काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत हालै भएको त्रिदेशीय शृङ्खलाका विजेता खेलाडीलाई प्रति व्यक्ति दुई लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्।
बिहीबार दिउँसो विजेता खेलाडीलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाई दिंदै पुरस्कारको घोषणा गरेका हुन्। प्रधानमन्त्री दाहालले भने, “सर्वप्रथम इतिहास रच्नुभएकोमा तपाईंहरूलाई बधाई छ। तपाईंहरूले नयाँ रेकर्ड बनाउनुभएको छ, इतिहास रच्नुभएको छ। चार खेलमा पूरै विजय हासिल गरेर क्लीन स्वीप गर्नुभएको छ। यो देशकै गौरव हो।”
क्रिकेट टोलीले देशको गौरव बढाएको प्रधानमन्त्री दाहालको भनाइ थियो। सरकारका तर्फबाट प्रति खेलाडी दुई लाख पुरस्कार दिने घोषणा उनले घोषणा समेत गरेका छन ।
हालै कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको स्कटल्यान्ड र नामिबिया सम्मिलित त्रिदेशीय शृङ्खलामा नेपालले क्लीन स्वीप गरेको छ। नेपाली टोली अर्को साता यूएईमा हुने त्रिदेशीय शृङ्खलाका लागि फागुन १३ गते त्यसतर्फ प्रस्थान गर्दै छ।