरेको अनुसन्धान र लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीले गत मंगलबार सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित ८ जना संचालकहरू विरुद्ध ठगी मुद्दा दायर गरेको छ । फरार सूचीमा प्रतिवादी बनाएर सहकारीका अध्यक्ष शर्मा, संचालक समितिका सदस्यहरु बन्टी अधिकारी, आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई, छविलाल विश्वकर्मा, क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई प्रतिवादी बनाए ठगीमा मुद्दा दर्ता भएको थियो । सहकारीको रकम अपचलन गरी ठगी मुद्दामा पक्राउ परेका आरोपीहरुको बयान मोरङ अदालतमा बुधबार नै सकिएको छ । आजबाट थुनछेक बहस सुरु भएको छ ।

उनीहरुलाई सहकारी ऐन २०७४ को दफा १२२ को उपदफा (ख), (घ), (ङ), (च) र (ज) बमोजिम ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय र उपदफा (१) को देहाय (घ) तथा (५) बमोजिम विगो ५० करोड ८८ लाख ७८ हजार ७२८ रुपैयाँ जाहेरवालाहरुलाई र विगो १६ करोड ९७ लाख ४२ हजार ५४० रुपैयाँ तुलसी सहकारी संस्थालाई भराई विगो बमोजिम जरिवना तथा कैद सजाय माग दाबी लिएर जिल्ला सरकारी वकिलको कार्यालय मोरङले जानकारी दिएको छ ।

सहकारीका संचालकहरुले ३ हजार ६३ जना सर्वसाधरणको जम्मा गरेको एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९९१ रुपैयाँ रकम हिनामिना गरेको आरोप छ । तुलसीको चार वटा शाखा रहेको छ । विराटनगरमा केन्द्रीय कार्यालय सहकारीबाट सबैभन्दाबढी सदस्य रहेको छ । विराटनगरमा १ हजार ९ सय ७८ जनाले ६० करोड ४१ लाख ८ हजार ८६२ रुपैयाँ बचत गरेका छन् । उनीहरुले ठगी गरेको भन्दै १ हजार ३०७ जना बचतकर्ताले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी गरेका छन् ।

अभियोग पत्रमा प्रतिवादीको बयान

प्रहरीले गरेको अनुसन्धानका क्रममा लिएको बयानमा प्रतिवादीहरुले आफूहरुले गैरकानूनी लगानी गरेको र यसको मुख्य जिम्मेवार अध्यक्ष केदार नाथ शर्मा नै रहेको जिकिर गरेका छन् । अध्यक्षपछिको मुख्य जिम्मेवारीमा रहेकी सचिव सविना न्यौपानेले ‘अध्यक्ष केदारनाथ शर्माले संचालन गरेका प्रा.लि. कम्पनीहरुमा कर्जा लगानी भएको कारण त्यस्तो कर्जाको साँवा र ब्याज फिर्ता नभएकाले सहकारी टाट पल्टेको’ बयान दिएकी छिन् ।

उनले सहकारीले ऐन विपरीत ऋण लगानी गरेको थाहा हुँदाहुँदै पनि अध्यक्ष शर्माको दबाबले लगानी गर्न बाध्य भएको स्पष्ट पारेकी छिन् । ‘उक्त ऋणहरु सहकारी ऐन,२०७४, सहकारी नियमावली, २०७५ तथा सहकारी संस्थाको कर्जा लगानी तथा असुली सम्बन्धी नियमावली विपरीतको कर्जा भएकाले पारित गरी लगानी गर्न कानूनतः मिल्दैन थियो,’ अभियोग पत्रमा उनले दिएको बयानमा उल्लेख छ, ‘कानून विपरीत भन्ने यथेष्ट जानकारी हुँदा हुँदै पनि तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष संचालक रहेका प्राईभेट कम्पनी र फर्महरुमा कर्जा लगानी भइरहेको थियो ।’

उनले अध्यक्ष शर्माको नाममा रहेको तुलसी कृषि अनुसन्धान केन्द्र प्रा.लि.को नाममा जग्गा खरिद गरेर पछि व्यक्तिको नाममा बनाइएको पनि खुलासा गरेकी छिन् । ‘तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्माको नाममा दर्ता रहेको तुलसी कृषि अनुसन्धान केन्द्र प्रा.लि. को लागि जग्गा खरिद गर्न उदयपुर जिल्लाको खाँबु भन्ने स्थानमा संस्थाका अध्यक्ष केदारनाथ शर्माले दुई हजार रोपनी जग्गाको कुरा गरी फाइनल गरेका थिए । हाल सुन्नमा आउँदा १ वर्ष अगाडि तीन सय रोपनी जग्गा अन्दाजी ५ करोडमा खरिद गरी जग्गा पास गर्ने बेलामा उक्त जग्गा केही तुलसी अनुसन्धान केन्द्रको नाममा पास गरी अन्य जग्गा मन्दिप खवास, केदारनाथ शर्मा र सिताराम अधिकारीको नाममा पास गरिएको छ,’ बयानका क्रममा उनले भनेकी छिन् ।

सहकारीकी विराटनगर शाखाकी मेनेजर सुरुची पोखरेलले पनि बयानका क्रममा गैरकानूनी ढंगले लगानी गरेकै कारण सहकारी डुबेको उल्लेख गरेकी छिन् । ‘धेरै कर्जाहरु सहकारीको नियम विपरीत कर्जा, लगानी गर्न नमिल्ने कम्पनी र प्रा.लि.मा प्रवाह भएको देखिन्छ भने केही कर्जाहरु बिजनेस टु नाम दिई बिना धितो ऋणमा देखाईएको छ,’ पोखरेलले लिखित रुपमा दिएको बयानमा उल्लेख छ, ‘प्रवाह भएका कर्जाहरुमा व्यापार कर्जा, मुद्धती कार्ड कर्जा र व्यापार कर्जा बाहेक अन्य कर्जा प्रवाह गर्दा धितो जमानतसमेत राखेको देखिँदैन । …….संस्थाको रकम अपचलन गरी हिनामिना गर्ने कार्यमा मुलतः सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा र सचिव सविना न्यौपानेको भूमिका रहेको छ ।’

बिहिबार, २३ चैत, २०७९, रातीको ०८:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर