तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका २ खाम्लालुङ स्थित पर्यटकीयस्थल झाँक्री गुफा परिसरमा आयोजित प्रथम ऐतिहासिक आठराई गाउँपालिका रनिङ कप २०७९ को उपाधि फेदाप गाउँपालिकाले हात पारेको छ ।
खुल्ला पुरुष फुटबलतर्फ आठराईलाई २ गोल गर्दै फेदाप गाउँपालिकाले उपाधि हात पारेको हो । बिजेता फेदापले नगद १ लाख ५० हजार रूपैयाँ, ३ वर्षे रनिङ कपसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता बनेको आठराई गाउँपालिकाले नगद १ लाख रूपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ ।
खुल्ला भलिबल तर्फको उपाधि भने आठराई गाउँपालिकाले हात पारेको छ । विजेता आठराईले ३ वर्षे रनिङ कपका साथै नगद ८० हजार रूपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।
उपबिजेता भएको मुर्तिढुङ्गा धनकुटाले नगद ५० हजार रूपैयाँ साथमा ट्रफि मेडल र प्रमाण पत्र हात पारेको छ । खुल्ला महिला फुटबलतर्फको उपाधि पोखरी मावि आठराइले पाएको छ । फेदापलाई शून्यका विरुद्ध एक गोल गर्दै बिजेता भएको हो ।
बिजेता पोखरी माविले ३ वर्षे रनिङ कप, नगद ६० हजार रूपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । महिलातर्फको उपबिजेता फेदापले नगद ४० हजार रूपैयाँ साथमा ट्रफी मेडल र प्रमाणपत्र पाएको छ ।
सांस्कृतिक कार्यक्रमतर्फ नृत्य प्रतियोगितामा निगुरादिन युवा क्लब ताप्लेजुङले प्रथम स्थान हासिल गर्दै नगद १५ हजार रूपैयाँ साथमा प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको जुरे भगवती फेदापले नगद १० हजार रूपैयाँ साथमा प्रमाणपत्र पाएको छ ।
ब्याडमिन्टनतर्फ प्रथम भएको अनिस लावतीको टिमले नगद २० हजार रूपैयाँ साथमा प्रमाण पत्र र दोस्रो भएको विपिन सेडाईको टिमले नगद १५ हजार रूपैयाँ साथमा प्रमाण पत्र प्राप्त गरेछ ।
आठराई गाउँपालिकाको आयोजनामा फागुन १७ देखि सञ्चालन भएको रनिङ कपमा पुरुष फुटबल तर्फ १८ टिम, पुरुष भलिबलतर्फ ६ टिम र महिला फुटबल तर्फ ४ टिमको सहभागी भएको प्रथम ऐतिहासिक आठराई गाउँपालिका अध्यक्ष रनिङ कप २०७९ सम्पन्न भएको आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिए ।