लोड हुँदैछ...

मेनु

आफ्नै बगानको चियालाई विश्वबजारमा चिनाउने दौडमा इलामका ‘बुद्ध’

आफ्नै बगानको चियालाई विश्वबजारमा चिनाउने दौडमा इलामका ‘बुद्ध’

विराटनगर । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने आम युवा पुस्ताहरुको धारणा खासै सकारात्मक भेटिदैन ।
कोही यहाँका राजनीतिक प्रणालीदेखि दिक्क छन्, कोही कहिल्यै नसुध्रिएका नेताहरु प्रति आर्कोस पोख्छन् । पढेर पनि नेपालमा काम नपाइने जस्ता गुनासोले भरिएका थुप्रै युवाहरुको दुखेसो नसुनिएको पनि होइन् । देशको विविध परिस्थिति र परिवेशलाई औँल्याउदै अधिकांश युवाहरुको पढाइ र राजिरोटीको अन्तिम गन्तव्य युरोप, अमेरीका, दुवई, कतार बन्छ ।
त्यसो त नेपालमा अवसर नभेटेको युवाहरुको भीडबाट आफूलाई बाहिर निकालेर आफ्नै देशको माटोमा सम्भावना खोज्दै संघर्ष र सफलताको बाटोमा हिँडिरहेका युवाहरु पनि भेटिन्छन् ।

त्यही भीडमध्ये व्यवसायिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने दौडमा दौडिरहेका इलाम सुर्योदय नगरपालिका– १४ ठूलो बर्दुका बुद्ध भुषण योन्जन यतिबेला आफू जन्मेर हुर्केको माटोमा स्वर्णिम भविष्य खोजिरहेका छन् । उनी होराइजन बर्दु भ्याली टी इन्डस्ट्रिजका सञ्चालक हुन् । त्यसो त उनको परिचय एउटा उद्योगीले मात्रै पनि पुग्दैन खेलकुद क्षेत्रका लागि फोटोपत्रकारितामा आफ्नो छुट्टै छाप छोडेका छन् ।

इलामको प्राकृतिक सुन्दरता, त्यहाँको उर्बर माटोसँग खेल्दै चियाका पातहरुसँग साउति मार्दैे उनको गाँउमै बाल्यकाल बित्यो ।
जब उमेरको खुड्किलाले सिँडी थप्दै गयो गाँउ छोडेर प्राविधिक बन्ने सपनाको हुटहुटीले उनलाई शहरतिर तान्यो । घण्टौं दूरीसम्म पैदल हिँडेर स्कुले जीवन बिताएका उनी ०५३ सालको एसएलसी सकेलगत्तै सवइन्जिनियर पढ्नका लागि बिर्तामोड हानिए । त्यसो त उनको सपना त्यतिमा मात्रै रोकिएन । सवइन्जिनियरको पढाइ सकेर संगीत सिक्ने र गायक बन्ने सपनाको होडबाजीसँगै काठमाण्डौ टेक्ने निधो गरे । नयाँ ठाँउ, नयाँ परिवेश उनका लागि काठमाण्डौ शहर मात्रै नयाँ थिएन, त्यहाँको माटो, हावापानी सबै अपरिचित थियो ।

उनीसँग परिचित थियो त विर्तामोडदेखि मनमा सझाएर ल्याएको कलाकार बन्ने सुन्दर सपना मात्रै । त्यही सपना पनि उनको मानसपटलबाट कहिलेकाँही बाक्लो शहरमा कतै हराए झैँ अनुभूति नभएको पनि होइन । यद्यपि रहरै रहरले भरिएको शहरमा बाँच्नै पर्ने बाध्यता रहेको उनी सुनाउँछन् ।

