विराटनगर । प्रथम भद्रपुर झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । भद्रपुरस्थित मेची रंगशालामा मंगलवार भएको फाइनल खेलमा मच्छिन्द्र फूटबल क्लबलाई टाईब्रेकरमा पराजित गर्दै आर्मीले उपाधि चुमेको हो ।
निर्धारित समयमा दुवै टीमले कुनै पनि गोल गर्न सकेनन् । अतिरिक्त समयमा समेत दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय अन्ततः टाई ब्रेकरबाट गरिएको थियो ।
टाई ब्रेकरमा मच्छिन्द्रका रोजिन धिमाल र देवेन्द्र तामाङको प्रहार आर्मीका गोल रक्षकले बचाएपछि आर्मीले उपाधि चुमेको हो । खेलमा आर्मीका सेसेहाङ आङदेम्बेको प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले पनि बचाएका थिए । गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
भद्रपुरस्थित मेची रंगशालामा गत फागुन ७ गतेदेखि शुरू भएको प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेश गरी १० वटा ‘ए’ डिभिजन क्लबको सहभागिता थियो ।