लोड हुँदैछ...

मेनु

स्वदेशमा उद्योग खोल्न र सञ्चालन गर्न कठिन

स्वदेशमा उद्योग खोल्न र सञ्चालन गर्न कठिन

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले स्वदेशमा उद्योग खोल्न र सञ्चालन गर्न कठिन रहेको बताएका छन् ।

महासंघले आयोजना गरेको औद्योगिक करिडोर क्षेत्रका उद्योगको विगत र वर्तमान अवस्था विषयमा गरेको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

राउतले माग पक्षको पर्याप्त अध्ययन विना उद्योग स्थापना र सञ्चालन गर्दा उद्योग स्थापनासँगै अतिरिक्त जोखिम पनि रहने हुनाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । आन्तरिक उत्पादनलाई प्राथमिकता दिने नीति र अभ्यास नहुनु, भन्सार नीति र प्रशासनमा रहेका समस्याका कारण कच्चा पदार्थ र अन्तिम उत्पादनमा समान कर तथा शुल्क तिर्नुपर्ने अवस्था रहनु, भन्सार छलेर आयात हुने अवस्थालाई सरकारी अन्देखा गर्नुलगायत कारणले स्वदेशी उद्योग संचालन हुन कठिन रहेको उनको भनाइ थियो ।

उनले स्थानीय उत्पादन भन्दा आयातित बस्तुको बजार मुल्य कम हुनु, विगतमा रहेको अत्याधिक विद्युत कटौतीका कारणले उत्पादन लागत उच्च हुनु, सरकारले पूँजीगत खर्च गर्न नसक्नु, कतिपय उद्योगमा विना अध्ययन वाह्य लगानी भित्रयाइनु आदि कारणले पनि स्वदेशमा उद्योग खोल्न र सञ्चालन गर्न कठिन रहेको बताए ।

कार्यक्रममा बोल्दै रिलाएन्स स्पिनिङ उद्योगका महेश पोख्रेलले आन्तरिक आय र रोजगारी सिर्जना गर्ने टेक्सटायल उद्योग बचाउने विषयलाई सरकारले प्राथमिकता नदिँदा सुनसरी मोरङका १० भन्दा बढी ठूला टेक्स्टाइल उद्योग बन्द भएको बताए । प्रगति टेक्स्टाइललका प्रदिप निरौलाले नेपाल सरकारले टेक्स्टाइल उद्योग बचाउनका लागि गैर कानुनी रुपमा कपडा पैठारी रोक्नु नै पर्याप्त हुने बताए । कपडाको खपत सम्बन्धी तथ्याङ्क प्रस्तुत गर्दै उनले वार्षिक ८० करोड मिटर कपडा माग नेपालमा भएकोमा आन्तरिक उत्पादन करिव ६ करोड मिटर र आयात करिव ४ करोड मिटरको तथ्यांक मात्र सरकारसँग रहेको बताउँदै यसबाटै कपडाको गैरकानुनी आयात ठूलो मात्रामा छ भन्ने स्पष्ट पार्ने बताए ।

रघुपती जुट मिलका निर्देशक सोमनाथ अधिकारीले जुट उत्पादन बन्द हुनु वा उद्योग रुग्ण हुनुको मुख्य कारण भारतले लगाएको एन्टी डम्पीङ नीति अन्तरगतको नियन्त्रण रहेको बताए । भारतमा कुल जुट उत्पादनको बजारको २ प्रतिशत भन्दा कम हिस्सा भएको नेपाल जुटका उत्पादनलाई रोक्नुपर्ने कारण नभए पनि नेपाल सरकारले पर्याप्त कुटनीतिक प्रयास गर्न नसक्दा हालसम्म बन्देज नहटटेको उनले बताए ।

कार्यक्रममा कृषिमा आधारित उद्योग, दुग्ध प्रशोधन उद्योग आदिलाई कृषि उत्पादनसँग जोड्न नसक्दासम्म जोखिम रहने हुनाले यसलाई ध्यान दिनुपर्नेमा सो क्षेत्रका उद्योगीहरुले जोड दिएका थिए । कार्यक्रममा द एशीया फाउण्डेशनको सहयोगमा भएको हो ।

कार्यक्रममा औद्योगिक करिडोर क्षेत्रमा विगतमा तामाको तार, बनस्पती घिउ, जिङ्क अक्साइड, प्लास्टीक उद्योग लगायतका ठूला, मझौला र साना उद्योग बन्द भएको औल्याउँदै सहभागिहरुले त्यसका कारण खोजी गरेर आगामी रणनीति निर्धारण गरिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।