द्वन्द्वको घाउले सपनामा चोट लाग्यो

‘घर छोड्दा गाँउ शान्त थियो, एक्कासी माओवादी द्वन्द्व चर्किएसँगै म घर फर्किन सकिन ।’ उनी विगत सम्झिदै सुनाउँछन् । माओवादी शसस्त्र द्वन्द्वको समय उनको परिवारमा आइपरेको बज्रपातका क्षण अझै उनको मानसपटलमा क्यानभास झैँ कोरिएका छन् । त्यो क्षण चाहेर पनि भुल्न नसक्ने उनी सुनाउँछन् । ०५८ सालमा इलामको घरमा माओवादीले पैसा, सुन लुटिदिएको बताउदै उनले सम्पत्ति मात्रै लुटिएन परिवार नै विस्थापित भएर शहर पस्न बाध्य बनेको बताए । उनी भन्छन्, ‘द्वन्द्वको समय घर लुटिएपछि सपनामा पनि चोट लाग्यो, त्यही दिनबाट मेरो संघर्षको यात्रा सुरु भयो ।’ प्राविधिक शिक्षा अध्ययन सकेर गायक बन्ने सपनाले काठमाण्डौ हान्निएका उनी परिवार गाँउबाट विस्थापित भएसँगै यात्राले अर्कै बाटो मोडिएको सुनाउँछन् । परिवारको जिम्मेवारी र आफू बाँच्नका लागि काठमाण्डौमा ट्याक्सी चालक भएर यात्रु र तिनको गन्तव्य खोज्दै सपना तुहिएका थुप्रैवटा तीता अनुभव र अनुभूतिहरु उनले संगालेर राखेका छन् । समय र बाध्यताले अप्ठ्यारो परिस्थितिमा पनि जिउन सिकाएको बताउने उनी त्यही शहरले पीडा र खुशी मिलाएर दिएको बताउछन् । ७ महिनासम्म चालक भएर काम गर्दाका तीतामीठा अनुभूतिसँगै अप्ठ्यारोसँग बाँचेको जीवनलाई सहज बनाउदै धैर्यताका साथ अघि बढेको उनको यात्रा काठमाण्डौको एउटा प्रोजेक्टमा जागिर पाएसँगै केही सहज भएको उनी सुनाउँछन् ।

भाइको मृत्युले यात्रा मोडियो

०६८ साल कात्तिक ३ गते उनको जीवनले अर्कै मोड लिन्छ होला भन्ने सोचेका पनि थिएनन् । तर, उनले त्यो समय प्रिय पात्र गुमाउनु परेको थियो । अर्थात् उनको कान्छा भाइ सवारी दुर्घटनाम परि मृत्यु भएको खबरले उनको परिवार क्षणभरमा शोकमा डुव्यो । भाइको वियोगमा विक्षिप्त बनेका बुबाआमाको खुसी र भाइको तृष्णा मेटाउन जागिर छोडेर आफ्नै माटोमा केही गर्ने सोचले पुनः चियासँग साइनो जोड्न सुरु गरेको उनले सुनाए । त्यही दिनबाट उनी आफ्नै माटोमा पसिना बेचिरहेका छन् ।

‘आप्पाआमा’को त्यो सपना

आफ्नो मान्छे गुमाउनु नियतिको खेल हुँदो हो, आफ्नो मान्छे जन्मेको जमिनसँगै जोडियोस् भन्ने बुबाआमाको सपना रहेको उनी बताउँछन् ।११९५ बाट हजुरबुवा थरी जमानसिंह तामाङले सुरु गरेको चिया खेतीमा आफ्नै सन्तानले मलजल गरोस् भन्ने उनको बुबाआमाको सपना रहेको र त्यही सपना पूरा गर्नु पनि अहिलेसम्म प्रतिबद्ध भएर लागेको उनी सुनाउँछन् ।
‘भाइ गुमाउँदाको पीडा छँदैछ, तर, यही माटोमा बस्न मेरो आपा र आमाको सपना थियो,’ उनी सुनाउँछन्, ‘आमा त अहिले हामीबीच हुनुहुन्न, आपासाथै हुनुहुन्छ उहाँहरुको सपनालाई मर्न दिनुहुँदैन भन्ने लागेर पनि म यही दुःख गरिरहेको छु ।’ बाल्यकालदेखिको चियासँगको साइनो व्यवसायसम्म पु¥याउन खोज्दा जीवनमा धेरै संघर्षका जंगार तरेका छन् । भएको पैतृक सम्पत्ति लुटिएर शुन्य हुँदा र आफूलाई त्यहाँबाट उठाउँदा धेरैवटा रात अनिन्दो बिताएको उनी सुनाउँछन् । ०६९ सालबाट आफ्नै गाँउ फर्किएका उनी सवइन्जिनियरको विद्यार्थीको हैसियतले काम गरे, कहिले फोटोपत्रकारिता त कहिले सवारी चालक कुनै रहरका त कुनै बाँच्नका लागि जोडिएको पेशा रहेको उनी सुनाउँछन् । ‘पढाई फरक छ, आफूले रोजेको पछिल्लो पेसा फरक छ, समयसँगै दौडिनुपर्ने मान्छेको जीवन रहेछ,’ उनी सुनाउँछन्, ‘तर, म उद्योगी बनेर पनि खुशी नै छु, आपाआमाको सपना पुरा गरेको छु ।’

