विराटनगर । विराटनगर – ३ मा मुख्य कार्यालय रहेको तुलसी बहुउद्देश्यीय सहकारीको रकम अपचलन प्रकरणमा सहकारीका थप एक जना पक्राउ परेका छन् । फरार रहेका सहकारीका सिए सितल चन्दलाई मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।
चन्दसहित यसअघि पक्राउ परेका सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिब सविना न्यौपानेलाई ठगी मुद्दामा मोरङ अदालतमा म्याद थप गरी अनुसन्धान सुरु भइरहेको डिएसपी दाहालले बताए ।
सहकारीका संचालकहरुलाई पक्राउ गरेपछि उनीहरु विरुद्ध मोरङ प्रहरीमा ठगीमा उजुरी दिने बचतकर्ताको संख्या पनि बढेको उनले बताए । सोमबार साझसम्म १ हजार २ सय ३७ जनाले ४८ करोड ४६ लाख रुपैयाँ ठगी गरेको भन्दै मोरङ प्रहरीमा उजुरी दिएका छन् । यो संख्या अझै वृद्धी भएर जाने उनले बताए । ‘अहिले पनि सयौंको संख्यामा सहकारीविरुद्ध उजुरी दिन आउने बचर्तकर्ताहरूको भिड लागेको छ,’ डिएसपी दहालले भने, ‘यो संख्या अझै बढेनेछ ।’
सर्वसाधरणले बचत गरेको अर्वो रुपैयाँ हिनामिना गरेको आरोपमा सहकारी संस्थाका अध्यक्ष शर्मासहित ८ जना संचालक विरुद्ध मोरङ प्रहरीले ठगी मुद्दामा जाहेरी दर्ता गरेर अनुसन्धान सुरू गरेको छ । फरार अध्यक्ष शर्माको खोजी कार्य पनि प्रहरीले तिव्र बनाएको छ ।
सहकारीका संचालकहरुले २१ हजार ७१३ जना सर्वसाधरणको जम्मा गरेको एक अर्ब ४८ करोड ५५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । उजुरी दिन आउने मोरङको मात्र हो । झापा, सिराह र गाइघाटको विवरण आउनै बाँकी छ ।
‘बचतकर्ताहरूको रकम फिर्ता नदिई फरार रहेको हुँदा बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत, कर्मचारी चल्ती बचत, विशेष बचत, साधारण बचत लगायत खाताहरूमा बचत भएको देखिन्छ,’ मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेलले भने, ‘संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशत भन्दा बढी व्याज, बोनस लगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा परी जाहेरवालाहरूले आफ्नो तथा बालबच्चा सहित परिवारका अन्य सदस्यहरूको सुरक्षित भविष्यको आशामा बचतकर्ताहरूले ठुलो रकम बचत गरेको देखिएको छ ।’
सहकारीका ८ जना सञ्चालकविरुद्ध उजुरी परेको छ । त्यसमध्ये प्रबन्धक खवास, उपाध्यक्ष गौतम र सचिब न्यौपाने लाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहको छ । फरार सूचीमा अध्यक्ष शर्मा, संचालक सदस्यहरूमा आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई, अविजाल विश्वकर्मा र बन्टि अधिकारी रहेका छन् । उनीहरूको हकमा मोरङ प्रहरीले आइतबार पक्राउ अनुमति मोरङ अदालतसँग गरेको छ ।
तुलसी सहकारीबाट ठगीमा परेका पीडितहरुको लागि मोरङ प्रहरीले जुनियर अपिसरको नेतृत्वमा छुट्टै निवेदन दिने काउन्टर राखेर जाहेरी लिन थालेको छ ।
यो सहकारीमा सर्वसाधारणको १ अर्ब ४८ करोड ५५ लाख रुपैयाँ निक्षेप छ । मुख्य कार्यालय विराटनगर रहेको यो सहकारीको झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा शाखा कार्यालय छन् ।

