विराटनगर । विराटनगरमा जारी पुष्पलाल स्मृति राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा नेपाल पुलिस क्लबका विष्णु कटुवाल र प्रिन्स दाहाल सेमिफाइलनमा प्रवेश गरेका छन् ।
नेपाल राष्ट्रिय खेलकुद महासंघको दोस्रो महाधिवेशनको अवसरमा विराटनगरमा नेकोस नेपाल राष्ट्रिय व्याडमिन्टन संघको आयोजनामा उक्त प्रतियोगिताबाट शीर्ष १६ वरियताभित्र रहेका पुरुष एकलको सेमिफाइनल यात्रा तय भएको हो । विष्णुले एपिएफका देवराज रानालाई २४–२२, २१–१० ले तथा प्रिन्सले पुलिसकै सुनिल जोशीलाई २१–११, २१–८ ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएका हुन् । यस्तै सेमिफाइनल प्रवेश गर्ने अर्का खेलाडीहरुमा त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र रुकेश महर्जन रहेका छन् । प्रफुलले कास्कीका विधान अधिकारीलाई २१–१४, २१–१२ र रुकेशले एपिएफका क्षितिज खनाललाई २२–२०, २१–१३ ले पराजित गर्दै सेमिफाइनलयात्रा तय गरेका हुन् । फाइनल प्रवेशका लागि अब विष्णुले प्रफुल र प्रिन्सले रुकेशको सामना गर्नेछन् ।
राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनमा भएको प्रतियोगितामा भने शीर्ष १२ वरियता बाहेकको महिला एकल तर्फ राष्ट्रिय च्याम्पियन आर्मीकी रशिला महर्जनले एपिएफकी सुनयना मुखियालाई २१–१६, २१–१३ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेकी छिन् । उनले एपिएफकी जेशिका गुरुङसंगको भेट पक्का गरेकी हुन् । यस्तै अर्को प्रतिस्पर्धामा आर्मीकी अनुमाया राईले पुलिसकी नीता लम्साललाई २१–१६, २१–१५ ले पराजित गरी सेमिफाईनलमा आर्मीकै प्राथना देउवासँग प्रतिस्पर्धा गर्नेछिन् । प्राथनाले आर्मीकै अमिता गिरीबाट वाकओभर प्राप्त गरिन् ।
पुरुष एकल शीर्ष वरियता १६ देखि बाहेकतर्फ आर्मीका हिमाल चन्दले एपिएफका अमन महर्जनलाई २१–१८, २२–२० ले तथा आर्मीका पविन लिनथेपले एपिएफका अरुण अधिकारीलाई २१–१८, २१–८ ले पराजित गर्दै सेमिफाइनल भेट पक्का गरे । अर्को खेलमा एपिएफका प्रनिश सिंह ठकुरीले मोरङका विवेक चौधरीलाई २१–८, २१–१८ ले तथा एपिएफका सुजन थापाले उदयपुरका विनय चौधरीलाई २१–१४, २०–२२, २१–५ ले पराजित गर्दै सेमिफाइल प्रवेश गरे ।
पुरुष यु १७ तर्फको खेलमा एपिएफका रोशन साउद, ललितपुरका लक्ष्मण राना, दाङका सनौला रैनी र आर्मीका अनिल मल्ल सेमिफाइनलप्रवेश गरेका छन् । साउदले आर्मीका अभय महरालाई २१–१४, २१–९, रानाले आर्मीका कविर केसीलाई १६–२१, २१–१८, २१–१३, रैनीले मोरङका सुप्रिम पन्तलाई २१–१७, २१–११ र मल्लले उदयपुरका विनय चौधरीलाई २६–२४, २१–१८ ले पराजित गरे ।
यस्तै महिला तर्फ आर्मीर्की रिहाना शेरचनले मोरङकी भावना गुरुङबाट वाकओभर प्राप्त गर्दै सेमिफाइनलमा स्थान बनाइन् । कास्कीकी निभा राईले पिएसबिसीकी आयुषा नेपाललाई २१–१८, २३–२१, आर्मीकी टिशा रानी शाक्यले बेलटार ब्याडमिन्टन एकेडेमीकी नितिशा रेयका मगरलाई २१–१७, २१–१० र ताप्लेजुङकी नुमा लिम्बुले एपिएफकी रन्जु रानालाई ११–२१, २२–२०, २१–१९ को संघर्षपूर्ण जित निकाल्दे सेमिमा स्थान बनाए ।
५५ वर्ष माथिको युगल तर्फ सुनसरीका गणेश राई र भोजपुरका दान बहादुर तामाङको जोडी, कास्कीका रमेश भट्टचन र खोटाङका दीपक राईको जोडी, पाँचथरका रामराज आङदम्बे र संजय भक्तराजको जोडी तथा बि.बि.सी.का केशव कार्की र आर.के. सिंहको जोडीले पनि सेमिफाईनलमा स्थान बनाए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।