जीवनमा अनेकन दुःख बेहोर्दा पनि कहिल्यै विदेशीने सोच नआएको बताउने उनले अहिले आफ्नो चिया उद्योगमा मात्रै १० जनालाई रोजगार दिएका छन् भने बगानमा गाँउका महिला दिदीबहीनीहरुलाई आत्मनिर्भर बन्न पे्ररित बनाएका छन् ।

उद्योगमा कामदार अभाव

पछिल्लो समय वैदेशिक रोजगारीमा युवाहरुको बढ्दो आकार्षणसँगै उद्योगमा कामदार अभाव हुने गरेको उनी सुनाउँछन् । कामदारको अभावले उद्योग सञ्चालमा केही चुनौती बढ्दै गएको समेत उनको अनुभव छ । गाँउका युवाहरु वैदेशिक रोजगारीमा जाने क्रेज बढेसंगै उद्योगमा कामदार अभाव हुन थालेको छ, उनी भन्छन्, रेडियो एफेमको विज्ञापनले पनि युवाहरुलाई विदेशीन प्रेरित गर्ने रहेछ, गर्न सके यहिँ राम्रो कमाइ छ ।’

नेपाली चिया विश्वबजारमा चिनाउन सकस

नेपालको चियालाई विश्वबजारमा परिचित गराउन निक्कै सकस हुने गरेको उनी सुनाउँछन् । विश्वबजारमा दार्जिलिङ चियाले नेपालको चियालाई असर गरेको बताउने उनी यसका लागि नेपाल सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिन्छन् । उत्कृष्ट हावापानी, उर्बर माटोमा उम्रिएको चियालाई नेपालले विश्वबजारीकरण गर्न नसक्नु कतै राज्य पक्षबाट पनि केही कमिकमजोरी भएको उनी बताउँछन् ।

‘दार्जिलिङको चिया भन्दा नेपालको चिया उत्कृष्ट हुन्छ, उचित हावापानी उत्पादनको हिसाबले ३० देखि ४० वर्षसम्मको छ दार्जिलिङमा २ सय देखि डेढ सय वर्षको बोट छ, ‘उनी भन्छन्, ‘नेपालमा विषादी प्रयोग गर्दैनौ तर विश्वबजारमा हामी डोमिनेट छौँ, यसमा जबसम्म सरकारको तर्फबाट नीतिगतरुपमा ठोस निर्णय हुँदैन तबसम्म चुनौती छ ।’

नेपालको चियालाई सस्तोमा खरिद गरेर दार्जिलिङ ब्राण्ड दिने गरेको बताउँदै उनले नेपालको चियामा स्वाद, क्वालिटी उत्कृष्ट हुने गरेको बताए । उनी भन्छन्, ‘नेपालमा प्रतिकेजी ६५ लाख केजी प्रतिवर्ष चिया उत्पादन हुन्छ त्यो कहाँ जान्छ त ?’ उनी आफूले उत्पादन गरेको चिया भारतीय बजारमा बिक्री वितरण गर्दै आइरहेका छन् भने कोभिड अगाडि अमेरिकामा पनि आफ्नो ब्राण्ड बिक्री गर्न सफल भएका छन् । कोभिडपछि बिस्तारै लयमा फर्किदै गरेको चिया व्यवसाय आफ्नो ब्राण्ड विश्वबजारमा पु¥याउने लक्ष्य रहेको उनी सुनाउँछन् ।

परिवारको बलियो साथ

आफ्नो कामप्रति उत्तरदायी भए जिरोबाट पनि उठ्न सकिने बताउने उनी परिवारको दर्बिलो साथ नहुँदो हो त सफलता प्राप्त गर्न नसक्ने बताउँछन् । आफू शून्य हुँदा पनि आपाआमा र श्रीमतीको बलियो साथले थप हौसला मिलेको उनी सुनाउँछन् ।
‘मलाई दुःखपर्दा आपाआमा, श्रीमतीको साथ पाएँ । अहिले जेठा छोराले पनि व्यापारमा साथ दिँदै आएको छ, सानो छोरा पढ्दैछ, परिवारको साथले पनि केही गर्न सकेको छु, उनी सुनाउँछन्, ‘अझै केही गर्ने योजनाहरु त छँदैछन् ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।